‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो

काठमाडौं । नेपाली चलचित्र डिजिटल युगमा प्रवेश गरे पनि नेपाल चलचित्र कलाकार संघमा डिजिटल प्रणालीको प्रमाण खोज्दा गत साता संघको निर्वाचन नै स्थगित भयो । अभिनय गरेको चलचित्रको ‘डिजिटल प्रमाण’ नहुँदा ठुलो असर परेको छ ।

नेपाल चलचित्र कलाकार संघका सदस्यले अभिनय गरेको कम्तीमा पाँच चलचित्र युट्युबमा हुनैपर्ने कलाकार संघको माग रहेको छ । सम्बन्धित कलाकारले युट्युबमा राखिएको आफ्नो चलचित्रको चरित्र प्रस्ट चिनिने ‘स्क्रिन सट’ बुझाउनैपर्ने नियम नेपाल चलचित्र कलाकार संघले लागू गरेको थियो । सोही यसमा गम्भीर विवाद निम्तियो ।

६ सय ५० भन्दा बढी साधारण सदस्य रहेको संघको यहीकारण १७६ भन्दा बढीको नवीकरण हुन सकेन । बाँकी सदस्यले नवीकरण विषयमा चर्चो माग भएपछि अन्ततः २८ चैत २०८२ मा हुने नेपाल चलचित्र कलाकार संघको चुनाव नै रोकिएको थियो । संघको अबको निर्वाचन आगामी ३ जेठमा हुने भनेर सूचना निकालेको छ । तर, नवीकरण समस्या अझै छ ।

नेपालमा निर्माण भएका चलचित्रमध्ये एकतिहाइ चलचित्र पनि युट्युबमा राखिएको छैन । यो कुरा बल्ल नेपाल चलचित्र कलाकार संघ कार्यसमितिले मनन गरेको छ । दर्जन चलचित्रमा अभिनय गरेको कतिपय अग्रज कलाकारका पुराना चलचित्र युट्युबमा राखिएका छैनन् । आफ्नो चलचित्र युट्युबमा नभेटिँदा उनीहरूको सदस्यता ‘नवीकरण गर्ने कि नगर्ने ?’ भनेर संघमा विवाद चर्किएको छ ।
संघको नया“ नेतृत्वका लागि अभिनेता सविन श्रेष्ठ र हास्यअभिनेता उत्तम केसी नेपालले यसअघि नै उम्मेदवारी दिइसकेका छन् । उनीहरूले आ–आफ्नो प्यानल बनाएर खडा भएका छन् ।

कलाकार केसीले आफ्नो प्यानलले चुनाव जित्ने निश्चित भएपछि ‘त्यसलाई असर पार्न अस्वाभाविक नियम लादेको’ भन्दै संघ महासचिवसमेत रहेका उम्मेदवार श्रेष्ठ र सचिव रामेश्वर बुर्लाकोटीमाथि आरोप लगाएका छन् । रामेश्वर अहिले सविनकै प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन् ।

संघ अध्यक्ष मोहन निरौला युट्युबमा राखिएको चलचित्रबाट कलाकारले ‘स्क्रिन सट ल्याएपछि मात्र सदस्यता नवीकरण गर्ने’ भनेर सचिव बुर्लाकोटीले नियम ल्याएको राजधानीसँग बताए । बुर्लाकोटीले अध्यक्ष निरौलाकै चाहनाअनुसार ‘यो नियम पारित गराएको’ प्रस्ट पारे । यो नियम सुरुमा अध्यक्ष निरौलाले स्वागत गरेको तर अहिले विवादपछि आफूलाई दोषी देखाएको पनि बुर्लाकोटीको गुनासो छ ।

यही कारण सदस्यता नवीकरणमा समस्या आएपछि २८ चैत २०८२ मा कलाकार संघले सदस्यको नामावली नै प्रकाशन गर्ने सकेन । जसका कारण निर्वाचन स्थगित भएको थियो । संघको निर्वाचन ‘अब ३ जेठमा गर्ने’ भनेर संघले सूचना सार्वजनिक गरेको छ । तर, अझै पनि धेरै नै चलचित्रलाई सम्बन्धित निर्माताले युट्युबमा नराख्दा त्यसका कलाकारले आफ्नो ‘स्क्रिन सट’ युट्युबबाट लिन पाएका छैनन् । सोही कारण उनीहरूको नवीकरण अझै रोकिएको छ । यस विषयमा चाँडै नै अर्को निर्णय लिने र वास्तविक सदस्यलाई मतदान गर्न र उम्मेदवार बन्नबाट आफूहरू वञ्चित नगर्ने पनि निरौलाको कथन छ ।

कलाकार संघमा यसअघि नै मोटो रकम तिरेर आजीवन सदस्य बनेकामा भने यो नियम लागू गरिएको छैन । साधारण सदस्यलाई मात्र पा“चवटा चलचित्रमा आफूले अभिनय गरेको ‘स्क्रिन सट’ संघमा बुझाउनुपर्ने नियम लगाइएको छ ।

स्थगित चुनावको फेरि नयाँ मिति घोषणा गर्दा पनि सदस्यता नवीकरण समस्या नसकिएका कारण कलाकार संघ अध्यक्ष पदका दुवै उम्मेदवार चिन्तन छन् । युट्युबमा आफ्नो चलचित्र नराखिएका कलाकारले सम्बन्धित चलचित्रका निर्माता निर्देशकबाट आफूले काम गरेको’bout सिफारिस पत्र ल्याएका छन् । सोही पत्रको आधारमा सदस्यता नवीकरण गर्नुपर्ने माग उनीहरूले उठाएका छन् । संघ विधानमा पनि यही उल्लेख छ । ‘डिजिटल प्रमाण’का आधारमा आफूहरूलाई हटाउने चलखेल भइरहेको धेरै सदस्यको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

पलेँटीमा गुन्जिए पवन र रमेश