काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी÷भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत संकलन गरिरहेको छ ।
अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत संकलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले राससलाई जानकारी दिइन् । सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रमा पठाइएको उनले बताइन् ।
‘वास्तविक सुकुमवासीको परिवार संख्या, घरमुलीको नामलगायत विवरण संकलन गरिरहेका छौं, त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौं,’ केसीले भनिन्, ‘सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ ।’
अस्थायी बसोबासस्थलमा उनीहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने उनले बताइन् ।
थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रंगशाला ल्याइएको हो । अहिले पनि सुकुमवासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रंगशाला आउने क्रम जारी छ ।
‘वास्तविक सुकुमवासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ,’ प्रमुख केसीले भनिन्, ‘केही परिवार यहाँ आएर पनि सरकारले तोेकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ ।’
उनका अनुसार रंगशालाभित्रै सुकुमवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ ।
सुकुमवासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए ।
यसैबीच, थापाथलीस्थित सुकुमवासी बस्ती हटाउने काम सम्पन्न भएको छ । त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ । केही सुकुमवासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन् ।
सुरक्षाकर्मीलगायतको टोलीले अहिले सिनामङ्गल–गैरीगाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ । सो क्षेत्रमा रहेका सुकुमवासी÷भूमिहीन परिवारले पनि सरकारको निर्देशन पालना गर्दै आफ्ना घरटहरा भत्काएर सरसामन सुरक्षित स्थानमा लगिरहेका छन् ।
सम्बन्धित समाचार
देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान कक्ष स्थापना गर्न निर्देशन
इँट्टाभट्टाको पर्खालले च्यापिएर एक मजदुरको मृत्यु
टोखामा विस्केट जात्रा सुरु
बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ४ जना पक्राउ
‘सेकुवा बाई किलो’ को ब्रान्ड एथलीटमा क्रिकेटर लोकेस बम
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान
शेखर गोल्छासहितको मिलेमतोमा हिमालयन रिको २ अर्ब ७३ करोड अनियमितता
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट






