धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेको छ। विवादकै कारण मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।
बर्खास्त हुनेहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन् ।
उच्च स्रोतका अनुसार मुख्यमन्त्री शाह उच्चस्तरीय छलफलका लागि काठमाडौं गएर बुधबार मात्रै धनगढी फर्किएका थिए । तर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारको नयाँ बजेटलाई लिएर केही दिनदेखि प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेबीच तीव्र विवाद चलेको थियो। बजेट पारित गर्न पटक-पटक छलफल भए पनि सहमति हुन सकेन । मुख्यमन्त्रीको कार्यालयले मन्त्रीहरूलाई बर्खास्त गरेको औपचारिक पत्र भने सार्वजनिक गरिसकेको छैन ।
बजेटकै कारण गठबन्धन भत्किएपछि अब सुदूरपश्चिम सरकारको भविष्य र नयाँ सत्ता समीकरणको विषयमा चासो बढेको छ ।






