नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्डको सहभागिता तथा ४० भन्दा बढी नयाँ सवारीसाधन र प्रविधि सार्वजनिक हुने जनाएको छ।

सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोका मुख्य विवरण सार्वजनिक गर्दै नाइमाले प्रदर्शनी आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जानकारी दिएको हो।

नाइमाका अनुसार एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड सवारी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू प्रदर्शन गरिनेछन्।

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको संस्था हाल ३६ सदस्य कम्पनीसम्म विस्तार भएको जानकारी दिँदै यसले अटोमोबाइल उद्योगले नाइमामाथि गरेको विश्वास र संस्थाको बढ्दो भूमिकालाई प्रतिबिम्बित गर्ने बताइन्।

उनले नाइमाको ‘गतिशीलतामार्फत विकास सशक्तीकरण’ भन्ने दृष्टि र ‘सबैका लागि गतिशीलता’ भन्ने मिसन प्रदर्शनीमा मात्र सीमित नभई पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा र आर्थिक विकाससँग जोडिएको उल्लेख गरिन्। उनका अनुसार प्रभावकारी गतिशीलताले अवसर विस्तार गर्दै समग्र आर्थिक गतिविधिलाई गति दिन सहयोग पुर्‍याउँछ।

वैद्यले गत वर्ष नाइमाले पहिलो संस्करणको मोबिलिटी एक्स्पो सफलतापूर्वक सम्पन्न गर्नुका साथै ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम, सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम, सरकारी निकायसँग सहकार्य र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

उनका अनुसार एक्स्पोको टिकट बिक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमका लागि खर्च गरिनेछ। साथै भविष्यमा नाइमा मोबिलिटी सम्मेलन आयोजना गर्ने तथा सरकारसँग सहकार्य गरी मोबिलिटी क्षेत्रमा सीप विकास र रोजगारी केन्द्रित तालिम सञ्चालन गर्ने योजना पनि रहेको उनले बताइन्।

पत्रकार सम्मेलनमा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले यस्ता प्रदर्शनीले लगानी, व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एक्स्पो आयोजक समितिका संयोजक गौरव शारडाले यस वर्षको संस्करणलाई अझ व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइने जानकारी दिए। उनका अनुसार मनसुनलाई ध्यानमा राख्दै विशेष व्यवस्थापन गरिनेछ भने अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँच सुनिश्चित गरिनेछ। आगन्तुकका लागि नेपाल प्रहरी क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ भने पठाओले छुटसहितको सवारी सेवा उपलब्ध गराउनेछ। युनियन पे क्यूआरमार्फत टिकट खरिद गर्दा नगद फिर्ता सुविधा पनि दिइनेछ।

यस वर्ष एक्स्पोको अर्को आकर्षणका रूपमा नेपाल प्रहरी क्लबस्थित ब्लु पेभिलियनको सभाहलमा निःशुल्क सिकाइ सत्र सञ्चालन गरिनेछ। ती सत्रमा गतिशीलता, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यका विषयमा विज्ञहरूले प्रस्तुति दिनेछन्।

ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एक्स्पोमा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै आगन्तुकका लागि विशेष बैंकिङ तथा सवारीसाधन वित्तीय सुविधा उपलब्ध गराइने बताए। रेड बुल नेपालका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले पनि एक्स्पो अवधिभर विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

नाइमाले जनाएको अनुसार ग्लोबल आईएमई बैंक सह–प्रायोजक तथा रेड बुल ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध छन्। यसका साथै विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि, सवारी सेवा, टिकटिङ, स्वास्थ्य, चार्जिङ, सुरक्षा, कनेक्टिभिटी तथा कार्यक्रम व्यवस्थापनसँग सम्बन्धित संस्थाहरूले साझेदारका रूपमा सहयोग गर्नेछन्।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई प्रदर्शनीसँगै सिकाइको उत्कृष्ट मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै परिवार, विद्यार्थी, व्यवसायी, नीति निर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई एक्स्पोमा सहभागी हुन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने