जुन पर्खालमा आमाका सपना प्रतीक्षारत छन्

बझाङ । दुर्गाथली गाउँपालिकाको मूलगेट पस्नेबित्तिकै पर्खालले ध्यान तान्छ । पर्खालमा रङीन चित्र छन् । केही अनुहार परिचित छन् भने केही इतिहासका पुराना पानाबाट झिकेर भित्तामा टाँसिएजस्ता लाग्छन् । कतै शहीदका तस्बिर छन्, कतै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जिल्ला र देशको नाम चिनाएका खेलाडीका, कतै स्थानीय संस्कृति, भेषभूषा र परम्पराका चित्र छन् त कतै मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका अनुहार देखिन्छन् ।

दुर्गाथलीको पर्खाल आज पनि उभिएको छ । घाम लाग्छ, पानी पर्छ, हावा चल्छ र समयसँगै रङ फिका हुँदै जान्छ । पर्खालमा टाँसिएका तस्बिर अझै बोलिरहेजस्ता लाग्छन् । ईश्वर थापा, दीपेन्द्र थापा, भिमराज धामी, शुभाषकुमार बोहराहरू बोलिरहेझै लाग्छन्

पहिलो नजरमा गाउँपालिका परिसरलाई आकर्षक बनाउन सजाइएको सरकारी पर्खालजस्तोमात्र लाग्छ, केहीबेर त्यहीँ उभिएर ती तस्बिर नियाल्न थाल्ने हो भने पर्खालको अर्थ विस्तारै बदलिन थाल्छ । त्यहाँ केवल रङ र सिमेन्टमात्रै छैनन्, त्यहाँ गाउँकै इतिहास छ । एउटा पुस्ताको संघर्ष, परिवारका पीडा, युवाका सफलता, संस्कृति तथा पहिचान अनि ती सबैबीच अधुरा सपना छन् ।

त्यही पर्खालअगाडि कहिलेकाहीँ एउटी आमा आएर उभिन्छिन् । अरूका लागि पर्खालमा टाँसिएका तस्बिर इतिहासका पात्र हुन सक्छन्, उनका लागि भने त्यहाँ टाँसिएको एउटा अनुहार आफ्नै जीवनको सबैभन्दा ठूलो अभाव हो । उनी हुन् दुर्गाथली गाउँपालिका–१ की ७२ वर्षीया सूर्यकला थापा, जसका लागि गाउँपालिकाको त्यो पर्खाल सरकारी भवनको बाहिरी भित्ता होइन, छोरा ईश्वरसँग जोडिएको एउटा भावनाको घर बनेको छ । त्यहाँ पुगेपछि उनी छोराको तस्बिर हेर्छिन्, केहीबेर टोलाउँछिन् र सायद मनभित्रै छोरासँग कुरा गर्छिन् । घरको ढोकाबाट फर्केर नआएको छोरा त्यही पर्खालमा भए पनि उनको मनमा अझै कतै जीवित छ ।

000
ईश्वर थापा २१ वर्षको उमेरमा माओवादी आन्दोलनमा लागेका थिए । त्यो समय देश सशस्त्र द्वन्द्वको चपेटामा थियो । गाउँका बाटामा त्रास थियो, गाउ“ले आफ्नै छिमेकीसँग पनि सशंकित भएर बोल्थे र एउटै गाउँका परिवार राजनीतिक विचारका आधारमा विभाजित थिए । कतिपय ठाउँमा दाजुभाइ नै फरक पक्षमा उभिएका थिए । बन्दुकको आवाजले गाउँको सामान्य जीवनलाई असामान्य बनाएको त्यो समय आमाबुबाका लागि आफ्ना छोराछोरीलाई सुरक्षित राख्नु नै सबैभन्दा ठूलो चिन्ता थियो ।

सूर्यकलाका लागि पनि त्यही चिन्ता थियो । उनले छोरालाई आन्दोलनमा नजान सम्झाइन्, रोक्न खोजिन्, बाटो छेकिन्, रोइन्, कराइन्, तर ईश्वरको निर्णय बदलिन सकेन । ‘देशमा अशान्ति थियो,’ उनी सम्झिन्छिन्, ‘मैले धेरै रोकें, बाटो छेकेर रोएँ, कराएँ । तर उसले भन्यो –आमा, तपाईजस्ता धेरै आमाले रुन नपरोस् भनेर यो विद्रोह गर्नुपरेको हो ।’

