बझाङ । बझाङको केदारस्यु गाउँपालिका–७ सुगरेस्थित केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने भित्री सडकखण्डमा शनिबार साँझ भएको जिप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
शनिबार अपराह्न ४ः३० बजे सु.प.प्र.०१–००१ च २६४४ नम्बरको जिप बिजगडाबाट सुगरे हुँदै दुर्गाथलीतर्फ जाँदै गर्दा करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
घटनामा मृत्यु हुनेहरूमा केदारस्यु गाउँपालिका–७ काडाचौरकी ३५ वर्षीया विमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केलोवी महत र सोही स्थानका ६० वर्षीय चक्र महत रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक देवेन्द्र धामी, रामबहादुर महत, वीरबहादुर जाग्री, झल्का देवी महत, जयमती महत र हर्कादेवी महत गम्भीर घाइते भएका छन् । त्यसैगरी नवराज धामी, दीपेन्द्र जाग्री, रमेश धामी, धनसेर जाग्री, हासुली महत, गौमतीदेवी महत र इन्द्र महत मध्यम अवस्थाका घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ ।
जिप केदारस्यु गाउँपालिका–७ काडाचौर निवासी ३५ वर्षीय देवेन्द्र धामीले चलाएका थिए । दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बिजगडा, झोता, बागथला, इलाका प्रहरी कार्यालय दुर्गाथली तथा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमान्डमा संयुक्त प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । त्यसपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वाबाट समेत उद्धार टोली परिचालन गरिएको थियो ।
घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट परिचालन गरिएको भए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न नसकी जयपृथ्वी नगरपालिका–३ स्थित पानकोट ब्यारेकमा अवतरण गरेको थियो । त्यसपछि घाइतेहरूको उद्धार एम्बुलेन्स तथा अन्य सवारी साधनमार्फत गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण’bout प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
हनुमान नाचः तीन शताब्दीको सांस्कृतिक हुङ्कार
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो





