नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र बंगलादेशबीच मत्स्य तथा जलकृषि क्षेत्रमा सहकार्य विस्तार गर्न प्रस्ताव गरेका छन्।

चितवनमा शुक्रबार आयोजित नेपाल फिसरिज डेभलपमेन्ट एसोसिएसन (एनएफडीए) को पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै राजदूत रहमानले बंगलादेशले मत्स्य क्षेत्रमा हासिल गरेको प्रगतिको अनुभव नेपालसँग साझा गर्न तयार रहेको बताए।

उनले वैज्ञानिक अनुसन्धान, प्रभावकारी सरकारी नीति, निजी क्षेत्रको सहकार्य र लाखौं माछापालकको मेहनतका कारण बंगलादेश विश्वका अग्रणी मत्स्य उत्पादन गर्ने मुलुकमध्ये एक बनेको उल्लेख गरे। आधुनिक ह्याचरी, जलकृषिको विस्तार, खुला जलाशयको सामुदायिक व्यवस्थापन, जैविक विविधता संरक्षण, गुणस्तरीय दाना तथा रोग व्यवस्थापन र प्रविधिको प्रयोगले यो सफलता सम्भव भएको उनले बताए।

राजदूत रहमानले नेपाल र बंगलादेश हिमालयबाट उत्पन्न नदी प्रणालीले जोडिएका छिमेकी देश भएकाले मत्स्य क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको बताए। उनले नेपालका सिमसार र जलाशयमा बंगलादेशको सफल खुला जलाशय व्यवस्थापन मोडल प्रयोग गर्न सकिने, माछाको प्रशोधन तथा मूल्य अभिवृद्धि, प्राविधिक सहयोग, संयुक्त अनुसन्धान, तालिम, अनुसन्धानकर्ता तथा विज्ञ आदान–प्रदान, निजी क्षेत्रको साझेदारी र विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच सहकार्य बढाउन सकिने प्रस्ताव गरे।

उनले जलवायु परिवर्तनका कारण बढिरहेका चुनौतीलाई ध्यानमा राख्दै वातावरणमैत्री र दिगो जलकृषि प्रवर्द्धन गर्न आवश्यक रहेको पनि बताए। यसबाट जलचर वातावरण र जैविक विविधताको संरक्षणसँगै भविष्यका लागि मत्स्य स्रोतको दिगो व्यवस्थापन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बागमती प्रदेशकी कृषि, वन तथा वातावरणमन्त्री गीता कुमारी चौधरीले राजदूतले उठाएका सहकार्यका प्रस्ताव सकारात्मक रहेको बताउँदै बंगलादेशसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताइन्।

राजदूत रहमानले नेपाल फिसरिज डेभलपमेन्ट एसोसिएसनलाई पहिलो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै संस्थाको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव