ओझेलमा परेको पर्यटकीय मार्गलाई जीवन्त बनाउँदै थलाराले देखायो खप्तड पुग्ने सहज, सुन्दर र अर्थपूर्ण बाटो

बझाङ । सुदूरपश्चिमको बहुमूल्य धरोहरका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्जलाई थलारा गाउँपालिकाको नयाँ पहलसँगै अझ नजिक बनाएको छ । भू–स्वर्गको उपमा पाएको खप्तड पुग्ने वैकल्पिक मार्गका रूपमा थलारा गाउँपालिकाले आफ्नो पालिकाको बाटो भएर जान सक्ने बताएको छ । केही समयअघि गाउँपालिकाले प्रवेशद्वार निर्माण गर्दै सो कुराको जानकारी दिएको हो । यो केवल प्रवेशद्वार मात्रै नभई यसले सम्भावनाको नयाँ क्षितिज पनि उजागर गरेको पालिकाको ठहर छ ।

१६ लाख ६४ हजार ५ सय ६९ रुपैयाँको लागतमा निर्माण गरिएको प्रवेशद्वारले थलारा गाउँपालिकाको पर्यटन विकासप्रतिको दृढता झल्काएको छ । वर्षौंदेखि प्रयोगमा रहे पनि पर्याप्त प्रचार–प्रसार नपाउँदा ओझेलमा परेको यो मार्ग अब स्थानीय तहकै सक्रियताले उजागर भएको स्थानीय मणिराम पाध्याले बताए । प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधताले भरिएको यो बाटोले यात्रालाई गन्तव्यभन्दा बढी अनुभूतिमा रूपान्तरण गर्ने सामथ्र्य राख्ने उनको भनाइ छ ।

थलारा गाउँपालिकाको बाटो भएर खप्तडतर्फ जाँदा यात्रुहरूलाई पहिलो स्वागत हरियाली पाटनहरूले गर्छन् । खुला आकाश मुनि फैलिएका ठूलाठूला घाँसे मैदान, रंगीविरंगी फूलहरूले ढाकिएका डाँडाकाँडा तथा मैदान, चरा चुरुंगीको आवाज, शान्त वातावरण यी सबैले यात्रालाई केवल दृश्यात्मक मात्र नभई, आत्मीय बनाइदिन्छ । यही बाटो हुँदै खप्तड जाँदा खप्तड क्षेत्रको सबैभन्दा ठूलो पाटन ‘घाडा दाउना’ पाटनको अवलोकन समेत गर्न सकिन्छ, जुन आफैंमा प्रकृतिको अनुपम उपहारको रूपमा परिचित छ ।

यो मार्गलाई धार्मिक आस्थाको केन्द्र पनि मानिन्छ । ‘शक्तिशाली पीठ माइकोथान’ यही बाटोमा पर्ने भएकाले श्रद्धालुहरूको विशेष आकर्षणको केन्द्र बनेको छ ।
स्थानीय विश्वासअनुसार, यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने मान्यता अझै कायमै छ । जसका कारण यस धार्मिक शक्तिपीठमा वर्षभरि नै पूजाआराधना चलिरहन्छ । यहाँ पूजाआराधना गर्नका लागि टाढा–टाढाबाट भक्तजनहरू आउने गरेको स्थानीय देवराज उपाध्यायले बताए ।

यो बाटोमा यात्राको क्रममा नागढुंगा, खप्तड बाबाको कुटी, छ्याई पानी जस्ता थुप्रै रमणीय र ऐतिहासिक स्थलहरूको समेत अवलोकन गर्न सकिन्छ । यस बाटो भएर खप्तड जाँदा बाटोभरि गोठालाहरूको जीवनशैली, उनीहरूको आत्मीय व्यवहार र ताजा दूध, दही, मही, खीरको स्वादले यात्रालाई झनै जीवन्त बनाउने गरेको उपाध्यायले जानकारी दिए । उनले भने, ‘यहाँको वातावरणले पर्यटकलाई केवल हेर्ने मात्र नभई अनुभव गर्ने अवसर मिल्ने गर्छ ।’

यद्यपि, यति सम्भावना हुँदाहुँदै पनि यो मार्गप्रति सरोकारवालाहरूको अझै पनि आवश्यक ध्यान जान नसकेको यहाँका स्थानीय वासिन्दाको भनाइ छ । यस क्षेत्रको विकासका लागि खप्तड पर्यटन बोर्ड तथा सम्बन्धित निकायबाट पर्याप्त बजेट र प्रचार–प्रसार नभएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । अन्य स्थानसरह पूर्वाधार विकास र प्रचार भएको भए यो मार्ग अझै स्थापित भइसक्ने उनीहरूको विश्वास छ ।

अहिले गाउँपालिकाले सडक कटान, पैदल मार्ग निर्माण तथा विभिन्न प्रचार–प्रसारका कामलाई तीव्रता दिएको छ । आगामी दिनमा आधा बाटोसम्म सवारी साधन सञ्चालन हुने अपेक्षा गरिएको छ भने यसले यात्रालाई अझ सहज बनाउने विश्वास रहेको छ ।
यो मार्ग केवल खप्तड पुग्ने विकल्प मात्र नभई यो एउटा पर्यटकहरूका लागि अनुभवहरूको सँगालो हुने र प्रकृति, संस्कृति र आस्थाको संगममा डुब्ने अवसर हुने विश्वास रहेको छ । थलारा गाउँपालिकाको यो पहलले खप्तडको यात्रालाई नयाँ परिभाषा दिएको छ, जहाँ प्रत्येक पाइला कथा र प्रत्येक दृश्य सम्झनामा हुने थलारा गाउँपालिकाका अध्यक्ष रामबहादुर खातीले बताए । उनले भने, ‘यो बाटो सहज मात्र नभई सांस्कृतिक र धार्मिक रूपमा पनि समृद्ध भएको छ ।’

यता गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यस बाटो भएर ल्याउन सके र यही मार्ग भएर जाँदा खप्तड क्षेत्रका महत्वपूर्ण पाटन र धार्मि स्थलहरू अवलोकन गर्न सकिने बताए ।

थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज उपाध्यायले गाउँपालिकाले पछिल्लो समय यस क्षेत्रको प्रचार प्रसारका लागि पहल गर्नुका साथै पैदल मार्ग र सडक विस्तारको कार्य अघि सारेको बताए । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकहरूले यस मार्गबाट यात्रा गर्दा यहाँको संस्कार, संस्कृति र प्राकृतिक आनन्द एकैपटक अनुभव गर्न पाउनेछन् ।’

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन