कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउन ३–४ दिनसम्म कुर्नुपर्ने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको अत्यधिक भीड बढेपछि पालो नपाएर धेरैजना निराश हुँदै फर्किन बाध्य भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीले ३–४ दिनसम्म कुर्नुपरेको गुनासो गरेका छन् ।

केही दिनयता राष्ट्रिय परिचयपत्र बनाउन आउनेको चाप अस्वाभाविक रूपमा बढेपछि एकै दिनमा सेवा लिन सम्भव नभएको हो । बैंकिङ सेवा तथा अन्य विभिन्न सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेपछि कार्यालयमा दैनिक सेवाग्राहीको भीड बढ्दै गएको छ ।

सेवाग्राहीका अनुसार एकै दिनमा काम सम्पन्न नहुँदा पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता छ । अत्यधिक गर्मीका बीच साना दुधे बालबालिका च्यापेर समेत सेवा लिन पुगेका नागरिक घण्टौँ लाइनमा बस्न बाध्य छन् ।

जिल्ला प्रशासन कार्यालयमा दैनिक ५ सयभन्दा बढी सेवाग्राही पुग्ने गरे पनि हाल एक सय महिला र एक सय पुरुष गरी जम्मा २ सय जनालाई मात्र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिँदै आएको छ । सीमित सेवा क्षमताका कारण अधिकांश सेवाग्राही पालो नपाई फर्किनुपर्ने अवस्था रहेको छ ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीले भने सामाजिक सुरक्षा भत्तासम्बन्धी प्रक्रियाका कारण केही समयका लागि सेवाग्राहीको चाप बढेको जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खडानन्द खत्रीका अनुसार हालको भीड अस्थायी प्रकृतिको हो र केही सातापछि चाप घट्ने अपेक्षा गरिएको छ ।

उनले सेवाग्राहीको भीड व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरिएको जानकारी दिँदै उपलब्ध जनशक्ति र मापदण्डअनुसार सेवा प्रवाह भइरहेको बताए ।

यद्यपि सेवाग्राहीहरूले दैनिक सेवा क्षमता बढाउन, आवश्यक जनशक्ति थप परिचालन गर्न र तोकिएको सीमाभन्दा बढीलाई सेवा उपलब्ध गराएर नागरिकको सास्ती कम गर्न प्रशासनसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा ईन्चार्ज साह (विज्ञप्तिसहित)