छोराको त्यो जवाफ आमाका लागि तत्काल बुझ्न गाह्रो थियो होला, ईश्वर भने आफ्नो बाटो हिँडे । त्यसपछि उनी घरबाट निस्किए र सूर्यकलाले उनलाई सामान्य बिदाइ गरेकी थिइन् । त्यो बिदाइ नै जीवनको ‘अन्तिम बिदाइ बन्ने छ’ भन्ने उनलाई के थाहा ? २०६० सालमा रोल्पामा सरकार पक्ष र माओवादीबीच भएको भिडन्तमा ईश्वरको मृत्यु भयो, परिवारले उनको मृत्युको खबर चार महिनापछिमात्रै थाहा पायो । चार महिनासम्म एउटा आमाले छोराको खबरको प्रतीक्षा गरिन्, सायद कतैबाट फर्किएर आउने आशा गरिन्, अन्ततः आएको खबर छोराको आगमनको थिएन, उनको मृत्युको थियो ।

देशमा धेरै कुरा बदलियो । द्वन्द्व सकियो, शान्ति प्रक्रिया अघि बढ्यो, राजनीतिक व्यवस्था बदलियो र गणतन्त्र स्थापना भयो । देश बदलिँदै जाँदा सूर्यकलाको जीवनमा भने एउटा कुरा बदलिन सकेन– छोराको प्रतीक्षा । ‘मलाई आजसम्म पनि छोरा शहीद भएको पत्यार लाग्दैन,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ ढोकाबाट छिरेर आउला जस्तो लाग्छ । सँगै गएका अरू सबै फर्किए, मेरो छोरामात्रै फर्किएन ।’

उनका आँसु टिलपिलाउँछन् । उमेरले शरीर थकाएको छ, मनले भने अझै छोराको पाइला सुन्न छाडेको छैन । उमेर र समयले उनलाई बूढी बनायो, तर आमाको मनभित्र छोराको उमेर त्यहीँ रोकिएको छ, जुन उमेरमा ऊ घरबाट निस्किएको थियो । त्यसैले उनी अझै कहिलेकाहीँ पर्खालमा पुग्छिन् र तस्बिर हेर्छिन् । ‘अब मेरो उमेर पनि ढल्किसक्यो,’ उनी भन्छिन्, ‘सायद यो जुनीमा भेट नभए पनि अर्को जुनीमा भेट हुन्छ होला । म मरेर स्वर्गमा गएँ भने आमाछोराको भेट त्यहाँ त हुन्छ होला ।’ त्यसपछि उनी केही क्षण मौन हुन्छिन् । सायद केही पीडाका लागि शब्द पर्याप्त हुँदैनन् । केही अभाव यस्ता हुन्छन्, जसलाई सम्झनाले झन् गहिरो बनाउँछ र केही प्रतीक्षा यस्ता हुन्छन्, जसको अन्त्य मृत्युले पनि गर्दैन ।

एउटा पर्खाल, धेरै कथा
दुर्गाथली गाउँपालिकाले द्वन्द्वकालमा ज्यान गुमाएका स्थानीय शहीदका तस्बिर पर्खालमा राखेको छ । त्यहाँ ईश्वर थापासँगै शहीद दीपेन्द्र थापाको तस्बिर पनि छ । दीपेन्द्र २०५८ सालमा कैलाली बढाइपुरमा भएको भिडन्तमा मारिएका थिए । उनकी भाउजु भगवतीदेवी थापाका लागि शहीदको तस्बिर एउटा पुरानो सम्झनामात्र होइन, राज्यको जिम्मेवारीसँग जोडिएको प्रश्न पनि हो । उनका लागि शहीद घोषणा गरिनु महइभ्वपूर्ण भए पनि त्यत्तिमै राज्यको दायित्व पूरा हुँदैन ।

‘सरकारले शहीद घोषणा गर्नुमात्रै ठूलो कुरा होइन,’ उनी भन्छिन्, ‘परिवारलाई सम्मान र राज्य भएको अनुभूति दिलाउनुपर्छ ।’ शहीद पहिचान राजनीतिक विभाजनबाट होइन, उनीहरूले दिएको बलिदानबाट हुनुपर्ने उनको माग छ । ‘जनयुद्धका हुन् वा नयाँ पुस्ताको आन्दोलनमा ज्यान गुमाएका, राज्यले सबैलाई समान सम्मान दिनुपर्छ,’ उनी भन्छिन्, ‘बलिदानको रङ एउटै हुन्छ, त्यो रगतको रङ हो ।’ त्यही पर्खालमा द्वन्द्वकालमा ज्यान गुमाएका धौली विक, विक्रम धामी, कर्णबहादुर विक, कल्के जाग्री र बहादुर कडायतलगायतका तस्बिर छन् । त्यसमा पछिल्लो पुस्ताको आन्दोलनमा ज्यान गुमाएका दुर्गाथली–१ का भिमराज धामी र खप्तडछान्ना–७ का शुभाषकुमार बोहराका तस्बिर पनि थपिएका छन् ।

फरक समय, फरक परिस्थिति र फरक राजनीतिक सन्दर्भमा ज्यान गुमाएका यी अनुहारलाई एउटै पर्खालले एकै ठाउँमा उभ्याएको छ । उनीहरूबीच विचारका दूरी हुन सक्छन्, उनीहरूलाई सम्झनेको राजनीतिक बुझाइ फरक हुन सक्छ, मृत्युको पीडा र परिवारले भोगेको अभावमा त्यति ठूलो अन्तर हुँदैन । त्यसैले त्यो पर्खालले मौनरूपमा ‘ज्यान गुमाउनेले देखेको सपना के भयो ?’ भन्ने प्रश्न गरिरहेझैं लाग्छ ।

000
गाउँपालिका उपाध्यक्ष जनकबहादुर दौल्यालका अनुसार यो पर्खाल शहीदको स्मृतिस्थलमात्र होइन, स्थानीय इतिहास र पहिचानको अभिलेख पनि हो । ‘यो पर्खालमा हाम्रा इतिहासका विभिन्न पक्ष समेटिएका छन्,’ उनी भन्छन्, ‘नयाँ पुस्ताले आफ् नो ठाउँ, इतिहास र योगदान गर्ने मानिसहरूलाई चिन्नुपर्छ ।’ सायद यही कारण पनि पर्खाललाई तस्बिर राखिएको ठाउँ भनेरमात्रै हेर्न मिल्दैन । त्यो विगत र वर्तमानबीचको संवाद गर्ने ठाउँ हो, जहाँ एउटा पुस्ताले अर्को पुस्तालाई आफ्नो इतिहास देखाइरहेको छ र इतिहाससँगै एउटा जिम्मेवारी पनि छोडिरहेको छ ।

शहीदको पर्खालमा खेलाडीको गौरव
दुर्गाथलीको पर्खाल मृत्यु र पीडामात्र होइन । त्यहाँ जीवनका रङ पनि छन् । संघर्षपछि प्राप्त सफलताका कथा छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जिल्ला र देशको नाम चिनाएका खेलाडीका तस्बिर पनि त्यहाँ राखिएका छन् ।

भलिबल खेलाडी विशाल विक, दीपकराज जोशी, क्रिकेटर अनु कडायत तथा बिथ्थडचिर गाउँपालिकाका रविन्द्र ढाँटलगायत खेलाडीलाई सम्मानपूर्वक स्थान दिइएको छ । इतिहासका पात्र, शहीद, खेलाडी, स्थानीय संस्कृति, भेषभूषा र परम्परा सबै एउटै पर्खालमा देख्न सकिन्छ । एउटा अर्थमा हेर्दा पर्खालले समाजको इतिहासलाई एउटै कथामा बाँधेको छ । जहाँ युद्धमात्र छैन, संघर्षपछि आएको सफलता पनि छ ।

‘समाजको इतिहास युद्ध र मृत्युबाट बन्दैन । त्यसमा सिर्जना हुन्छ, उपलब्धि हुन्छ, संस्कृति हुन्छ, पहिचान हुन्छ र भविष्यप्रतिको आशा पनि हुन्छ,’ दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा भन्छन्, ‘देशमा जस्तोसुकै परिवर्तन आए पनि आफ्नो इतिहास बिर्सनु हुँदैन, इतिहास बिर्सिने समाजले आफ्नो अस्तित्व गुमाउँछ ।’ उनका लागि इतिहास पुस्तान्तरण विषय हो । ‘पुस्तान्तरण सम्पत्ति वा सत्तामात्रै होइन, इतिहासको पनि हुनुपर्छ,’ थापा भन्छन्, ‘इतिहास किताबर्म सीमित हुँदा समाज भावनाविहीन हुन्छ । जब इतिहास पर्खालमा बोल्न थाल्छ, नयाँ पुस्ताले आफ्नो माटो चिन्न थाल्छ ।’ दुर्गाथलीको पर्खाल त्यसैको एउटा उदाहरण बनेको छ । पर्खालले इतिहास देखाउने काममात्रै गरिरहेको छैन, इतिहास सम्झिएपछि वर्तमानतिर फर्केर हेर्न पनि बाध्य बनाइरहेको छ ।

परिवर्तन आयो, जीवन कति बदलियो त ?
नेपालले ठूलो राजनीतिक परिवर्तन देख्यो । राजतन्त्रबाट गणतन्त्रमा पुग्यो, एकात्मक शासनबाट संघीय संरचनामा गयो र सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आयो । यी परिवर्तनका लागि धेरै मानिसले संघर्ष गरे, धेरैले आफ्नो जीवन गुमाए र धेरै परिवारले आफ्ना प्रियजन गुमाए । त्यसैले आज जब ती परिवर्तनको उपलब्धि मापन गर्ने कुरा आउँछ, दुर्गाथलीको पर्खालमा टाँसिएका अनुहारले पनि ‘के ती परिवर्तनले आमनागरिकको जीवन पनि त्यति नै बदल्यो ?’ भन्ने प्रश्न सोधेजस्तो लाग्छ ।

शहीदले समानताको नेपाल चाहेका थिए, सम्मानको नेपाल चाहेका थिए, अवसर र रोजगारी भएको नेपाल चाहेका थिए, न्याय पाउने र आफ्नै देशमा भविष्य खोज्न सकिने नेपाल चाहेका थिए । आज पनि गाउँका धेरै युवाका हातमा रोजगारीको नियुक्तिपत्रभन्दा विदेश जाने कागज बढी देखिन्छ । कसैका हातमा पासपोर्ट, कसैका हातमा ऋणको कागज, कसैका आँखामा परिवारलाई सुख दिने सपना छ भने कसैका घरमा विमानस्थलबाट आउने फोनको त्रास छ ।

000
समाजसेवी अनिल रोकायाका अनुसार राजनीतिक व्यवस्था परिवर्तन भए पनि गाउँका धेरै परिवार अझै बिहान–बेलुकाको छाक जुटाउन संघर्ष गरिरहेका छन् । ‘गणतन्त्र आएको यति वर्ष बितिसक्दा पनि धेरै परिवारको जीवनमा आधारभूत परिवर्तन आउन सकेको छैन,’ उनी भन्छन् । उनको प्रश्न आर्थिक अवस्थासँगमात्रै जोडिएको छैन । यसको गहिराइमा ‘युवाले आफ्नो गाउँमै किन भविष्य देख्न सकेका छैनन् ? राजनीतिक व्यवस्था बदलियो, यदि आफ्नो भविष्य बनाउन एउटा युवा देश छोड्न बाध्य हुन्छ भने उसले परिवर्तनलाई आफ्नो जीवनमा कसरी महसुस गर्ने ?’ भन्ने प्रश्नले पर्खालमा टाँसिएका शहीदका तस्बिरलाई आज विदेश जाने तयारीमा रहेका युवाको पासपोर्टसँग जोडिदिन्छ ।

