काठमाडौं । सुनसरीमा गत आइतबार भएको हिंसात्मक घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा फैलिएको तनाव शुक्रबारदेखि क्रमशः मत्थर हुन थालेको छ ।
सद्भावका लागि सरकार, सुरक्षाकर्मी, प्रशासन र राजनीतिज्ञको साझा पहल
सर्वदलीय पहल, धार्मिक अगुवासँगको संवाद, सरकारले गरेको शहीद घोषणा, क्षतिपूर्तिको निर्णय तथा उच्च सुरक्षा सतर्कताका कारण अवस्था नियन्त्रणउन्मुख बनेको सरकारी निष्कर्ष छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनुका साथै हिन्दु र मुस्लिम धर्मगुरुसँग छुट्टाछुट्टै संवाद गरी सामाजिक सद्भाव कायम राख्न पहल गरेका छन् । त्यससँगै प्रधानमन्त्री वालेन्द्र शाहको राष्ट्रका नाममा सम्बोधन र गृहमन्त्री सुधन गुरुङको घटनास्थलमै पुगेर गरेको सहमतिले तनाव कम गर्न महत्वपूर्ण भूमिका खेलेको सरकारी अधिकारीहरूको भनाइ छ ।
सुनसरीको कप्तानगञ्ज, देवानगञ्ज तथा सिराहाको गोलबजार घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने तथा मृतकका परिवारलाई संघीय सरकारले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ । यसअघि नै सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले पनि क्रमशः १० लाख र २ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेका थिए ।
गृह मन्त्रालयका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि आवश्यकताअनुसार सुरक्षा संयन्त्र परिचालन गरिएको, संवेदनशील क्षेत्रमा विशेष सुरक्षा योजना लागू गरिएको तथा वरिष्ठ सुरक्षा अधिकारीको नेतृत्वमा निगरानी बढाइएकाले थप मानवीय क्षति हुन नपाएको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको छ ।
तराई–मधेसका नेता र सांसदसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार तराई–मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता र सांसदहरूसँग छलफल गर्दै नागरिकलाई विचलित हुन नदिन र आफ्ना निर्वाचन क्षेत्रमा पुगेर शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
सुनसरी घटनापछि उत्पन्न संवेदनशील अवस्था’bout छलफल गर्दै प्रधानमन्त्री शाहले सरकार नागरिकको जिउधनको सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न सम्पूर्ण संयन्त्र परिचालन गरेर योजनाबद्ध रूपमा अघि बढिरहेको बताए ।
उनले सबै सांसदलाई स्थानीय तहमा पुगेर नागरिक र राज्यबीच विश्वासको वातावरण निर्माण गर्न तथा धार्मिक र सामाजिक सहिष्णुता कायम राख्ने सन्देश प्रवाह गर्न आग्रह गरेका थिए ।
धार्मिक अगुवासँग रास्वपा सभापतिको छलफल
रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हिन्दु र मुस्लिम धर्मगुरुसँग छलफल गर्दै सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
छलफलमा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल तथा मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए । छलफलपछि धार्मिक अगुवाहरूले हातेमालो गर्दै देशभर शान्ति, सहिष्णुता र धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका थिए ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनापछि आन्दोलनको आह्वान गरिरहेको ‘हिन्दू सम्राट सेना’ नामक समूहलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका छन् ।
देवानगञ्जमा बोलबम यात्राका क्रममा भएको झडपपछि सुनसरीबाट सुरु भएको प्रदर्शन सिराहा, धनुषा, सर्लाही र पर्सासम्म फैलिएको थियो । त्यसपछि घटनास्थल पुगेका गृहमन्त्रीले संवादमार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग सम्पर्क बढाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
जिल्ला–जिल्लामा सद्भाव -याली
सुनसरी घटनापछि कोशी र मधेस प्रदेशका विभिन्न जिल्लासहित देशका अन्य भागमा पनि शान्ति र सामाजिक सद्भावको पक्षमा ¥याली आयोजना गरिएको छ ।
पर्सामा जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको सद्भाव ¥यालीमा सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजको उल्लेख्य सहभागिता थियो ।
चितवनमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित बृहत् सद्भाव ¥यालीमा हजारौँ नागरिक सहभागी भएका छन् । त्यहाँ सर्वदलीय बैठकले चारबुँदे निर्णय गर्दै धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ ।
काठमाडौंमा संयुक्त विद्यार्थी संगठनले माइतीघरदेखि सद्भाव ¥याली निकाल्दै ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ र ‘हिमाल, पहाड, तराई—कोही छैन पराइ’ जस्ता नारामार्फत राष्ट्रिय एकताको सन्देश दिएको छ ।
विराटनगर, सप्तरी, नेपालगञ्ज, मोरङलगायत जिल्लामा पनि धार्मिक सहिष्णुता र सामाजिक सद्भावका पक्षमा ¥याली तथा सर्वदलीय बैठकहरू आयोजना गरिएका छन् ।
सम्बन्धित समाचार
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
डा.गोविन्द केसी साउन ७ देखि पुनः अनशन बस्ने
बानियाँ नेतृत्वको बागमती सरकार अल्पमतमा
नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने
कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो
यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ
म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ : प्रधानमन्त्री






