देउवा फिर्तीसँगै कांग्रेसमा नयाँ शक्ति संघर्ष

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती र सर्वोच्च अदालतले कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा पुनरावेदनको अनुमति दिएपछि कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ ।

स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवा बिहीबार काठमाडौं फर्कने तयारीमा छन् । देउवालाई स्वागत गर्न उपत्यका तथा आसपासका जिल्लाबाट समर्थक कार्यकर्ता विमानस्थलमा भेला हुने तयारी भइरहेको देउवा निकट नेताहरूले बताएका छन् ।

देउवाको आगमनसँगै कांग्रेसको आन्तरिक राजनीति र संगठनात्मक वैधानिकताको विवाद फेरि सतहमा आएको छ। विशेषगरी सर्वोच्च अदालतले यसअघि भएको फैसलाविरुद्ध पुनरावेदनको अनुमति दिएपछि देउवा पक्ष उत्साही देखिएको छ ।

तत्कालीन सभापति देउवा विदेशमा रहेका बेला पार्टीभित्रको इतर तथा युवा पक्षले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको थियो। तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूको अग्रसरतामा भएको विशेष महाधिवेशनबाट थापा सभापति घोषित भएका थिए । निर्वाचन आयोगले समेत उक्त नेतृत्वलाई मान्यता दिएको थियो ।

त्यसपछि देउवा पक्ष कानुनी र राजनीतिक दुवै मोर्चामा रक्षात्मक अवस्थामा पुगेको थियो। तर निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्चको अघिल्लो फैसलाविरुद्ध देउवा तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले कानुनी चुनौती कायम राखेका थिए ।

सर्वोच्चको पछिल्लो आदेशले अघिल्लो फैसलालाई पुनरावेदनमार्फत पुनः परीक्षणको बाटो खोलेपछि कांग्रेसको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद फेरि निर्णायक बनेको हो । यसले विशेष महाधिवेशनबाट बनेको नेतृत्वको वैधानिकतामाथि समेत प्रश्न उठ्ने सम्भावना बढाएको देउवा पक्षका नेताहरुको निष्कर्ष छ ।

देउवा पक्षीय नेताहरूका अनुसार स्वदेश फर्किएपछि उनले कानुनी विशेषज्ञ, जिल्ला तहका पुराना नेता तथा विशेष महाधिवेशनपछि संगठनबाट किनारा लगाइएका संस्थापन पक्षीय नेता–कार्यकर्तासँग छलफल गर्ने तयारी गरेका छन्। सर्वोच्चको पछिल्लो आदेशलाई आधार बनाएर संगठनमा आफ्नो पक्षको उपस्थिति बलियो बनाउने रणनीति देउवा पक्षले बनाइरहेको छ ।

देउवासँग प्रतिस्पर्धामा रहेका मध्यमार्गी नेताहरू पनि उनको पक्षमा उभिन सक्ने आकलन कांग्रेसभित्र हुन थालेको छ । डा. शशांक कोइरालालगायत नेताहरूको सम्भावित भूमिकाले आगामी शक्ति सन्तुलनलाई थप प्रभाव पार्ने देखिएको छ ।

जेनजी आन्दोलनका क्रममा उत्पन्न राजनीतिक संकट, देउवाको विदेश प्रस्थान र त्यसपछि भएको विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक संरचनामै ठूलो फेरबदल ल्याएको थियो । अब सर्वोच्चको पुनरावेदन प्रक्रियासँगै देउवाको स्वदेश फिर्तीले उक्त विवादलाई पुनः राजनीतिको केन्द्रमा ल्याएको छ ।

कांग्रेसभित्र अब मुख्य प्रश्न विशेष महाधिवेशनबाट बनेको नेतृत्व कायम रहन्छ कि पूर्वसभापति देउवा पक्ष पुनः वैधानिक शक्तिकेन्द्रका रूपमा स्थापित हुन्छन् भन्ने बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

epaper

ताजा समाचार

कमान्डमा जान लागेकाहरुलाई आईजीपी पौडेलले भने - कसैलाई प्रभावमा पारी उम्किन्छु भन्ने सोच र विचार त्यागिहाल्नुस्