दोस्रो चरणमा चीनले नेपाल पठाएको राहत सामग्रीमा के के छ ?

काठमाडौं । चीन सरकारले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रका लागि थप आपत्कालीन मानवीय सहायता सामग्री पठाएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार दिउँसो दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित सेन्जेनबाट राहत सामग्री बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको हो।

चिनियाँ जनमुक्ति सेना वायुसेनाको वाई–२० ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदैछ। सेन्जेनबाट पाँच जना चिनियाँ विशेषज्ञसमेत सोही विमानमा नेपाल आएका छन्। उनीहरूले नेपालमा सञ्चालन हुने उद्धार कार्यमा सहभागी हुने स्थानीय सञ्चारमाध्यम एसजेडटीभी न्युजले जनाएको छ।

यो सामग्री नेपालमा आएको बाढीपहिरोपछि चीनले उपलब्ध गराउँदै आएको थप आपत्कालीन मानवीय सहयोगको दोस्रो खेप हो। चिनियाँ वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार करिब ५.८ टन तौल रहेको उक्त खेपमा तत्काल आवश्यक पर्ने पानी शुद्धीकरण तथा प्रकाश उपकरण, आनुवंशिक परीक्षण उपकरण र ड्रोन समावेश छन्।

चिनियाँ विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय, भन्सारको सामान्य प्रशासन तथा चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीबीचको समन्वयमा राहत सामग्री तत्काल जुटाएर रातारात विमानस्थल पुर्‍याइएको थियो। उक्त सामग्री मंगलबार साँझ नेपाल आइपुग्ने अपेक्षा गरिएको जनाइएको छ।

सेन्जेन बाओआन विमानस्थल भन्सार कार्यालयका एक अधिकारीका अनुसार राहत सामग्रीका लागि तत्काल ‘ग्रीन च्यानल’ खोलिएको थियो। सामग्री व्यवस्थापनका लागि छुट्टै कर्मचारी परिचालन गर्नुका साथै कागजातको अग्रिम समीक्षा र निरीक्षण प्रक्रिया सरल बनाइएको थियो।

यसबाट राहत सामग्रीको छिटो निरीक्षण तथा भन्सार प्रक्रिया पूरा गरी समयमै सेन्जेनबाट पठाउन सम्भव भएको र विपद्पीडित क्षेत्रमा जतिसक्दो चाँडो पुर्‍याउन सहयोग पुगेको अधिकारीले बताए।

राहत सामग्रीको सुरक्षा जाँच, लोडिङ–अनलोडिङ तथा प्यालेट व्यवस्थापनका लागि सेन्जेन विमानस्थलले विशेष कार्यदलसमेत गठन गरेको थियो। विमानस्थलको सञ्चालन नियन्त्रण केन्द्रका अधिकारीका अनुसार सामग्री विमानस्थलमा आइपुग्नेबित्तिकै प्राथमिकताका साथ लोड गर्न मिल्ने छुट्टै प्रवेशमार्गको व्यवस्था गरिएको थियो। यसले सामग्रीको ढुवानीलाई छिटो र सहज बनाउन सहयोग गरेको जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

क्याम्ब्रिच इग्लिस लिडरसिप कन्फ्रेन्स काठमाडौंमा