पानी पर्‍यो कि राजदुवाली सम्झिन्छन् इलामे

इलाम । पानी पर्‍यो कि इलामवासीको सम्झनामा माईखोलाको राजदुवाली आउँछ । गाडीको लस्कर लाग्छ, तस्बिर खिचिन्छन् । तर पानी रोकिएपछि सबै कुरा बिर्सिएर फेरि पुरानै लयमा फर्किन्छ । माई खोलाको सडक भासियो कि निरीक्षण टोली निस्किन्छ अनि मर्मत हुन थाल्छ । वर्षौँदेखि इलामवासीले यही दृश्य हेरिरहेका छन् ।

जब बाटो अवरुद्ध हुन्छ, यात्रु अलपत्र पर्छन्, बिरामी अस्पताल लैजान सकिँदैन, व्यापारीको ढुवानी रोकिन्छ, त्यस बेला मात्रै यो सडक प्राथमिकतामा पर्छ । न राज दुवालीको विकल्प खोजियो न वैकल्पिक मार्गको समयमा काम । राजदुवाली अवरुद्ध हुँदा इलाम आउन सकिने फास्ट्रयाक पनि अलपत्र छ । पटक पटक म्याद थपिए पनि निर्माण कम्पनी कानमा तेल हालेर बसेको छ ।

इलामवासीलाई अब समस्या आउँदा देखिने सक्रियता होइन, समस्या आउन नदिने दीर्घकालीन विकास चाहिएको छ । अनुगमन हैन कार्यान्वयन खोजिएको छ । किनकि पानी परिसकेपछि सम्झना हुने राज दुवालीले नागरिकको पीडा घटाउँदैन, बरु राज्यको तयारी र संवेदनशीलतामाथि प्रश्न उठाउँछ । इलामेलीको प्रश्न एउटै छ, राजदुवाली र माई खोला कहिलेसम्म सम्झिने विषय बन्ने ?

वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउँ–जाऊ सकसपूर्ण बन्छ । तराईका जिल्लाबाट इलाम सदरमुकाम र पाँचथर–ताप्लेजुङ जोडिने मुख्य सडक अवरुद्धझैँ बन्छ र यातायात सम्बन्ध कमजोर बनाउँछ । ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको राजदुवाली वर्षाले जोखिमपूर्ण बनाउँदा निर्माणाधीन केचना–कञ्चनजङ्घा मार्गका दुई खोलामा लगाइएको बेली ब्रिज गत वर्षको बाढीले बगाएपछि सवारी साधन आउँ–जाऊ बन्द छ ।

राजदुवालीको विकल्प भनिएको सिमल गोलाई–तिल्केनी सडकको जोगमाई खोलाको बेलीब्रिज बगाएपछि लगाएकोह्युम पाइप पनि बगेपछि असार पहिलो साता नबित्दै इलाम सदरमुकाम यातायात सम्बन्धबाट टाढा हुन थालेको छ । पहिरोले क्षतविक्षत मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवाली खण्डको करिब आधा किलोमिटर सडकमा पानी परिसक्दा हिलो जम्ने र पहिरो झर्ने खतरा छ । शुक्रवार बिहान झरेको ठुलो ढुङ्गाले एउटा सवारी साधनमा क्षति गरेको थियो ।

गत असोज १८ र १९ र अघिल्लो वर्षको असोज १२ को बाढी–पहिरोका कारण राजदुवालीको सडक क्षतविक्षत बनेको थियो । अहिले पनि उक्त सडक मर्मत भइरहेको छ । ‘खोलाबाटै पर्खाल उठाएर सडक अड्याउनुपर्ने अवस्था छ,’ इलामको सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘बिहीबार राति माइखोलामा आएको बाढीले सडक मर्मतको सामानसमेत बगाइदिएको छ ।’

बाढीले तार जाली, पाइप, केही मेसिन र अन्य सामग्री बगाइदिएको उनको भनाई छ । ‘राजदुवालाीबाट साना गाडी जसोतसो चलेका छन् तर वर्षाले मर्मतको काममा पूरै असर गरेको छ,’ उनेले भने, ‘मौसम हेरेर मर्मतको काम निरन्तर भइरहेको छ ।’ राजदुवालीमा पानी पर्ने सिजन सुरु हुुनुअगावै पुरानै ठेक्काको काम थालिएको थियो । त्यसअन्तर्गत सडक खण्डमा तार जाली र पर्खाल निर्माण हुँदै थियो ।

सडक डिभिजनले यहाँका भित्रभित्रै पानी बग्ने समस्या समाधान गर्न ‘ड्रिलिङ’ गरेर पाइप राखी पानी निकाल्ने प्रयत्न गरेको थियो । जति मर्मत गरे पनि सुधार नभएको भन्दै स्थानीय असन्तुष्ट छन् । चारतर्फका सडक भरपर्दा नभएका कारण इलाम टापुमा परिणत हुने भन्दै इलामवासी चिन्तित छन् ।

इलामका हरि गुरुङ भन्छन्, माईखोलाले धेरैलाई धेरै कुरा दियो । नेताहरूलाई भोट माग्ने भरपर्दो मुद्दा दियो । हरेक पटक नयाँ मन्त्रीहरूलाई हेलिकप्टर वा गाडी चढेर अनुगमन गर्न, फोटो खिच्न र आश्वासन बाँड्न मञ्च दियो । हरेक वर्ष सडक डिभिजनलाई बजेट खर्च गर्ने बहाना दियो, स्थानीय ठेकेदारहरूलाई तात्तातो मर्मतको काम दियो । पत्रकारहरूलाई समाचारको मसला दियो, धामी–झाँक्री, बिजुवा, माताजी र सन्त–महन्तहरूलाई आफ्नो शक्ति, चमत्कार र पहिचान स्थापित गर्ने अवसर दियो । सामाजिक अभियन्ताहरूलाई गाडीबाट टक्क ओर्लेर केही तस्बिर खिच्दै, लाइभ गर्दै, सामाजिक सञ्जालमा वर्षौँदेखिको नेतृत्व र सरकारलाई खबरदारी गर्ने सुनौलो अवसर दियो ।

फेसबुकका कमेन्ट विज्ञ र युट्युब विश्लेषकहरूलाई पनि केही दिनका लागि राष्ट्रिय स्तरका पूर्वाधार विशेषज्ञ बनाइदियो । तर इलामवासीलाई भने के दियो ? अलिकति पानी परे बाटो हिलाम्मे हुने चिन्ता दियो । पहिरोको त्रास दियो । यात्रा गर्ने कि नगर्ने भन्ने बाध्य बनायो । पूर्वको सुगम जिल्ला भनेर चिनिएको इलामलाई बेला–बेला समुद्र बिचको कुनै टापुजस्तै बनाइदियो ।

द्रुत मार्ग अवरुद्ध
झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घा बेसक्याम्प पुग्ने केचना–कञ्चनजङ्घा मार्ग (इलाम–झापा फास्ट ट्र्याक) पनि पूर्ण रूपमा बन्द छ । माइखोलाको बेलासेमा पक्की पुल गत असोज १८ को वर्षाले भासिएपछि अहिले भासिएको भाग हटाएर पुलको आधा भागका बेली ब्रिज जडान गरिँदैछ ।

तर, बेली ब्रिज बनाउन तयार गर्दागर्दै बाढीले बेस नै बगाइदिएको छ । स्थानीय सविन लोक्तामका अनुसार निर्माणाधीन बेली ब्रिजको बेस र ‘यहाँ पटक–पटक बनाइएको डाइभर्सन बाढीले बगाइसकेको छ,’ उनले भने, ‘सबैभन्दा ठुलो समस्या चाहिँ खोला तर्न नसक्दा यहाँका बालबालिका स्कुल जान सकेका छैनन् ।’

सडक डिभिजनका अनुसार बेलिब्रिज जडान गर्नका लागि फिलिङ गरिएको ठाउँ बगाइदियो अब पुलबाटै बेली ब्रिज जोड्न मिल्छ मिल्दैन विज्ञहरूसँग सल्लाह भइरहेको छ । अर्को पटिबाट बेलिबज्री जडान गरेर ठेल्ने ठाउँ नभएकाले फिलिङ गरिएको थियो तर त्यो नै बगाइदिएपछि पुल माथि बेली ब्रिज जडान गर्दा आधा भएको पुल पनि जोखिममा पर्ने चिन्ता छ ।

यही सडक खण्डमा पर्ने पुवा खोलाको नयाँ बेली ब्रिज पनि गत असोज १८ को बाढीले बगाएको थियो । त्यसपछि काठको सानो फड्के बनाएर हिउँदभर साना सवारी र मान्छे हिँडडुल गर्ने गरिए पनि ठुला गाडीका लागि डाइभर्सनसमेत बनाइएको थियो । तर, बिहीबार रातिको बाढीले यहाँको डाइभर्सनसमेत बगाएपछि फास्ट ट्र्याकमा सवारी आउँ–जाऊ पूरै बन्द भएको डिभिजन प्रमुख भट्टराईले बताउँछन् । पुवाखोलामा पुनः अर्को बेली ब्रिजसमेत जडान गरिँदैछ ।

सिमलगोलाई–तिल्केनी सडक पनि बन्द
राजदुवालीको विकल्प भनिएको सिमल गोलाई–जोगमाई–तिल्केनी सडकमा पनि अहिले गाडी चल्ने अवस्था छैन । यहाँ लगाएको नयाँ बेली ब्रिज पनि गत असोज १८ को बाढीले बगाएपछि बनाइएको डाइभर्सनसमेत अहिले बाढीले बगाएको छ । अहिले खोलामा बाढी आएका कारण मान्छे हिँड्ने र सवारी साधन चल्ने अवस्था छैन ।

जोगमाई खोलामा पनि नयाँ बेली ब्रिज बन्नेक्रममा छ । तराईबाट इलाम आउन अरू कुनै भरपर्दो सडक छैन । यी मुख्य सडकसमेत बर्खा सुरु हुँदै बन्द हुँदा अबका केही महिना इलाम, पाँचथर र ताप्लेजुङवासीले सास्ती खेप्नुपर्ने पक्का बनेको छ । ‘अहिले एउटा बेली ब्रिजका लागि सामान आएकाले बेलासेको माइखोलामा सबैभन्दा पहिला जडान हुने क्रममा रहेको डिभिजन प्रमुख भट्टराई बताउँछन् ।

असोज १८ र १९ को बाढी–पहिरोले जिल्लामा १२ अर्ब रुपैयाँको भौतिक संरचना क्षति गर्दा सबैभन्दा बढी ७ अर्बका सडक र पुलमा क्षति गरेको थियो । त्यसपछि इलामलाई ३ महिनाका लागि ‘विपद् सङ्कटग्रस्त’ जिल्ला घोषणा गरिए पनि सरकारले समयमै बजेट व्यवस्था नगर्दा यो वर्ष पनि पहिरो हेर्दे बस्नुको विकल्प छैन ।

गत पुसमा सङ्घीय सरकारले बाढी–पहिरोले गरेको क्षतिमा मर्मत गर्न २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको थियो ।

अर्थ मन्त्रालयले मेची राजमार्गका लागि डेढ अर्ब, मेची राजमार्गकै राजदुवाली पुलका लागि २० करोड, केचना–कञ्चनजङ्घा सडकका लागि १४ करोड, यही सडकअन्तर्गत माई खोलाको बेलासे पुलका लागि २५ करोड, पुवाखोला पुलका लागि ५ करोड र गोदकको सिमल गोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोला पुलका लागि ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । यसमध्ये चालु आर्थिक वर्ष ५४ करोड रुपैयाँको काम हुनेछ अनुमान गरिएको सडक डिभिजनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

आजपाद्वारा शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाएको कर हटाउन माग