इलाम । इलामको ठुलो टुँडिखेलमा जारी तेस्रो इलाम गोल्ड कप अन्तर्गत सोमबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ सेमिफाइनल पुगेको छ । एन पेनाङ मलेसियालाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले टाइब्रेकरमा बाजी मार्दै सेमिफाइनल यात्रा सुरक्षित ग-यो । योसँगै इलाम गोल्ड कपमा सहभागी एक विदेशी टिम बाहिरिएका छ ।
मच्छिन्द्रका सनिस श्रेष्ठ,मिलन राई र देवेन्द्र तामाङले गोल गर्दा दीपेश गुरुङको प्रहार गोल रक्षकले बचाउ गरे भने दिवाकर चौधरीको प्रहार आकासियो । एन पेनाङका ओलाई र पाउलेले गोल गर्दा निसान लिम्बु, पिसो र लहान सुब्बाले गोल गर्न चुक्दा क्वाटर फाइनलबाट मलेसियन टिम बाहिरिएको छ ।
खेलको सुरुआतमै आक्रामक देखिएको एन पेनाङले दोस्रो मिनेटमै मुसाको क्रसमा फिलिप मार्फत गोलको अवसर सिर्जना गरेको थियो, तर मछिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई सङ्कटबाट जोगाए । १४औँ मिनेटमा स्टेपेङको क्रसमा ओलाईले सही दिशा दिन नसक्दा एन पेनाङ अग्रता लिनबाट चुक्यो ।
मच्छिन्द्रले खेलमा पकड जमाउँदै १५औँ मिनेटमा मिलन चाम्लिङको प्रहार विपक्षी गोलरक्षकले बचाए भने १७औँ मिनेटमा प्रदीप बुढाथोकीको क्रसमा मिलन चुके । लगत्तै प्रदीपकै अर्को प्रहारमा दीपेन्द्रले पनि अवसर सदुपयोग गर्न सकेनन् । २९औँ मिनेटमा अविनाशले नजिकैबाट पाएको राम्रो अवसर गुमाउँदा मछिन्द्र अग्रता लिन चुक्यो ।
३१औँ मिनेटमा लहान सुब्बाको फ्रिकिकमा जोहनले गरेको हेड पोस्ट बाहिर जाँदा एन पेनाङले पनि अवसर खेर फाल्यो । ३९औँ मिनेटमा मिलनको प्रयास असफल हुँदा त्यसको लगत्तै युवराज ढकालको प्रहार गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।
मध्यान्तरपछि पनि खेल उस्तै प्रतिस्पर्धात्मक रह्यो । ५५औँ मिनेटमा प्रदीप बुढाथोकीको शक्तिशाली प्रहार गोलरक्षकले बचाए भने ५७औँ मिनेटमा एन पेनाङका फिलिपले पाएको अवसर गोलमा परिणत हुन सकेन । त्यसको केही बेरमै नरेन्द्र चौधरीको फ्रिकिक प्रहारलाई मच्छिन्द्रका प्रदीप भण्डारीले पञ्च गर्दै बचाए ।
७३औँ मिनेटमा कर्नरमार्फत पाएको अवसर एन पेनाङले सदुपयोग गर्न सकेन । ७५औँ मिनेटमा पाउल फेनेले फाउल गरेपछि पाएको फ्रिकिकमा प्रदीपको क्रसलाई सनिश श्रेष्ठले हेड त गरे बल गोल पोस्ट बाहिरिन पुग्यो ।
खेलको ८५औँ मिनेटमा मिलनको क्रसमा प्रदीपले गोल गर्न सकेनन् भने ८७औँ मिनेटमा प्रदीपकै क्रसमा एलिक श्रेष्ठको प्रहार फ्रेममा नपर्दा खेल गोलरहित बराबरीमा सकियो ।
उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद ८ हजार १ रुपैयाँ प्राप्त गरे । मंगलवार (आज) न्यूरोड काठमाडौँ र चित्लाङ फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।
१२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँसहित उपाधि जित्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
यू–१९ टेबल टेनिस टोली भारत प्रस्थान, धनगढीमा भव्य विदाइ
आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने
‘पोखरा ओपन एथलेटिक्स मिट’ शनिबारदेखि
यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधि पाँचखपनले जित्यो
महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
रोलिङसँग फिदिम ३–० ले स्तब्ध





