खोटाङ । दुई वर्षअघि भीषण बाढीले बगाएको खोटाङ–उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटार मोटरेबल पुल पुनर्निर्माणका लागि संघीय सरकारले बजेट नछुट्याएपछि खोटेहाङ गाउँपालिकाले जनस्तरबाट पहल थालेको छ । गाउँपालिका कार्यालय खोटाङबजारमा मंगलबार बसेको सर्वपक्षीय भेलाले गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’को संयोजकत्वमा १५१ सदस्यीय फोक्सिङटार पुल पुनर्निर्माण पहल समिति गठन गरेको छ ।
समितिले माथिल्लो तहका सरकारसँग आवश्यक बजेटका लागि डेलिगेसन लैजाने र बजेट नपाएमा आफ्नै पहलमा पुनर्निर्माण अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिका प्रमुख मुक्तिले संघीय सरकारको कार्यक्रममा पुल पुनर्निर्माणका लागि बजेट नपरेको र बजेट बन्नुअघि नै आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए । “सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन गरेर पुनर्निर्माण सुरु गर्छौँ,” पालिका अध्यक्ष राईले भने । गाउँपालिका उपप्रमुख रुपेश राईले पुल पुनर्निर्माणमा करिब १५ करोड आवश्यक पर्ने अनुमान रहेको जानकारी दिँदै सर्वप्रथम प्राविधिक टोली खटाएर लागत सर्भेक्षण गर्ने र प्रतिवेदन आएपछि काम सुरु गर्ने बताए ।
“संघीय सरकारले पक्षपात गरेपछि चन्दा संकलन गरेर पुल बनाउने निर्णय गरेका हौँ,” उनले भने । सर्वपक्षीय भेलामा जिल्लाका सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकसँग चन्दा संकलन अभियान चलाउने निर्णय गरिएको छ । जिल्लाका कर्मचारी र जनप्रतिनिधिले एक महिनाको तलब र सेवासुविधा जम्मा गरे पुल बनाउन पुग्ने सहभागीले बताएका छन् । सहभागीहरूले संघीय सरकारले खोटाङलाई तराईसँग विच्छेद गर्न खोजेको आरोप पनि लगाएका छन् ।
सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटार पुल वि.सं. २०८१ असोज १२ गते देशव्यापी भीषण बाढीले बगाएको थियो । उक्त पुल खोटाङलाई पूर्वी तराईका विभिन्न जिल्लासँग जोड्ने छोटो र सिधा मार्गमा पर्ने भएकाले यसको अभावमा जिल्लावासीले दैनिक सास्ती भोग्दै आएका छन् । पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थमन्त्रालयसमक्ष बजेट माग गरेको भए पनि अहिलेसम्म बजेट व्यवस्था हुन सकेको छैन ।
सम्बन्धित समाचार
अनाधिकृत रूपमा विद्यालय अनुगमन गर्दै रास्वपा सुन्दरहरैंचा शिक्षा विभाग
सुन्दरहरैचामा एन प्याब्सनद्वारा नगरस्तरीय पेन्सिल स्केच कार्यशाला सम्पन्न
केराबारीमा वन फडानीको नयाँ शैली: झाडी सफा गर्ने नाममा ४ सय सखुवाका रुखमाथि आरा !
मोरङबाट सशस्त्र प्रहरीद्वारा ९ सय २२ किलोग्राम गाँजा बरामद
इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने
ताप्लेजुङमा अलैँची महोत्सव हुने
जिल्ला समन्वय समिति महासंघमा नयाँ नेतृत्व
फेवातालमा डुबेका भारतीय पर्यटकको उद्धार






