बाजुरा । शनिबार रातिदेखिको वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ । वर्षाकै कारण विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार सडक खुलाउन आइतबार नै जेसीबीले पहिरो पन्छाउन थालिएको थियो । तर, दिउँसोबाट पुनः वर्षा सुरु भएपछि रोकिएकोमा आज बिहानबाटै सडक खोल्ने कार्य भइरहेको उनले बताए ।
वर्षापछि पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरा जिल्लाभर राष्ट्रिय प्रशारणलाइनको विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार सुवाकाँधमा पहिरो खस्दा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन् । शनिबार राति करिब ९ बजे जिल्लाभर विद्युत् सेवा बन्द भएको थियो ।
अवरुद्ध विद्युत् सेवा मर्मतका लागि हिजोदेखि नै प्राविधिकको टोली खटिएको कार्यालयले जनाएको छ । अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइनको विद्युत् सञ्चालनमा छ ।
सहायक सीडीओ लक्ष्मण पुडासैनीले अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको बताए ।
सम्बन्धित समाचार
बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा
विपद्मा धनगढीको ऐक्यबद्धतास् बाढीपीडितका लागि ४१ लाख सहयोग
पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
शिक्षामा बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण आवश्यक : मुख्यमन्त्री भट्ट
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?






