अविरल वर्षाले सुदूरपश्चिमका राजमार्ग तथा सडकखण्ड अस्तव्यस्त

धनगढी । आइतबारदेखिको अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो, नदी कटान तथा खोलामा पानीको सतह बढेपछि सुदूरपश्चिम प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डको यातायात प्रभावित भएको छ । प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै कतिपय सडकखण्डमा एकतर्फी तथा जोखिमपूर्ण रूपमा यातायात सञ्चालन भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको विवरणअनुसार कञ्चनपुर, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा र कैलालीका विभिन्न सडकखण्डमा वर्षाका कारण समस्या देखिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, खल्ला मस्टेटीस्थित महाकाली करिडोरमा भीषण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, बैतडीको सिगास–सुर्नया गाउँपालिका–२, लिम्किटा क्षेत्रमा पहिरो खसेपछि सतबाँझ–श्रीभावर सडकखण्ड अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारीले जानकारी दिएका छन् ।

कैलालीको भजनी नगरपालिका–७, हिक्मतपुरस्थित हुलाकी सडकखण्डमा वर्षाका कारण ढलेका रुख हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–३ र ४ जोड्ने चौधर नदीको झोलुंगे पुल नदी कटानका कारण भासिएपछि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

बझाङको बित्थडचिर गाउँपालिका–२, लिमस्थित जयपृथ्वी राजमार्गमा पहिरो खसेपछि जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बाजुराको मार्तडी–अछाम (साँफेबगर) सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउन जेसीबीमार्फत पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस्तै, डडेल्धुराको आलिताल गाउँपालिका–८, सुनखोलास्थित जोगबुढा–बुडर सडकखण्डमा पहिरो खसेपछि दुईतर्फी यातायात अवरुद्ध भएको छ । सडकमा दुई–तीन वटा सवारीसाधन जाममा रहेका छन् । भंगाडी खोलामा पानीको सतह बढेका कारणसमेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले जेसीबीमार्फत सडक सफा गर्ने काम भइरहेको छ भने प्रहरी टोलीसमेत परिचालन गरिएको छ ।

अविरल वर्षाका कारण सुदूरपश्चिमका सडक तथा राजमार्गमा पहिरो र बाढीको जोखिम कायमै रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । यात्रा गर्नुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ ।

कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार सोमबारदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ । यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

चीन–नेपाल जोड्ने केरुङ नाका यही स्थानमा किन बन्यो ?