पर्खालमा शहीद, हातमा पासपोर्ट
दुर्गाथलीको पर्खालमा शहीदका तस्बिर छन् । त्यही पर्खालबाट केही परका गाउँमा आजका युवाका आँखामा अर्को यात्रा छ– परदेशको । हिजोका युवा देश बदल्ने सपना बोकेर घरबाट निस्किए, आजका युवा आफ्नो जीवन बदल्ने सपना बोकेर देशबाट निस्किरहेका छन् । हिजोको यात्राको गन्तव्य आन्दोलन थियो भने आजको यात्राको गन्तव्य खाडी, मलेसिया वा अन्य विदेशी सहर बनेका छन् । कारण फरक छन्, समय फरक छ, परिस्थिति फरक छन्, दुवै यात्राको केन्द्रमा उस्तै सपना छ– राम्रो जीवन र सुखी परिवार ।

आज विदेश जाने युवाको सपना पनि सानो हुँदैन । कसैले घर बनाउने सपना बोकेको हुन्छ, कसैले ऋण तिर्ने, कसैले भाइबहिनी पढाउने, कसैले छोराछोरीको भविष्य सुरक्षित गर्ने त कसैले आमाबुबाको औषधि र उपचार खर्च जुटाउने सपना बोकेको हुन्छ । हरेक सपना घरसम्म फर्किन्छ भन्ने हुँदैन । कतिपय सपना परदेशमै रोकिएर बाकसभित्र फर्किन्छन् ।

000
बझाङ थलारा गाउँपालिका–९ का कृष्णबहादुर खड्का त्यस्तै एउटा कथाका पात्र हुन् । उनी पनि हजारौं नेपाली युवाजस्तै खाडी मुलुक पुगेका थिए । परिवारका लागि राम्रो जीवन बनाउने, घर बनाउने, भविष्य सुरक्षित गर्ने र परिवारको दुःख कम गर्ने सपना बोकेर उनी परदेशिएका थिए । कोभिड महामारीका बेला उनको मृत्यु विदेशमै भयो ।

परिवारले आजसम्म पनि उनको मृत्युको वास्तविक परिस्थिति’bout स्पष्ट उत्तर पाउन सकेको छैन । कागजमा एउटा कारण लेखियो, ‘कोभिड’ । कागजमा लेखिएको त्यो एउटा कारणले परिवारको मनमा उठेका सबै प्रश्नको उत्तर दिन सकेन । के उनी बिरामी थिए ? कामको चापले थलिएका थिए ? परदेशको पीडाले उनलाई भित्रैदेखि गलाएको थियो ? वा मृत्युको वास्तविक कथा अझै कुनै बाकसभित्रै बन्द थियो ? उनको शव बाकसभित्र गाउँ फर्कियो । शवसँगै परिवारको सपना पनि फर्कियो ।

बाकसभित्र फर्किने सपना
हरेक वर्ष विदेशबाट नेपाली युवाका शव नेपाल फर्किन्छन् । कसैको शव मलेसियाबाट आउँछ, कसैको कतारबाट, कसैको साउदीको मरुभूमिबाट, कसैको कुवेतबाट र कसैको अन्य विदेशी सहरबाट । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने ती बाकसभित्र शवमात्र हुँदैन, त्यससँगै एउटा परिवारको भविष्य पनि फर्किएको हुन्छ । कहिलेकाहीँ ती बाकसले एउटा देशले आफ्ना युवालाई दिन नसकेको अवसरको व्यथा पनि बोकेर आउँछन् ।

गाउँबाट विदेश जाने बेला परिवारमा आशा हुन्छ । ऋण लिएर टिकट काटिन्छ, आफन्त जम्मा हुन्छन्, विमानस्थलसम्म पु¥याइन्छ र आमाबुबाले छोराछोरीलाई टीका लगाएर बिदाइ गर्छन् । उनीहरू फर्किएर आउँदा घरको अवस्था बदलिने विश्वास हुन्छ । यही यात्राको अर्को सम्भावना पनि हुन्छ–उनीहरू जीवित फर्किन नसक्ने । यही कारण बझाङको त्यो पर्खालमा टाँसिएका शहीदका तस्बिर र विदेशबाट बाकसभित्र फर्किने युवाको कथा अलग–अलग विषयजस्तो देखिए पनि गहिराइमा पुग्दा एउटै प्रश्नमा आएर ठोक्किन्छन् ।

आमाको प्रतीक्षा र राज्यको जिम्मेवारी
शहीद घोषणा औपचारिक निर्णय हुन सक्छ, आमाको पीडा औपचारिक भने हुँदैन । कागजमा नाम लेखिन सक्छ, स्मारकमा तस्बिर राखिन सक्छ र भाषणमा श्रद्धा व्यक्त गर्न सकिन्छ, एउटी आमा हराएको छोरा बिर्सन सक्दिनन् । सूर्यकलाका लागि ईश्वरको मृत्यु २०६० सालमै भएको हुन सक्छ, उनको मनमा त्यो मृत्यु अझै पूर्ण भएको छैन । त्यसैले उनी कहिलेकाहीँ गाउँपालिकाको पर्खालतिर जान्छिन्, त्यहाँ छोराको तस्बिर हेर्छिन् र केहीबेर त्यहीँ उभिइरहन्छिन् । घरमा भन्दा त्यहीँ पुगेपछि छोरा नजिकै भएजस्तो लाग्छ ।

यही अनुभूति नै दुर्गाथलीको पर्खालको सबैभन्दा ठूलो अर्थ हो । त्यो पर्खालले शहीदलाई मात्र सम्झाएको छैन, उसले राज्यलाई पनि सम्झाएको छ । बलिदानको मूल्य केवल घोषणा होइन । परिवारले सम्मान पाउनुपर्छ, राज्य भएको अनुभूति गर्न पाउनुपर्छ र शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षामा राज्यको उपस्थिति महसुस गर्न पाउनुपर्छ । शहीदका परिवारको पीडा कुनै एउटा राजनीतिक दलको सम्पत्ति होइन, त्यो राज्यको साझा जिम्मेवारी हो ।

यही जिम्मेवारी आज विदेशिएका युवाका परिवारसँग पनि जोडिन्छ । हिजो एउटा आमाले आफ्नो छोरा आन्दोलनमा जाँदा गुमाइन् । आज अर्की आमाले आफ्नो छोरा विदेश पठाउँदा कतै ऊ पनि बाकसभित्र फर्किने त होइन भन्ने डर बोकेर बिदाइ गर्छिन् ।

इतिहास पर्खालमा बोलिरहँदा
दुर्गाथलीको पर्खाल अहिले एउटा जीवित संग्रहालयजस्तै देखिन्छ । त्यहाँ मृत्यु छ, मृत्यु छैन । पीडा छ, पीडा छैन पनि । एकातिर ईश्वर थापाको तस्बिर छ र तस्बिरमुनि एउटी आमाको आँसु छ । अर्कोतिर दीपेन्द्र थापाको अनुहार छ र त्यससँग जोडिएको परिवारको सम्झना छ । त्यही पर्खालमा भिमराज धामी र शुभाषकुमार बोहराका तस्बिर छन्, जहाँ नयाँ पुस्ताको आन्दोलनको कथा देखिन्छ । त्यहीँ खेलाडी छन्, जसले संघर्ष गरेर देशको नाम चिनाएका छन् । त्यहाँ जयपृथ्वीबहादुर सिंह छन्, त्यहाँ पृथ्वीनारायण शाह छन्, त्यहाँ स्थानीय संस्कृति छ र त्यहाँ एउटा गाउँको सामूहिक पहिचान पनि छ । अर्थात् त्यो पर्खालले एउटा गाउँको सम्पूर्ण स्मृति बोकेको छ ।

स्मृति बोकेर उभिएको पर्खालले ‘जसले देश बदल्ने सपना देखेर आफ्नो जीवन दिए, उनीहरूले देखेको देश हामीले बनाउन सक्यौं ?’ भन्ने असहज प्रश्न पनि गरिरहेको छ । इतिहासको सम्मान भनेको विगतलाई पूजा गर्नु होइन, विगतले देखाएको सपना पूरा गर्न वर्तमानलाई जिम्मेवार बनाउनु पनि हो ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

एसिसी प्रिमियर कप : नेपाल हङकङसँग १५ रनले पराजित