कम्बोडियामा हजारौ नेपाली जोखिममा

काठमाडौं । दक्षिण पूर्वी एसियाको कम्बोडियामा रोजगारीको प्रलोभनमा पुगेका नेपाली नागरिक फस्ने क्रम तीव्र बन्दै गएको छ ।

पछिल्ला तथ्यांकले सयौं नेपाली उद्धार भइसकेको देखाए पनि अझै धेरै नागरिक जोखिमपूर्ण अवस्थामै रहेको नेपाली राजदूतावास बैंककले जनाएको छ । अनलाइन स्क्यामिङ, अवैध बसाइँ र मानव बेचबिखनसँग मिल्दोजुल्दो गतिविधिमा नेपाली नागरिक फस्दै गएको बहुआयामिक समस्या गम्भीर कूटनीतिक र मानवीय संकटका रूपमा देखिएको छ ।

४८७ नेपालीको उद्धार, दर्जनौं पक्राउ, हजारौं अझै जोखिममा रहेको अनुमान

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकबाट ६ सय १२ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । तीमध्ये सबैभन्दा धेरै ४ सय ८७ जना कम्बोडियाबाट उद्धार गरिएको तथ्यांक छ । यो तथ्यांकले अहिलेको समयमा कम्बोडिया नेपालीका लागि सबैभन्दा जोखिमयुक्त देशको रूपमा अगाडि देखा परेको छ ।

उद्धार प्रयासका बाबजुद नेपाली फस्ने क्रम जारी छ । ३ महिनायता मात्र विभिन्न चरणमा गरी दर्जनौं नेपालीको उद्धार गरिएको छ । एक घटनामा ५१ जना नेपालीलाई अनलाइन स्क्यामिङ केन्द्रबाट उद्धार गरी नेपाल फर्काइएको थियो । यस्तै, अर्को घटनामा २१ जना नेपालीलाई ठगी गिरोहले फसाएर कम्बोडिया पु¥याएको अवस्थामा उद्धार गरिएको थियो ।

त्यसैगरी, २० जना र १६ जना नेपालीलाई छुट्टाछुट्टै घटनामा अवैधरूपमा सञ्चालन भइरहेका स्क्यामिङ केन्द्रबाट उद्धार गरिएको नेपाली राजदूतावास बैंककले स्पष्ट पारेको छ । यी घटनाले समस्या एक दुई घटनामा सीमित नभई संगठित रूपमा फैलिएको देखिएको छ ।

बैंककस्थित नेपाली राजदूतावासका अनुसार पनि अझै धेरै नेपाली त्यस्ता केन्द्रहरूमा फसेका छन् । यद्यपि यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले सन् २०२१ यता करिब २१ हजार नेपाली विभिन्न उद्देश्यले कम्बोडिया पुगेको जनाएको छ, जसले जोखिमको दायरा अझ फराकिलो हुनसक्ने उल्लेख गरिएको छ ।

यसैंबीच कम्बोडियामा नेपाली नागरिक कानुनी समस्यामा समेत परिरहेका छन् । पछिल्लो विवरणअनुसार विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा कम्तीमा १४ नेपाली त्यहाँ पक्राउ परेका छन् । तीमध्ये केहीलाई संगठित ठगी, बन्धक बनाउने र हिंसात्मक गतिविधिमा संलग्नताको आरोपमा मुद्दा चलाइएको छ ।

नेपालीहरू प्रायः उच्च तलब, सजिलो काम र विदेश बसाइँको आकर्षक सपनामा फस्ने गरेका छन् । अधिकांश घटनामा उनीहरू पर्यटकीय भिसामा कम्बोडिया पुग्ने गरेको पाइएको छ । तर त्यहाँ पुगेपछि पासपोर्ट जफत गरिने र जबरजस्ती स्क्यामिङ कार्यमा लगाइने गरेको बताइएको छ । उद्धार गरिएका व्यक्तिले आफूहरूलाई दिनभर कम्प्युटर अगाडि राखेर विदेशी नागरिकलाई ठगी गर्न बाध्य बनाइएको बताएका छन् ।

यस्ता गतिविधि केवल आर्थिक अपराध मात्र नभई मानव बेचबिखनसँग पनि जोडिएको हुनसक्ने मानवअधिकारकर्मीहरूको भनाइ छ । पीडितहरूलाई धम्की दिने, कुटपिट गर्ने र भाग्न खोजे कडा सजाय दिने जस्ता घटना पनि बाहिर आएका छन् ।

कम्बोडिया सरकारले पनि पछिल्लो समय यस्तो अपराध नियन्त्रण गर्न कडा कदम चाल्न थालेको छ । नयाँ कानुनअनुसार अनलाइन स्क्यामिङमा संलग्न व्यक्तिलाई पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्म सजाय हुन सक्ने व्यवस्था गरिएको छ । यसले त्यहाँ रहेका नेपाली नागरिक थप कानुनी जोखिममा परेका छन् ।

नेपाली राजदूतावासले भिसा अवधि ननाघ्न, गैरकानुनी काममा संलग्न नहुन र समस्या परे तत्काल सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्दै आएको छ । उद्धार प्रक्रिया सहज बनाउन दूतावासले तथ्यांक संकलन अभियानसमेत सुरु गरेको छ ।

कम्बोडियामा नेपाली फस्ने समस्या क्षेत्रीयरूपमा पनि ठूलो संकटका रूपमा देखिएको छ । अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले समेत दक्षिणपूर्वी एसियामा सञ्चालित साइबर स्क्याम केन्द्रहरूलाई अन्तर्राष्ट्रिय संकटका रूपमा चित्रण गरेका छन्, जहाँ विभिन्न देशका नागरिक फसिरहेका छन् ।

उद्धार भएका ४८७ नेपालीको तथ्यांक सकारात्मक भए पनि त्यहाँ पुगेका नेपालीमध्ये हजारौं असुरक्षित छन् । विभिन्न जंगलका बीचमा र अनकन्टार ठाउँमा बन्दी अवस्थामा राखेर अनलाइन स्क्याम कार्यमा फसाइने भएकाले उद्धारको समस्या भइरहेको र यकिन तथ्यांक उपलब्ध हुन नसकेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा