युएईमा भ्रामक भिडियो पोष्ट गरे २ लाख दिरामसम्म जरिवाना

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ। दूतावासले “एडभाइजरी -३ ” जारी गर्दै सामाजिक सञ्जाल वा अन्य कुनै प्राविधिक माध्यमबाट आएका अपुष्ट हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न विशेष अनुरोध गरेको हो।

दूतावासका अनुसार पछिल्लो समय क्षेत्रीय सुरक्षा परिस्थिति’bout विभिन्न किसिमका सूचना सामाजिक सञ्जालमार्फत फैलिने क्रम बढेको छ। यस्ता सामग्रीले अनावश्यक भ्रम तथा त्रास फैलाउन सक्ने भएकाले जिम्मेवार व्यवहार गर्न दूतावासले यूएईमा बसोबास गरिरहेका नेपालीहरूलाई सचेत गराएको छ।

दूतावासले जारी गरेको सूचनामा आफू बसेको देशको कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै गैरकानुनी गतिविधिमा संलग्न भए कडा कारबाही हुने स्पष्ट गरेको छ। यस्ता कार्यमा संलग्न भएको पाइएमा यूएईको कानुन अनुसार न्यूनतम १ देखि २ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिवाना हुन सक्ने उल्लेख गरिएको छ।

त्यसैगरी, यूएई सरकारले तोकेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ। कुनै पनि आपतकालीन वा संवेदनशील विषयमा जानकारी लिनुपरेमा आधिकारिक स्रोतको मात्र प्रयोग गर्नुपर्नेमा पनि दूतावासले जोड दिएको छ।

दूतावासले विशेष रूपमा सुरक्षा निकायद्वारा रोकिएका वस्तु वा जमिनमा खसेका अवशेष हरूको तस्बिर खिच्ने, नजिक जाने वा त्यस्ता दृश्यहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्य नगर्न पनि अनुरोध गरेको छ। यस्तो गतिविधि स्थानीय कानुन विपरीत हुन सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको हो।

यसैबीच, दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई कुनै पनि सूचना वा अद्यावधिक जानकारी आवश्यक परेमा नेपाली राजदूतावास अबुधाबी तथा नेपाली महावाणिज्यदूतावास दुबईका आधिकारिक फेसबुक पेज तथा अन्य आधिकारिक माध्यमहरूबाट जानकारी लिन आग्रह गरेको छ।

दूतावासले अहिलेको संवेदनशील परिस्थितिमा संयमित र जिम्मेवार व्यवहार गर्न सबै नेपाली समुदायलाई पुनः अनुरोध गर्दै आपसी सहकार्य र सचेतनाले मात्र सम्भावित समस्या टार्न सकिने उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना