दलित उज्यालो कार्यक्रमः पैसा तिरेको वर्ष बित्दा पनि पाएनन् विद्युत् मिटर

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाले विद्युत् मिटरका लागि रकम भुक्तानी गरेको एक वर्ष बितिसक्दा पनि स्थानीयले मिटर पाउन सकेका छैनन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखको प्रक्रियागत ढिलाइका कारण ‘दलित उज्यालो कार्यक्रम’अन्तर्गत मिटरका लागि आवेदन दिएका सेवाग्राही मिटर पाउनबाट वञ्चित भएका हुन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को असारमै नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखलाई मिटरबापतको रकम भुक्तानी गरिसकेको जनाएको छ । तर, हालसम्म ४५८ मिटरमध्ये केही सेवाग्राहीले मात्रै मिटर पाएका छन् ।

गाउँपालिकाको गोश्वारा भौचरअनुसार २०८२ असार ३ गते नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखको खातामा रकम जम्मा भएको देखिन्छ । दलित उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका सातवटै वडाबाट संकलन भएका निवेदनका आधारमा ४ सय ५८ वटा मिटरका लागि गाउँपालिकाले १४ लाख ९ हजार ५ सय ७६ रुपैयाँ एकमुष्ट विद्युत् कार्यालयको धरौटी खातामा जम्मा गरेको थियो ।

मिटर वितरणमा भएको ढिलाइ’bout सञ्चारकर्मीले गत बुधबार नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखका कार्यालय प्रमुख इन्जिनियर टंकराज गिरीसँग प्रश्न गरेका थिए । गिरीले रकम कार्यालयको काउन्टरमा नभई धरौटी खातामा जम्मा भएकाले प्रक्रिया पूरा गर्न समय लागेको बताए ।

‘असारको अन्तिममा भुक्तानी गर्नुपर्ने रकम कार्यालयको काउन्टरमा नभई धरौटी खातामा भुक्तानी भएकोले केही प्रक्रियागत रूपमा मिटर वितरणमा ढिलाइ भएको हो,’ गिरीले भने ।

उनका अनुसार कागजपत्र ढिलो प्राप्त हुनु र कागजपत्र प्राप्त भएको समयमा देशभर नै मिटरको अभाव हुनुले पनि वितरण प्रभावित भएको हो । हालसम्म वडा नम्बर १ र २ का केही सेवाग्राहीले मिटर पाएका छन् । वडा नम्बर २ का ३४ जनाले मिटर पाइसकेको वडाध्यक्ष दीपक रावतले जानकारी दिए ।

गिरीका अनुसार प्राधिकरणले अहिले १ सय वटा मिटर गाउँपालिकामा पठाइसकेको छ । आवश्यक कागजपत्र पूरा भएका सेवाग्राहीलाई थप मिटर पठाउने तयारी भइरहेको उनले बताए । ‘हामीले १ सय वटा मिटर पालिकामा पठाइसकेका छौँ । यो हप्तामा सम्पूर्ण कागजपत्र पुगेकालाई थप मिटर दिने तयारी छ,’ गिरीले भने, ‘गाउँमा पुगेका मिटर जडान भएपछि थप २ सय ५८ मिटर पठाउने योजना छ ।’

अधुरा कागजपत्र भएका सेवाग्राहीको आवश्यक कागजपत्र उपलब्ध गराइदिन गाउँपालिकालाई अनुरोध गरिएको उनले बताए ।

मिटर कार्यालयमा नभएर मात्रै वितरण रोकिएको नभई गाउँपालिकाले रकम धरौटी खातामा जम्मा गरेपछि केन्द्रीय कार्यालयबाट अनुमति लिनुपर्नेलगायतका प्रक्रियागत कारण रहेको गिरीको भनाइ छ । अन्य पालिकाले मिटर पाइसकेको भए पनि भगवतीमाईमा केही प्राविधिक कारणले ढिलाइ भएको उनले बताए ।

तार घरमाथि, तर छैन बत्ती
भगवतीमाई गाउँपालिकाका विभिन्न बस्तीमा घरमाथिबाट विद्युत्को तार पुगेको छ । तर, मिटर नहुँदा दलित समुदायका कतिपय घरमा अझै बिजुली बलेको छैन ।

दलित सञ्जालका अध्यक्ष विमल विकले लामो समयदेखि मिटरका लागि आवेदन दिए पनि सेवाग्राहीले मिटर पाउन नसकेको बताए । ‘पालिकामा जाँदा सबै प्रक्रिया पूरा गरेर विद्युत् कार्यालयमा कागजपत्र बुझाएको भनिन्छ । विद्युत्ले मिटर नपठाउँदा नागरिक आक्रोशित भएर हामीसँग गुनासो राख्ने गरेका छन्,’ उनले भने ।

वडाध्यक्ष रावतले निरन्तरको प्रयासपछि वडा नम्बर २ का ३४ जनाको घरमा मिटर जडान गर्न सफल भएको बताए ।

भगवतीमाईमा विद्युत् विस्तारको समस्या नयाँ भने होइन । सामुदायिक विद्युतीकरणमार्फत गाउँमा विद्युत् विस्तार गरिएको थियो । पछि नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएपछि विद्युत् विस्तारमा समस्या देखिएको स्थानीयको भनाइ छ ।

भगवतीमाई–४ का लछिराम उपाध्यायले विद्युत् विस्तार छिट्टै हुने आशामा दुई वर्षअघि नै घरमा मिटर जडान गरेका थिए । तर, दुई वर्ष बितिसक्दा पनि उनको घरमा बिजुली बलेको छैन । बिजुली नबले पनि मिटर जडान गरेपछि लाग्ने न्यूनतम महसुल भने उनले नियमित तिर्दै आएका छन् ।

जिल्लामा विद्युत् विस्तारका लागि प्रदेश कार्यालयले ठेक्का लगाइसकेको गाउँपालिकाले जनाएको छ । अधुरो विद्युत् विस्तारको काम अघि बढेपछि गाउँमा नियमित विद्युत् सेवा पुग्ने स्थानीयको आशा छ ।

‘दलित उज्यालो कार्यक्रम’मार्फत निःशुल्क मिटर उपलब्ध गराउने योजना बनाएर गाउँपालिकाले रकमसमेत समयमै जम्मा गरे पनि सेवाग्राहीले भने अझै मिटरका लागि पर्खिनुपरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरा ल्याइएका १०२ शवमा ४ मात्र सनाखत