‘हाम्रो धनगढी, सफा धनगढी’ मा बढ्दो जनसहभागिता

धनगढी । ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाले निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । अभियानमा जनसहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ ।

उपमहानगरपालिकाको सक्रियतासँगै नगर तथा ग्रामीण क्षेत्र क्रमशः सफा, सुन्दर र चिटिक्क देखिन थालेका छन् । नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू स्वयं विद्यालय र समुदायमा पुगेर सरसफाइप्रति नागरिकलाई प्रेरित गर्दै आएका छन् ।

उपमहानगरपालिकाका अनुसार अभियान सुरु भएदेखि हालसम्म हजारौँ नगरवासी सहभागी भइसकेका छन् । प्रत्येक वडामा साप्ताहिक रूपमा सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ भने फोहोरमैला वर्गीकरणसम्बन्धी तालिम पनि स्थानीयलाई दिइँदै आएको धनगढी उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिए ।

उनका अनुसार विद्यालय तथा टोलबस्तीमा सघन रूपमा अभियान सञ्चालन भइरहेको छ । ‘हरेक महिनामा प्रत्येक वडामा सरसफाइ सप्ताह मनाइन्छ,’ उनले भने, ‘वडा र टोलस्तरीय समिति गठन गरी अभियानलाई थप व्यवस्थित बनाइएको छ ।’

२०७९ सालको स्थानीय तह निर्वाचनपछि सुरु भएको यस अभियानअन्तर्गत हालसम्म सयौँ सरसफाइ तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइसकेका छन् । यस्ता कार्यक्रम निजी तथा सामुदायिक विद्यालय, विभिन्न वडा र टोलमा सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सरसफाइ अभियानलाई प्रभावकारी बनाउन हालसम्म ४०० भन्दा बढी वडा तथा टोलस्तरीय सरसफाइ समिति गठन गरिएका छन् । अभियानमा बालबालिकादेखि ज्येष्ठ नागरिक, जनप्रतिनिधि, बुद्धिजीवी, व्यापारी, स्थानीय संघसंस्था र नगर प्रहरीसम्मको सक्रिय सहभागिता देखिएको छ ।

धनगढी–१२ का ७३ वर्षीय प्रथनाम चौलागाईंले सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्दै भने, ‘यो हाम्रो आफ्नै अभियान हो, सरसफाइ मेरो जिम्मेवारी भन्ने भावना सबैमा हुनुपर्छ ।’

नगर प्रमुख हमालले विशेषगरी विद्यार्थीलाई लक्षित गर्दै सरसफाइको सन्देश दिँदै आएका छन् । ‘विद्यालयका बालबालिकाले घर र समुदायमा राम्रो अभ्यास विस्तार गर्न सक्छन्,’ उनले भने, ‘उनीहरू नै वास्तविक परिवर्तनका संवाहक हुन् ।’

त्रिभुवन माध्यमिक विद्यालय, धनगढी–३ का कक्षा ९ का विद्यार्थी भूपेश भट्टले घरमै कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यास सुरु गरेको बताए । ‘हामी सबै लाग्यौँ भने धनगढीलाई सफा र सुन्दर बनाउन सक्छौँ,’ उनले भने । अभियानको प्रभावस्वरूप पछिल्ला महिनाहरूमा सार्वजनिक स्थल र सडकमा फोहोरमैला घट्दै गएको सहभागीहरूले बताएका छन् ।

हाल धनगढीका १९ वटै वडामा सरसफाइ समिति सक्रिय रहेका छन् । यी समितिहरूले मासिक रूपमा सरसफाइ सप्ताह सञ्चालन गर्दै आएका छन् । उपमहानगरपालिकाले घरअगाडिको फोहोर व्यवस्थापन गर्न र पानी जम्ने खाल्डाखुल्डीमा पानी जम्न नदिन नगरवासीलाई आग्रह गर्दै सामाजिक परिचालकमार्फत निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले