सर्वदलीय बैठक : सद्भाव कायम गर्न ७ बुँदे संयुक्त अपिल (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गरेको छ । बैठकले संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ ।

बैठकले पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यस्तै, संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिएको छ ।

बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ । साथै भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

त्यस्तै, संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपिल गरिएको छ । सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीउपर कानुनबमोजिम कारबाही, पीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ ।

यस्तो छ अपिल

१. समवेदना तथा सहानुभूतिः
पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
. सामाजिक सद्भाव र शान्तिको अपिलः
नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो । सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं । आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ ।
३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वानः
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ । आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं ।
४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान ः
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन । तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पु¥याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं । स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो ।
५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका ः
यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू–भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं । यसका लागि आवश्यक पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं ।
६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग ः
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन् । तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं ।
७. नेपाल सरकारको ध्यानाकर्षणः
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो । अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।

अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

एकै व्यक्तिले गरे झण्डै दुई अर्ब रुपैयाँबराबरको हुण्डी कारोबार, बैंकिङ कारोबार विश्लेषणपछि पक्राउ