संसदमा रमिता छ !

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण सोमबार राष्ट्रियसभा तथा प्रतिनिधिसभा दुवैको बैठक अवरुद्ध भएको छ । प्रतिनिधिसभा बैठक सुरु हुने बितिक्कै प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन सुरु गरेका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिले दुवै सदन अवरुद्ध

प्रधानमन्त्री शाहले आइतबारको संसद् बैठकमा सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रमका क्रममा ‘भारतीय पक्षबाट मात्र नभई नेपाली पक्षबाट समेत भारतीय भूमि मिचिएको छ’ भनेर दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलका सांसदहरूले नाराबाजी गरेका थिए ।

सोमबार बिहान सुरु भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आइतबार संसदमा विपक्षी सांसदहरूले प्रदर्शन गर्दा भौतिक सामग्रीमा क्षति भएको भन्दै त्यसको छानबिनका लागि समिति गठन गरिएको विवरण जानकारी गराएका थिए । संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । सांसदहरूले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेर निरन्तर अवरोध गरेपछि मंगलबार दिउँसोसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिकै कारण सोमबारको राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । सोमबार दोस्रो पटक सुरु भएको राष्ट्रियसभाको बैठकमा सबै सांसदले उठेर प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति विरोध जनाए । आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जाल, सडक र सदनमा निरन्तर विरोध भएपछि राष्ट्रियसभाको बैठक समेत प्रभावित भएको हो ।

राष्ट्रियसभाको बैठक सुरु हुने बितिक्कै सांसदले विरोध जनाएका हुन् । उनीहरूले प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने अडान राखेको राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले बताइन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदसँग आग्रह गरेका थिए । अध्यक्षको आग्रहलाई अस्वीकार गर्दै सांसदले विरोध जारी राखेपछि मंगलबारसम्मका लागि राष्ट्रियसभा पनि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सडक आन्दोलन
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा विभिन्न दल सम्बद्ध र स्वतन्त्र नागरिकले सडक आन्दोलन सुरु गरेका छन् । प्रदर्शनमा सहभागीहरूले राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद, कालापानी र लिपुलेक हाम्रै हो, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गरलगायतका नारा लगाएका छन् । प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेपछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रधानमन्त्री शाहका अभिव्यक्तिलाई रास्वपाकै सांसद आशिका तामाङले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पुष्टि हुनुपर्छ भन्दै सांकेतिक हिसाबले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको पाइएको छ । रास्वपाका सांसद बदनकुमार भण्डारीले देशभन्दा माथि कोही पनि हुनेछैनन् भन्दै राष्ट्रियता र सार्वभौमसत्तामाथि आफ्नै पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिमा सांकेतिक रूपमा असहमति जनाएको पाइएको छ ।

काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित रास्वपा सांसद रञ्जु दर्शनाले विगतमा आफूले लिम्पियाधुरा हाम्रो हो भन्दै राष्ट्रवादी प्रदर्शनमा आफूले नारा लगाएको भिडियो शेयर गर्दै सांकेतिक रूपमा आफू राष्ट्रको पक्षमा उभिएको प्रमाणित गरेकी छन् । प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको रहेछ भन्दै सदनमा बोल्दा धेरै रास्वपा सांसदहरूले समर्थनमा ढ्याप ढ्याप टेबल ठोकेपनि दर्शना असमञ्जस परेको भिडियो आइतबारदेखि नै सामाजिक सञ्जालमा फैलिएको छ । रास्वपाभित्रै प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको छ । ‘यो बेला यस्तो बोल्न हुन्थ्यो, यतिन्जेल नबोल्दा भएकै थियो, बोल्नुभएन भन्ने मात्रै त थियो, अब त विपक्षी दलका सांसदले कुन जमिन मिच्यौँ, हामीले कहाँबाट फिर्ता दिने भनेर प्रश्न सोधेपछि बोल्ने शब्द नपाइने भयो,’ रास्वपाका एक सांसदले भने ।

प्रतिपक्षी दलको निरन्तर विरोध
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र संसदमा बहुमतको बलमा पारित गरिएको नियमावलीले राष्ट्रियता र लोकतन्त्र संकटमा परेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिले स्वतन्त्र र सार्वभौम राष्ट्रको स्वाभिमानमाथि आत्मघाती आक्रमण भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार नै औपचारिक विज्ञप्ति प्रकाशन गरेरै प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने भन्दै आपत्ति जनाएको छ भने नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीलगायतका दलले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

तोडफोड छानबिन समिति गठन
प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका सांसदले गरेको तोडफोड तथा क्षति’bout छानबिन गर्न प्रतिनिधिसभा संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबार छानबिन समिति गठन गरेका हुन् ।

सभामुख अर्यालले सोमबार प्रतिनिधिसभाको बैठकमा छानबिन समिति गठन गरेको जानकारी गराएका हुन् । उनले गठन गरेको तीन सदस्यीय छानबिन समितिमा संघीय संसद्को योजना शाखा प्रमुख र प्रविधि शाखाका प्रमुखलाई सदस्य तोकिएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा अनुशासन उल्लंघन गरेर संसद्मा अराजक गतिविधि गर्नेलाई कारबाही गरिने सभामुख अर्यालले बताए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भनेर अभिव्यक्ति दिएपछि भएको विरोधमा विपक्षी दलका सांसदले कुर्सी, टेबुल तथा माइकमा क्षति पु¥याएको संसद् सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध