फ्रान्स र नर्वे नकआउट चरणमा, अल्जेरियाले अस्ट्रेयासँग निर्णायक खेल खेल्ने

काठमाडौं । जारी विश्वकप फुटबल प्रतियोगितामा मंगलबार भएका खेलमा अल्जेरिया, फ्रान्स र नर्वे विजयी भए । फ्रान्स र नर्वे नकआउट चरणमा पुगे भने अल्जेरिया अन्तिम खेलमा निर्भर रहन्छ । समूह ‘जे’ मा अल्जेरिया र अस्ट्रेयाबीचको खेल निर्णायक बन्ने छ ।

जोर्डन दुवै खेलमा पराजित भएपछि बाहिरियो । यो समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग जोर्डनले अन्तिम खेल खेल्नेछ । अल्जेरियाले जोर्डनलाई २–१ ले, फ्रान्सले इराकलाई ३–० र नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेका हुन् ।

नवप्रवेशी जोर्डन फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको छ । अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।

जोर्डनले खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन सकेन । त्यसको ३३ मिनेटपछि अल्जेरियाले बराबरी गोल फर्कायो ।

६९औं मिनेटमा रियाद महरेजको क्रसमा नाधीर बेनबोउलीले गोल गर्दै अल्जेरियालाई बराबरीमा फर्काए । ८२औं मिनेटमा अमाइन गौइरीले गोल गर्दे अल्जेरियालाई पहिलो अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अल्जेरिया विजयी भयो ।

साविक उपविजेता फ्रान्सले फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले पराजित गरेको छ । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घण्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो । फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

यस्तै न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो । खेलको ४३औं मिनेटमा मार्कस मार्कस होल्मग्रेन पेडरसनले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए ।

५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए । दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् ।

२८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको थिएन ।

जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका