खोटाङ । ३२ वर्षसम्म भाडाको घरमा गुजारा गर्दै आएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित दोबेला प्रहरी चौकीले अन्ततः आफ्नै कार्यालय भवन पाएको छ । वि.सं. २०५१ सालमा स्थापना भएदेखि नै वार्षिक १८ हजार रुपैयाँ भाडा तिरेर स्थानीयको घरमा सेवा प्रवाह गर्दै आएको उक्त चौकी भदौको पहिलो हप्तादेखि आफ्नै कार्यालय भवनबाट सञ्चालनमा आएको छ ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले उपलब्ध गराएको बजेटबाट उक्त भवन निर्माण गरिएको हो । मूल्यअभिवृद्धि करसहित ४० लाख ७८ हजार ३९० रुपैयाँ लागतमा घेराबारसहितको उक्त कार्यालय भवन बासु कन्ट्रक्सन एण्ड सप्लायर्सले निर्माण गरेको हो ।
वि.सं. २०८२ चैत–१७ मा सम्झौता भएको उक्त निर्माण कार्य तोकिएकै समयमा असार–१५ गते सम्पन्न भएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालले बताए । गत शुक्रबार कोशी प्रदेशका पूर्वमन्त्री भूपेन्द्र राईले रिबन काटेर उद्घाटन गरेको यस भवनमा जम्मा नौवटा कोठा रहेका छन् ।
महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष, कार्यालय प्रमुखको कक्ष, ब्यारेक र भान्छा घरसमेत भवनमा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । भवन निर्माणका लागि आवश्यक तीन रोपनी १४ आना जग्गा स्थानीयवासीले चन्दा उठाएर निःशुल्क उपलब्ध गराएका थिए ।माओवादी सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको उक्त चौकी वि.सं. २०६४ मा पुनः सोही स्थानमा स्थापना भएको थियो ।
लामो समयदेखि साँघुरो भाडाको घरमा गुजारा गर्दै आएको प्रहरी चौकी अब आफ्नै भवनमा सरेपछि सेवा प्रवाह थप सहज हुने प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
गछिया युवा समाजको वार्षिकोत्सवमा ६० विद्यार्थीलाई शैक्षिक सामग्री
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक, विद्यार्थी पुरस्कृत, चारजना सम्मानित
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने अभियान सुरु
मोटरसाइकलको ठक्करबाट साइकल चालकको ज्यान गयो
अलैँची रोप्न व्यस्त इलामका किसान
विद्यार्थीलाई आईपीओमा जोड्दै इलामको रोङ
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’






