रेसुङ्गा बहुमुखी क्याम्पस ऋणमुक्त

गुल्मी । आर्थिक संकटमा फसेको रेसुङ्गा बहुमुखी क्याम्पस ऋणमुक्त भएको छ । क्याम्पसको आन्तरिक तथा बाह्य स्रोत एवं रेसुङ्गा नगरपालिकाबाट अनुदान प्राप्त गरेपछि क्याम्पस ऋणमुक्त भएको हो । क्याम्पसले चार बर्षको अवधिमा चार करोड सात लाख ८० हजार चार सय ३८ रुपँैया ऋण तिरेको छ ।

जसमा क्याम्पसको आन्तरिक तथा बाह्य स्रोतबाट दुई करोड ५६ लाख ४५ हजार चार सय ३८ रुपैँया र नगरपालिकाबाट एक करोड ५१ लाख ३५ हजार व्यवस्थापन गरिएको छ । क्याम्पसबाट आ.व. २०७८–७९ देखि २०८२–८३ सम्म अवकाश लिएका प्राध्यापक तथा कर्मचारीहरुलाई भुक्तानी गर्नुपर्ने रकम, उपचार, उपदान र संञ्चित बिदाको रकम क्याम्पसको ऋण रहेको क्याम्पस प्रमुख सूर्य उपाध्ययले जानकारी दिए ।

आर्थिक संकटकाल घोषणा
क्याम्पस चरम आर्थिक संकटमा परेपछि क्याम्पस संचालक समितिले ०७९ साउन ४ गते छ महिनाका लागि आर्थिक संकटकाल घोषणा गरेको थियो । उक्त समयमा प्राध्यापक तथा कर्मचारीहरुले पाउने तलव बाहेकका अन्य सुविधाहरु केही समयका लागि स्थगित गरिएको थियो । उक्त अवधिमा प्रध्यापक तथा कर्मचारीहरुले पाउनुपर्ने बाँकी सात महिनाको तलब एक करोड ३३ लाख ४१ हजार दुई सय ७९ रुपैँया रकम क्याम्पसलाई दीर्घकालिन दायित्वमा रुपान्तरण गर्ने निर्णय गरिएको थियो ।

त्यसैगरी ०७९ भदौ २६ गतेदेखि लागु हुनेगरी सात प्राध्यापक र दुई कर्मचारी गरी नौ जना र माघ १ गतेदेखि लागु हुनेगरी चारजना कर्मचारीलाई अवकाश दिने निर्णय गरेको थियो । उक्त निर्णयबाट क्याम्पसको मासिक रुपमा हुने सात लाख ११ हजार नौ सय १८ रुपैँया खर्च कटौती भएको क्याम्पसले जनाएको छ ।

क्याम्पसको आर्थिक भार कम गराउन पूर्णकालिन प्रध्यापकले अध्यापन गराउने बिषयमा १० जनाभन्दा कम विद्यार्थी भएमा उक्त बिषय कोर्ष करारमा अध्यापक गराउने निर्णय गरिएको, प्रध्यापक तथा कर्मचारीहरुले खाइपाई आएको प्राज्ञिक भत्ता, महंङ्गी भत्ता कटौती गर्ने निर्णय गरिएको थियो क्याम्पस संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए ।

क्याम्पसलाई आर्थिक संकटकालबाट मुक्त गर्नका लागि रेसुङ्गा नगरपालिकाले विगत दुई बर्षदेखि स्नातक तह प्रथम बर्षमा भर्ना हुने विद्यार्थीहरुको लागि पाँच हजार रुपँैया अनुदान समेत उपलब्ध गराउदैँ आएको छ । क्याम्पसको दीगोपनाका लागि नगरपालिकाले रेसुङ्गा पार्कको टिकटबाट प्राप्त हुने रकमबाट प्रति टिकट रु. ५ रुपैँयाका दरले क्याम्पसलाई उपलब्ध हुनेगरी व्यवस्था मिलाइएको छ ।

यसबाट गत आर्थिक बर्षमा मात्रै एक लाख ६० हजार रुपैँया क्याम्पसलाई प्राप्त भएको छ । क्याम्पसमा कोभिड समयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एक करोड ३३ लाख ४१ हजार दुई सय ७९ रुपँैँया पनि पाउनुपर्ने रकम बाँकी छ । तर कोभिडको समयमा विद्यार्थीसँग रकम नलिइएको र क्याम्पसको आर्थिक संकटलाई मध्यनजर गर्दै उक्त रकम दीर्घकालिन दायित्वमा रुपान्तरण गरिएको थियो ।

संचालक समिति अध्यक्ष भलामीले उक्त रकम प्रदान गर्न मुस्किल पर्ने बताए । ‘कोभिड बाहेकको सबै रकम भुक्तान गरेकोले क्याम्पसलाई ऋणमुक्त भएको घोषणा गरेका छौं ।’ उनले भने । रेसुङ्गा नगरपालिकाले पनि यसै बर्षदेखि लागु हुनेगरी स्नातकोत्तर तह प्रथम सेमेस्टरका लागि समेत भर्ना शुल्कमा अनुदान दिने नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

‘चार बर्ष पहिले सबैले क्याम्पस सकियो भन्थे, अहिले क्याम्पस पुरानै लयमा फर्किएको छ ।’ उनले भने, ‘त्यसबेला संचालक समिति र नगरसँग हिम्मत बाँकी थियो, क्याम्पसलाई माथि उठाएरै छाड्यौं ।’ उनले नगरपालिकाबाट क्याम्पसलाई प्रदान गरिदैँ आएको बजेटलाई निरन्तरता दिने पनि प्रतिवद्धता जनाए ।

गुल्मीकै शैक्षिक धरोहरको रुपमा चिनिने रेसुङ्गा बहुमुखी क्याम्पस २०३९ सालमा स्थापना भएको हो । यस क्याम्पसमा हाल सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थापनाकालदेखि कक्षा ११ देखि संचालन हुदैँ आएको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरका विभिन्न शंकायका बिषयहरु अध्ययन–अध्यापन हुदैँ आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी