काठमाडौं । अब फिफा विश्वकप ‘नकआउट’ चरणमा एउटै गल्तीले पनि चार वर्षको सपना समाप्त हुन सक्छ । त्यसैले यहाँ खेलाडीका हरेक पाइला नापिएका हुन्छन्, प्रत्येक पासको मूल्य हुन्छ र गोलको उत्सवसँगै हारको पीडा पनि उत्तिकै गहिरो हुन्छ । ‘फिफा विश्वकप २०२६’को ‘राउन्ड अफ ३२’अन्तर्गत सम्पन्न स्पेन–अष्ट्रिया, पोर्चुगल–क्रोएसिया र स्वीट्जरल्यान्ड–अल्जेरिया भिडन्तले यही यथार्थ जीवन्त बनाए । यी खेलका पृष्ठभूमि फरक भए पनि ‘नकआउट’ चरणमा साहस, धैर्य र अवसर सही उपयोग नै सफलताको मापदण्ड हुने प्रस्छ पारेको छ ।
अमेरिकाको इन्गलउडस्थित सोफी स्टेडियममा हजारौं समर्थकको उत्साहबीच स्विडेनका रेफ्री ग्लेन नाइबर्गले खेलको सिटी बजाउँदा स्पेन आफ्नो परिचित शैलीमा मैदान उत्रिएको थियो । बल नियन्त्रण, छोटो पास र आक्रामक लय स्पेनी फुटबलको पुरानो परिचय फेरि एकपटक विश्वकप मञ्चमा झल्कियो ।
अष्ट्रियाले सुरुवाती केही मिनेट प्रतिरक्षात्मक अनुशासन कायम राखे पनि स्पेनको निरन्तर दबाब थेग्न सकेन । मैदान दायाँबायाँ फैलिएको स्पेनी आक्रमणले अष्ट्रियाली रक्षापंक्तिलाई लगातार दौडाउन बाध्य बनायो । त्यसको सबैभन्दा ठूलो लाभ उठाए मिकेल ओयार्जाबालले । उनले दुई गोल गर्दै आफूलाई खेलको नायकमात्र बनाएनन्, स्पेनको उपाधि यात्रामा महइभ्वपूर्ण सन्देश पनि दिए । अर्को गोल पेड्रो पोरोको नाममा रह्यो । दुवै गोलमा मार्क कुकुरेलाको सिर्जनात्मक पास निर्णायक बन्यो ।
३–० को जित ‘स्कोरलाइन’ थिएन । यो स्पेनको आत्मविश्वास, सामूहिक समन्वय र बलमाथिको नियन्त्रणको प्रदर्शन थियो । अष्ट्रियाले केही अवसर सिर्जना गर्ने प्रयास गरे पनि स्पेनले खेलको गति आफ्नै नियन्त्रणमा राख्यो । अष्ट्रियाली गोलकिपर अलेक्जेन्डर श्लागरले केही उत्कृष्ट बचाउ गरे, तर स्पेनको आक्रमणको धार रोक्न त्यो पर्याप्त भएन ।
उता, क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा भएको अर्को खेल भने बिल्कुल फरक स्वादको थियो । पोर्चुगल र क्रोएसियाबीचको भिडन्त सुरुदेखि नै प्रतिस्पर्धात्मक रह्यो । नर्वेका रेफ्री एस्पेन एस्कासको नियन्त्रणमा रहेको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे, तर पहिलो खुसी क्रोएसियाले मनायो । अनुभवी इभान पेरिसिचले गोल गर्दै पोर्चुगली समर्थकलाई केहीबेर स्तब्ध बनाए ।
ठूलो टोलीको परिचय कठिन क्षणमा देखिन्छ । पोर्चुगलले हार मानेन । दोस्रो हाफमा भीएआरले दिएको पेनाल्टी अवसरलाई कप्तान क्रिस्टियानो रोनाल्डोले शान्त भावमा गोलमा परिणत गरे । ४१ वर्षको उमेरनजिक पुग्दा पनि विश्वकपको दबाबबीच उनको आत्मविश्वासमा कुनै कमी देखिएन । त्यो गोलसँगै खेलले नयाँ मोड लियो । बराबरीपछि दुवै टोली जितका लागि आक्रामक बने । समय सकिनै लाग्दा गोन्सालो रामोसले गरेको उत्कृष्ट हेडरले पोर्चुगललाई २–१ को अग्रता दिलायो । इन्जुरी समयको त्यो गोलले टोरन्टो रंगशाला पोर्चुगली समर्थकको उत्सवस्थल बन्यो । खेल अन्त्यतिर क्रोएसियाले फेरि बल जाली चुमाए पनि भीएआरले ‘अफसाइड’ देखाएपछि त्यो प्रयास व्यर्थ भयो । खे लभर पोर्चुगलका रुबेन डियासले पहेँलो कार्ड पाए भने भीएआर का दुई महइभ्वपूर्ण निर्णय—पेनाल्टी र अफसाइड नतिजाका लागि निर्णायक मोड बने । ‘नकआउट’ चरणमा धैर्य कहिल्यै गुमाउनु हुँदैन । अन्तिम सिटी नबज्दासम्म खेलको लय बदलिन सक्ने यो खेलले प्रस्ट पा¥यो ।
यता, भ्यानकुभरको बीसी प्लेसमा स्वीट्जरल्यान्ड र अल्जेरियाबीच अर्को कथा लेखिँदै थियो । अर्जेन्टिनाका रेफ्री याएल फाल्कोन पेरेजको नेतृत्वमा सम्पन्न खेलमा स्वीट्जरल्यान्डले चमकभन्दा बढी संयम प्रदर्शन ग¥यो ।
स्वीस टोलीले सुरुदेखि नै आफ्नो रक्षात्मक संरचना मजबुत राख्दै अवसरको प्रतीक्षा ग¥यो । अल्जेरियाले केही राम्रा ‘मुभ’ बनाए पनि अन्तिम क्षेत्रमा पुग्दा उनीहरू प्रभावकारी बन्न सकेनन् । यसको ठीक उल्टो स्वीट्जरल्यान्डले प्राप्त अवसरलाई गोलमा परिणत गर्दै २–० को जित सुरक्षित ग¥यो । खेलभर उनीहरूको सन्तुलित मिडफिल्ड, अनुशासित रक्षा र संयमित आक्रमणले अल्जेरियालाई निराश बनायो । यो जितसँगै स्वीट्जरल्यान्डले अर्को चरणका लागि स्थान सुरक्षित गरेको छ । उनीहरूको प्रदर्शनले फुटबलमा आकर्षक खेलमात्र होइन, संगठित रणनीति पनि उत्तिकै महइभ्वपूर्ण हुने पाठ सिकाएको छ ।
यी तीन खेललाई एउटै सूत्रमा बाँध्ने हो भने युरोपेली फुटबलको परिपक्वता प्रस्ट झल्किन्छ । स्पेनले बल नियन्त्रण र सिर्जनशीलताको सौन्दर्य देखायो । पोर्चुगलले कठिन परिस्थितिबाट फर्कने मानसिक शक्ति प्रदर्शन ग¥यो । स्वीट्जरल्यान्डले अनुशासन र संयमको उदाहरण प्रस्तुत ग¥यो । तीन टोलीका शैली फरक भए पनि गन्तव्य ‘अन्तिम १६’ नै हो ।
अब प्रतियोगिताको अर्को सबैभन्दा रोचक अध्याय स्पेन र पोर्चुगलबीचको सम्भावित इबेरियन भिडन्त बन्ने भएको छ । एकातिर युवाशक्ति, तीव्र पासिङ र सिर्जनशील स्पेन हुनेछ भने अर्कोतर्फ अनुभव, व्यक्तिगत प्रतिभा र अन्तिम क्षणसम्म हार नमान्ने पोर्चुगल । फुटबल समर्थकका लागि यो अर्को खेल होइन, दुई फुटबल दर्शनबीचको प्रतिस्पर्धा हुनेछ ।
विश्वकप सधैं तथ्यांकले मात्र बाँच्दैन । यसलाई जीवित राख्ने कुरा भावना हो । गोलपछि आँखा रसाउने समर्थक, हारपछि मैदानमै घुँडा टेकेर निराश हुने खेलाडी र अन्तिम सिटीसँगै इतिहासको अर्को पाना पल्टिने क्षण । गए राति र बिहान सम्पन्न तीन खेलले पनि त्यही भावनालाई फेरि उजागर गरे । कसैले आफ्नो सुन्दर लयले जित्यो, कसैले संघर्षको साहसले, कसैले संयमको शक्तिले । विश्वकप यात्रा अब अझ कठिन बन्दै गएको छ । यहाँबाट प्रत्येक खेल एउटा फाइनलसरह हुनेछ । गल्तीको मूल्य अझ महँगो हुनेछ, तर विजयको स्वाद पनि उत्तिकै मिठो । स्पेन, पोर्चुगल र स्वीट्जरल्यान्डले त्यो स्वाद चाखिसकेका छन् ।

स्पेनका गोलकिपर उनाई साइमनले बनाए विश्व रेकर्ड
स्पेनका पहिलो रोजाइका गोलकिपर उनाई साइमनले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ‘गिनिज वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ता गराएका छन् । विश्वकपमा लगातार ५ सय १९ मिनेटसम्म कुनै पनि गोल नखाई उनले नयाँ विश्व कीर्तिमान बनाएका हुन् ।
यसअघि यो कीर्तिमान इटालीका महान् गोलकिपर वाल्टर जेन्गा को नाममा थियो, जसले सन् १९९० को विश्वकपमा लगातार ५ सय १७ मिनेट गोल नखाई ३६ वर्षसम्म कायम रेकर्ड उनाई साइमनले तोडेका हुन् ।
यो ऐतिहासिक उपलब्धि स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै ‘फिफा विश्वकप २०२६’को ‘राउन्ड अफ ३२’ पार गरेपछि सम्भव भएको हो । यस खेलमा साइमनले लगातार पाँचौं विश्वकप खेलमा पनि आफ्नो पोस्ट सुरक्षित राखे । उनले पछिल्लोपटक विश्वकपमा सन् २०२२ को कतार विश्वकपमा जापानविरुद्ध गोल खाएका थिए ।
त्यसयता उनले लगातार पाँच खेलमा कुनै पनि गोल खाएका छैनन्, जसले उनलाई विश्वकप इतिहासकै सबैभन्दा लामो ‘क्लिन सिट स्ट्रिक’ बनाउने गोलकिपर बनाएको हो ।
साइमनको यो उपलब्धि व्यक्तिगत सफलतामै सीमित छैन । स्पेनिस टोलीको अनुशासित र संगठित रक्षापंक्तिको पनि यसमा ठूलो योगदान रहेको छ । समूह चरणका सबै खेल र नकआउट चरणको पहिलो खेलसम्म स्पेनले विपक्षीलाई गोल गर्ने अवसर निकै सीमित बनाएको थियो, जसका कारण साइमन आफ्नो उत्कृष्ट लय कायम राख्न सफल भए ।
‘गिनिज वल्र्ड रेकड्र्स’ले पनि साइमनको उपलब्धिलाई आधिकारिकरूपमा प्रमाणित गर्दै उनलाई ‘फिफा विश्वकपको अन्तिम चरणमा सबैभन्दा लामो समयसम्म गोल नखाने गोलकिपर’का रूपमा मान्यता दिएको छ । यससँगै उनले फुटबल इतिहासका चर्चित गोलकिपरको सूचीमा आफ्नो नाम थप बलियो बनाएका छन् ।
अब स्पेनले विश्वकप ‘अन्तिम १६’मा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । सो खेलमा पनि साइमनले आफ्नो ‘क्लिन सिट’ कायम राख्नसके आफ्नै विश्व कीर्तिमान अझै लामो बनाउने अवसर पाउने छन् ।
सम्बन्धित समाचार
क्यानडाको ऐतिहासिक रात, मेक्सिको ‘अन्तिम ३२’मा
जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै
‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात
पाको उमेरमा गोल हान्ने रोनाल्डो दोस्रो, मेस्सी चौथों नम्बरमा
फिफा विश्वकपमा समूह चरणको खेल समाप्त, यी हुन् राउन्ड अफ ३२ का टोली
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रि-क्वाटरफाइनलमा
अग्रता जोगाउन नसक्दा जापान पराजीत, ब्राजिल अन्तिम १६ मा





