मधेश प्रदेशः मुख्यमन्त्री यादवले दिएको राजीनामा स्वीकृत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेतासमेत रहेका यादवले बुधबार दिउँसो मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । बुधबार नै उनले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै ‘राजीनामा’ घोषणा गरेका हुन् ।

त्यसपछि उनले प्रदेश प्रमुख कर्णलाई भेटेर राजीनामापत्र बुझाएका हुन् । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेश मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकेका छन् ।

‘माननीय प्रदेश प्रमुख श्री सुरेन्द्र लाभ कर्णज्यूसमक्ष मधेश प्रदेशका माननीय मुख्यमन्त्री श्री सरोजकुमार यादवले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनमा आज मिति २०८२ साल मंसिर १७ गतेका दिन माननीय प्रदेश प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ,’ मधेश प्रदेशको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, सो बैठकमा सत्ता पक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।

विश्वासको मत नपाउने देखेपछि २ बजेपछि बसेको बैठकलाई सम्बोधन गर्दै यादवले पदबाट राजीनामाको घोषणा गरेका हुन् । यादव गत २३ कात्तिकमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएसँगै मधेश प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला भएको छ । यादवले पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ सत्ता समीकरणको ढोका खुला भएको हो ।

विश्वासको मत लिन निर्धारित प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले रोस्ट्रमबाटै राजीनामाको घोषणा गरेका थिए । बैठकमा उनले मन्तव्य राखिरहँदा विपक्षी सात दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।

यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले २३ कात्तिकमा यादवलाई संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर, सो नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

विश्वासको मत नपाउँदै राजीनामा दिने यादव दोस्रो मुख्यमन्त्री
मुख्यमन्त्री नियुक्ति भएपछि विश्वासको मत लिनुभन्दा अघि नै राजीनामा दिने यादव दोस्रो मुख्यमन्त्री भएका छन् । यसअघि जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।

२६ असोजमा मुख्यमन्त्री नियुक्त भएका सोनलले २२ कात्तिकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सोनल विश्वासको मत लिने दिनमा सत्तारूढ दलकै सांसदले बहिष्कार गर्दा विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिन बाध्य भएका थिए ।

यसरी विश्वासको मत लिने दिनमा विश्वासको मत पाउनुभन्दा अघि नै राजीनामा दिनेमा सोनल पहिलो र यादव दोस्रो मुख्यमन्त्रीका रूपमा परिचय बनाएका छन् ।

सोनल २८ दिनमै राजीनामा दिन बाध्य भएका थिए । यस्तै, यादवले मुख्यमन्त्री भएको २४औं दिनमा विश्वासको मत नपाउँदै राजीनामा दिए ।

मधेशमा कुन दलका कति सांसद
मधेश प्रदेशसभामा १ सय ७ सांसद छन् । मधेश प्रदेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपाल (जसपा)का १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का ९ सांसद रहेका छन् ।

यसैगरी, साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित ९, साबिक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट निर्वाचित ७, नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ सांसद रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन