काठमाडौं । मिनी संसद मानिने प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका लागि गरिएको पोशाक खरिदमा भएको घोटाला प्रकरणले बबण्डर मच्चिएको छ । समितिको बुधबारको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका हुन् ।
भ्रष्टाचारको विषयमा सुनारले आफ्ना प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार गरेपछि पोशाक घोटाला प्रकरणले नयाँ बहस सिर्जना गरेको छ । सुनारले पोशाक खरिद घोटाला प्रकरणसंग जोडेर प्रहरी महानिरिक्षकलाई पदबाट हटाएर छानवीन गर्नुपर्ने माग गरेका थिए ।
प्रहरीको पोशाक खरिद लगायतका अनियमिततामा बहालवाला उच्च अधिकारीलाई राजीनामा गर्न वा पदबाट हटाएर छानवीन गर्नुपर्ने माग गर्दै पूर्व गृहमन्त्री ओमप्रकाश अर्याल, सशस्त्रका तत्कालीन आइजीपी राजु अर्याललाई तत्कालै छानवीन सुरु गर्नुपर्ने सांसद सुनारले माग राखेका थिए ।
समिति बैठकमा रास्वपा सांसद सुनारले पोशाक खरिदमा भ्रष्टाचार भएको तथ्य सहित समितिमा परेका उजुरीहरूको वैधानिकतामाथि प्रश्न उठाएर सुशासनमाथि आक्रमण भएको र आरोपितहरूको पक्षपोषण गरिएको भन्दै आपत्ति जनाएका थिए । सुनारले भ्रष्टाचार जस्तो जघन्य अपराधको विषयमा छलफल भइरहँदा सांसदहरू नै आरोपितको प्रवक्ता बनेर प्रस्तुत भएको भन्दै वैठक बहिष्कार गरेका थिए ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि गरिएको पोशाक तथा निर्वाचन प्रहरीका लागि गरिएको चुस्ता, बुट तथा लाठीमा भ्रष्टाचार भएको भन्दै समितिमा बेनामे उजुरी परेका थिए । भ्रष्टाचारको सूचना बेनामे उजुरीबाट पनि दिन सक्ने कानुनमा भएको व्यवस्था र राज्यको सुशासनप्रतिको प्रतिबद्धतामाथि सांसदहरुबाटै आक्रमण भएको भन्दै सांसद सुनारले वैठक बहिष्कार गरेका थिए ।
सांसद सुनारले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्ध’bout गम्भीर प्रश्न उठाएका हुन् । उनले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेको दाबी गरे ।
छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन सांसद सुनारले वर्तमान गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने वा उनीहरूलाई निलम्बन गरिनुपर्ने माग राखे । सांसद सुनारले तत्काल संसदीय वा अन्य उपयुक्त छानबिन समिति गठन गरी ठेकेदार र प्रहरी अधिकारीहरूको कल डिटेल र मोबाइल नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
समितिको वैठकमा नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक बन्दोबस्तीका सामानमा अनियमितता भएको दाबी गरे । खरिदमा कहाँ कहाँ ढिलाइ भएको छ, कति अनियमितता छ छानवीन गर्ने निकायले गरोस् तर खरिदमा देखिएको चरम ढिलाइ र प्रक्रियागत अन्योल आपत्तिजनक छ । समितिको बैठकमा बोल्दै सांसद ठगुन्नाले सुरक्षा निकायका जवानहरूले समयमै पोसाक र जुत्ता नपाउनु दुर्भाग्यपूर्ण भएको बताए ।
सांसद ठगुन्नाले खरिद प्रक्रियामा हुने कानूनी र प्राविधिक उल्झनका कारण तल्लो तहका सुरक्षाकर्मीहरू मर्कामा परेको उल्लेख गरे । उनले खरिद प्रक्रियामा निश्चित समूहलाई लक्षित गरी स्पेसिफिकेसन तयार पारिएको भन्ने गुनासोप्रति ध्यानाकर्षण गराउँदै यसको सुक्ष्म अध्ययन हुनुपर्ने माग गरे ।
उनले भने, ‘टेण्डर प्रक्रिया लामो समयदेखि मुद्दामै अल्झिएका कारण फिल्डमा खटिने जवानहरूले सामान पाउन सकेका छैनन् । एउटा सामान्य सुरक्षाकर्मीले लगाउने कपडा र जुत्ता खरिद गर्न वर्षौँ लाग्ने र त्यसको निराकरण नहुने हो भने राज्यका अन्य क्षेत्रको अवस्था के होला ?
समिति वैठकमा सांसद सुनारले भने ‘पीडितले आफ्नो नाम गोप्य राख्न आग्रह गर्दै बेनामी उजुरी दिएका छन् । तर यहाँ आरोपितहरूको संरक्षण गर्ने र प्रश्न उठाउने सांसदमाथि नै खनिने काम भइरहेको छ । जुनसुकै व्यक्तिमाथि भ्रष्टाचारको आरोप लागेपछि छानबिन नसकिँदासम्म सम्बन्धित व्यक्ति पदमा बहाल रहनु हुँदैन । यदि यहाँ भ्रष्टाचारको विरुद्ध बोल्दा अपमानित हुनुपर्छ र कुरा गुमराहमा राख्न खोजिन्छ भने म यो समितिमा बस्दिनँ ।’
समिति वैठकमा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीविद्ध आक्रामक रुपमा प्रस्तुत भई व्यक्तिगत आरोप लगाउन थालेपछि समितिका सभापति भरतबहादुर खड्काले संसदीय मर्यादा कायम राख्न आग्रह गर्दै रुलिङ गरेका थिए । सभापतिले भने, ‘समितिमा बोलाइएका नेपाल सरकारका सचिव र प्रहरी महानिरीक्षक लगायतका पदाधिकारीहरूलाई मर्यादित व्यवहार गरिनुपर्छ । कानूनी रूपमा प्रमाणित नभएसम्म कसैलाई पनि दोषी करार गर्न मिल्दैन । यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधानको मर्म विपरीत हुन्छ ।’ सभापतिको यस्तो अभिव्यक्तिपछि सांसद सुनारले सभापतिलाई भ्रष्टाचारीको प्रवक्ता भन्दै आक्रोसित भएर वैठक छाडेर हिँडेका थिए ।
रास्वपा सांसद सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको माग गरेका थिए । महानिरिक्षकको घरको चोरीको घटना सार्वजनिक हुँदा चोरी भएको रकमको स्रोतसम्म कुरो पुग्ने भएपछि ढाकछोप गरिएको भन्ने आरोप सांसद सुनारले लगाएपछि समिति सभापति खड्का र अन्य सांसदहरुले पनि निराधार आरोप नलगाउन भन्दै सांसद सुनारलाई सम्झाएका थिए ।
सम्बन्धित समाचार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेलाई सरकारले नछाड्ने
७ करोड २५ लाख बाँड्ने सरकारको निर्णय गैरकानुनी !
आज एक अमेरिकी डलर किन्न तिर्नुपर्छ १५२ रुपैयाँ ९१ पैसा
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो, चाँदी पनि बढ्यो
करदाता प्रोत्साहन उपहार कार्यक्रम : २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँको बम्पर पुरस्कार
पाइपलाइनबाट डिजेल, पेट्रोल आउन थालेपछि चोरीको निसाना ‘हवाइ इन्धन’
फेसबुक, टिकटक र युट्युबको आम्दानीमा ५ प्रतिशत कर
मधेश प्रदेशमा प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्वतयारी तीव्र






