पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डै ९० करोड हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरु हाजिरी जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले अदालतमा अभियोगपत्र नै नलगी ठगी भएको रकम फिर्ता गर्ने शर्तमा हाजिरी जमानीमा छाडेको हो ।
प्रतिवादीलाई रकम फिर्ता गर्ने शर्तमा रिहा
सहकारीको ८८ करोड ७० लाख ९८ हजार रुपैयाँ हिनामिना भएको प्रतिवेदन आधारमा जिल्ला प्रहरी कार्यालयले गत महिना सहकारी अध्यक्षसहित पदाधिकारी र व्यवस्थापक गरी ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । सहकारी अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष तथा ऋण संयोजक हिरामणि दाहाल, सहकारी प्रबन्धक भीष्मप्रताप गुरुङ, सहकारीका पूर्वसचिव तथा सञ्चालक इन्द्रप्रसाद द्वा, सञ्चालक दोर्जे तामाङ र बजार प्रमुख वेदीप्रसाद सुवेदी पक्राउ परेका थिए । उनीहरुविरुद्ध सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेकोमा हिरासतमुक्त भएका हुन् ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीहरु उम्किन नपाउन् भनी उनीहरुको जायजेथा तथा सम्पत्ति रोक्का राखिएको, साथै रकम पनि बिस्तारै तिर्दै पनि जाने प्रतिबद्धता जनाएकाले पीडित बचतकर्ताको मञ्जुरीसहित तत्कालका लागि हिरासतमुक्त गरिएको बताइन् । काफ्लेले भनिन्, ‘ठगी मुद्दामा सरकारी वकिललाई मिलापत्र गराउने अधिकार छ । पैसा जम्मा गर्न सुरु गरेको, सहकारीको जायजेथा रोक्का राखेर पीडितको खातामा पनि रकम जम्मा हुँदै गएको, ऋण असुल उपर हुँदै गएको पाइएकाले प्रतिवादीहरुलाई केही समय अवसर दिइएको हो । यदि फिर्ता नभए कानूनी व्यवस्थाबमोजिम अभियोगपत्र अदालत जानेछ ।’
कास्की जिल्लाभर कार्यक्षेत्र रहेको उक्त सहकारीमा करिब ४ हजार जना बचतकर्ताहरु छन् । पोखरा बचत सहकारीको प्रधानकार्यालय पोखरा ९, नयाँबजारमा छ । सहकारीले पोखरा–१०, अमरसिंह चोक र पोखरा–८, सिर्जनाचोक समेत सेवा केन्द्र संचालन गरेको छ ।
सहकारीले बचत रकम फिर्ता नगरेपछि २ वर्षअघि नै रजिष्ट्रार कार्यालयमा उजुरी पर्न थालेको थियो । पछिल्लो समय अल्लि बढी उजुरी परेपछि कार्यालयले छानबिन थालेको थियो । वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालयले कास्की प्रहरीलाई प्रतिवेदन बुझाई कानूनी कारबाहीका लागि अनुरोध गरेकोमा मुख्य आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको थियो । साथै, पीडित बचतकर्तालाई ठगी भएको बचत रकमसहित उजुरी दिन प्रहरीले सार्वजनिकरुपमा अपीलसमेत गरेको थियो ।
सहकारी समस्या समाधान समिति संयोजक गञ्जबहादुर गुरुङका अनुसार हालसम्म १ हजार ४ सय १६ जना पीडित रहेको पाइएको छ । तीमध्ये १० हजार रुपैयाँभन्दा कम्ती हुने ११ सय २४ जना छन् । करिब १ करोड १५ लाख बाँड्न सकिए ११ सय २४ जना पीडितकर्ताले आफ्नो बचत रकम फिर्ता पाउने छन् । यसरी क्रमशः समस्या समाधान गर्दै जाने हुँदा प्रतिवादीले पीडित तथा सहकारीको हिनामिना रकम पनि आफ्नो जायजेथा तथा सम्पत्तिबाट तिर्दैै जाने प्रतिबद्धता जनाएकाले तत्कालका छाड्न आफूहरु समेत मञ्जुर भएको संयोजक गुरुङले बताए । वर्तमान सञ्चालक समितिलाई समस्या समाधानका लागि यही शनिबार एउटा रोडम्याप लिएर आउन आग्रहसमेत गरिएको छ ।
सम्बन्धित समाचार
मनाङ्मा सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्य शिविर
पोखरामा दाइँ महोत्सव
पानीको खोजीबीच खस्कँदो पढाइ
बुवा हत्या अभियोगमा विक पक्राउ
बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…
पशुपति क्षेत्र विकास कोषका कावा सदस्यसचिवको मनोमानी
स्वजातीयबाट मात्र सहयोग जुटाई गरियो अन्तराष्ट्रिय महासम्मेलन
भन्यो– सोझै पत्र लेख्नुको प्रयोजन के हो ?






