धनगढी उपमहानगरद्वारा दशरथ चन्द विश्वविद्यालय परिसर सरसफाइ

धनगढी । सुदूरपश्चिमको गौरवका रूपमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसर धनगढी उपमहानगरपालिकाले सरसफाइ गरेको छ ।

कैलालीको गेटास्थित विश्वविद्यालय परिसरमा वर्षायामसँगै झाडी र बुट्यान अत्यधिक बढेपछि सर्प, किरा–फट्याङ्ग्रालगायतको जोखिम बढ्नुका साथै परिसरको सौन्दर्यसमेत प्रभावित भएको थियो । विश्वविद्यालयले सार्वजनिक रूपमा सहयोगको आह्वान गरेपछि धनगढी उपमहानगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो ।

नगर प्रमुख गोपाल हमालको नेतृत्वमा बिहीबार सञ्चालन गरिएको अभियानमा जनप्रतिनिधि, उपमहानगरका कर्मचारी तथा नगर प्रहरीको सक्रिय सहभागिता रहेको थियो ।

सरसफाइका लागि उपमहानगरले ७ वटा ब्याकुलोडर, घाँस काट्ने मेसिनसहितको १ ट्याक्टर र १ ग्रेडर परिचालन गरेको थियो । अभियानका क्रममा परिसरभर फैलिएका झारपात, फोहोर तथा अव्यवस्थित सामग्री हटाएर वातावरणलाई सफा र व्यवस्थित बनाइएको छ ।

अभियानका क्रममा नगर प्रमुख हमालले सुदूरपश्चिमको भविष्यसँग जोडिएको विश्वविद्यालयको विकास र संरक्षण सबैको साझा दायित्व भएको बताए । उनले भने, ‘सुदूरपश्चिमको सपना बोकेको विश्वविद्यालय निर्माण हुँदैछ। यसको विकास र संरक्षणमा सबैले मिलेर योगदान पुर्‍याउनुपर्छ ।’

नगर प्रमुख स्वयं नेतृत्व गरेर सरसफाइ अभियानमा सहभागी भएकोमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सहकार्यको अपेक्षा रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?