धनगढी । व्यवसायमा घाटा भयो । लगानी डुब्यो । मेहनत खेर गएजस्तो लाग्यो । तर भागरथी नाथले हार मानिनन् ।
तरकारी खेतीमा करिब सात लाख रुपैयाँ घाटा व्यहोरेपछि धेरैका लागि त्यो यात्रा त्यहीँ टुंगिन्थ्यो । तर कैलाली धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नाकी भागरथीका लागि त्यो असफलता अन्त्य होइन, नयाँ सुरुवात बन्यो ।
‘घाटा भयो भन्दैमा मेरो आँट मरेन,’ उनी भन्छिन् । २०७६ सालमा आत्मनिर्भर बन्ने उद्देश्यले ‘भागरथी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर उनले व्यावसायिक कृषि सुरु गरेकी थिइन् । सुरुवातमा पाँच कठ्ठा जमिनमा तरकारी खेती गरिन् । मेहनतको परिणाम पनि राम्रो आउन थाल्यो । आम्दानी बढ्दै गएपछि व्यवसाय विस्तार गर्ने सोच बनाइन् ।
त्यसपछि एक बिघा जमिन भाडामा लिएर ठूलो परिमाणमा तरकारी खेती सुरु गरिन् । तर उनले सोचेको जस्तो भएन । तरकारी उत्पादन हुने समयमा भारतबाट ठूलो परिमाणमा तरकारी भित्रिन थाल्यो । बेमौसमी तरकारीमा दैवी प्रकोपले क्षति पुर्यायो । बजार व्यवस्थापन सहज भएन । गाउँबाट बजारसम्म उत्पादन पुर्याउन पर्याप्त यातायात सुविधा पनि थिएन । अन्ततः मेहनतले कमाएको आम्दानी त परै जाओस्, लगानीसमेत डुब्यो ।

भागरथीले करिब सात लाख रुपैयाँ घाटा व्यहोर्नुपर्यो । तर उनले असफलतालाई आफ्नो यात्राको अन्त्य बन्न दिइनन् ।
तरकारी खेतीबाट घाटा भएपछि उनले व्यवसायको बाटो मोडिन् । यसपटक उनले गाईभैँसी पालन रोजिन् ।
दुईवटा गाई र तीनवटा भैँसीबाट सुरु भएको उनको पशुपालन व्यवसाय अहिले आम्दानीको मुख्य स्रोत बनेको छ । गाईभैँसी पालन सुरु गरेको करिब पाँच वर्षपछि व्यवसायले गति लिन थालेको भागरथी बताउँछिन् । सुरुमा दैनिक करिब ८० लिटर दूध बिक्री गर्थिन् । अहिले आफ्नै फार्ममा उत्पादन भएको दूध मात्र होइन, गाउँका अन्य किसानले उत्पादन गरेको दूधसमेत संकलन गरेर बजार पुर्याउँछिन् ।
अहिले दैनिक करिब १८० लिटर दूध बिक्री हुन्छ । दूध बिक्रीबाट मासिक करिब चार लाख बढी रुपैयाँको कारोबार हुने गरेको उनी बताउँछिन् । सबै खर्च कटाएर मासिक करिब एक लाख ८० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ ।
व्यवसायसँगै भागरथीको दैनिकी पनि बदलिएको छ । हरेक बिहान उनी आफैँ दूध लिएर बजार पुग्छिन् । ‘अहिले दूध बजारसम्म पुर्याउन आफ्नै साधन छ,’ उनी भन्छिन्, ‘हरेक बिहान ६/७ बजे अटो (विध्दुतीय) रिक्सा लिएर दूध बजार पुर्याउने गर्छु ।’
उनको मेहनतले व्यवसाय मात्र उभिएको छैन, परिवारको आर्थिक अवस्था पनि बदलिएको छ । उनको पाँच जना परिवारको खर्च धान्ने मुख्य आधार यही व्यवसाय बनेको छ । यही आम्दानीबाट उनले छोराको पढाइसँगै श्रीमानको उच्च शिक्षाको खर्चसमेत व्यवस्थापन गरिरहेकी छन् ।
उनका छोरा कक्षा २ मा निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमानले हालै स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । श्रीमानको उच्च शिक्षाका लागि आवश्यक खर्चसमेत यही व्यवसायको आम्दानीबाट जुटाएर काठमाडौं पठाउने गरेको भागरथी बताउँछिन् ।
उनका लागि व्यवसाय केवल आम्दानीको माध्यम होइन, परिवारको भविष्य निर्माण गर्ने आधार पनि हो ।
भागरथीको अनुभवमा काम सानो वा ठूलो हुँदैन । कामप्रतिको निरन्तरता र मेहनतले नै मानिसलाई सफलतातर्फ लैजान्छ । ‘काम सानो–ठूलो भनेर छुट्याउनु हुँदैन । दुःख नगरी केही हुँदैन । काम गर्दा घाटा भयो भन्दैमा काम गर्न छोड्नु हुँदैन,’ उनी भन्छिन्, ‘निरन्तर काम गरिरहने हो भने सफलता एक दिन अवश्य आउँछ ।’
तरकारी खेतीमा भएको सात लाखको घाटा सम्झिँदा उनलाई अझै पनि दुःख लाग्छ । तर त्यही घाटाले उनलाई अर्को बाटो रोज्ने हिम्मत पनि दियो ।
‘मैले तरकारी खेतीमा घाटा भयो भन्दैमा काम गर्न छोडेको भए आज यहाँसम्म पुग्न सक्ने थिइनँ,’ उनी भन्छिन् ।
भागरथीको कथा असफलताबाट डराउनेहरूका लागि एउटा सन्देश हो—घाटा अन्त्य होइन, नयाँ सुरुवातको अवसर पनि बन्न सक्छ ।
उनले ठूलो लगानीबाट होइन, दुई गाई र तीन भैँसीबाट नयाँ यात्रा सुरु गरिन् । आज त्यही यात्राले उनलाई आत्मनिर्भर बनाएको छ ।
कृषि र पशुपालनमा चुनौती नभएका होइनन् । बजारको समस्या छ, लगानीको जोखिम छ, उत्पादनमा प्राकृतिक प्रकोपको डर छ । तर चुनौतीकै बीच निरन्तर अघि बढ्ने हो भने सफलता सम्भव छ भन्ने उदाहरण भागरथीले प्रस्तुत गरेकी छन् ।
उनको जीवनको सिकाइ सरल छ—सफलताका लागि ठूलो लगानीभन्दा ठूलो आँट चाहिन्छ । त्यसपछि धैर्य र निरन्तर मेहनत ।
सम्बन्धित समाचार
ह्वात्तै घट्यो सुन–चाँदी मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
नेपाल आयल निगमको स्पष्टोक्ति : ग्यासको आपूर्ति नियमित छ, अभाव छैन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
हिजो घटेको सुनचाँदीकै भाउ आज बढ्यो, कतिमा भइराखेको छ कारोबार ?
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
सुन तोलामै ६ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?






