काठमाडौं । कर्णाली प्रदेशका २५ जना स्थानीय चलचित्रकर्मीहरूले चलचित्र लेखन तथा छायांकन कला सिकेको छन् । कर्णालीका विभिन्न जिल्लाबाट सहभागी उनीहरू सुर्खेतको वीरेन्द्रनगरमा विगत ६ दिनदेखि प्रशिक्षणमा थिए ।
‘चौथो कर्णाली चलचित्र कार्यशाला–२०८३’ मा त्यहाँका चलचित्रकर्मीहरूले चलचित्र लेखन तथा निर्देशन कला सिकेका हुन् । केवी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको यो कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सोमबार बिहान प्रमाणपत्र प्रदान गरेसँगै यो कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाला समापन समारोहमा बोर्ड अध्यक्ष डिसीले कर्णालीको कला र रंगमञ्चमा विगत तीन दशकदेखि नाट्यकर्मी याम आचार्यलाई ‘स्रष्टा सम्मान २०८३’ बाट सम्मानित गरे । सो समारोहलाई सम्बोधन गर्दै डिसीले कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक चलचित्र भएको बताए । कार्यक्रममा उनले भने, ‘अब कर्णालीको कथा अरूले होइन, यहीँका दक्ष प्राविधिकहरूले खिच्नुपर्छ र लेख्नुपर्छ । यो कार्यशालाले बोर्डको उद्देश्य अनुसार नै स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेका कारण आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दछु’, सिकेको सीपलाई व्यवहारमा उतार्न र सृजनशील काममा लाग्न सहभागीहरूलाई डिसीले सुझाव दिए ।
समापन समारोहमा बोल्दै प्रशिक्षार्थीहरूले कार्यशाला अघिको तुलनामा आफूहरूमा प्राविधिक दृष्टिकोणले धेरै परिवर्तन आएको र चलचित्र निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए ।
६ दिनसम्म आयोजना भएको यो कार्यशालामा चलचित्र लेखक एवम् निर्देशक शिवम अधिकारीले स्क्रिप्ट लेखनको प्रशिक्षण दिएका थिए । यस्तै छायांकार नीरज कँडेलले चलचित्र छायांकन सम्बन्धी सिप सिकाए ।
प्रशिक्षणले विद्यार्थीहरूमा ठुलो उत्साह थपेको चौथो कर्णाली चलचित्र कार्यशालाका अध्यक्ष भूपेन्द्र खड्काले राजधानीलाई बताए । सहभागी प्रशिक्षार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र नभई, क्यामेरा चलाउने र कथा, पटकथा, संवाद लेख्ने प्रयोगात्मक अभ्यास समेत गरेका खड्काले बताए ।
सम्बन्धित समाचार
कर्णालीका लोक, नृत्य र नाटक नौमूलेमा प्रदर्शन हुने
‘पहिलो हाँसो’ को नयाँ संस्करण सार्वजनिक
राष्ट्रिय कौराहा सम्मेलन सुरु
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने
‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो
एक मुठी बादलमा नारी स्वतन्त्रताको आवाज
पलेँटीमा गुन्जिए पवन र रमेश
क्याफे व्यवसायमा नेपाली अभिनेत्री






