इलाम । इलामको देउमाई नगरपालिकामा स्वीकृत १०८ दरबन्दीमध्ये ६३ पद अझै रिक्त छन् । नगरपालिकाले ‘असल अभ्यास र अनुभवको आदान–प्रदान कार्यक्रम’मा प्रस्तुत गरेको विवरणअनुसार १०८ स्वीकृत दरबन्दीमध्ये ४५ पदमा मात्र पदपूर्ति भएको छ । पदपूर्ति भएकामध्ये १९ जना स्थायी र २६ जना करारमा कार्यरत छन् । स्थानीय तह आफैंले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गरी प्रतिवेदन स्वीकृत गर्ने अन्तिम चरणमा रहेको छ ।
२०८ योजनामा ७६ प्रतिशत खर्च
नगरपालिकाले गत आर्थिक वर्षमा २०८ योजना तथा कार्यक्रम सञ्चालन गरेको छ । तीमध्ये ५० लाख रुपैयाँभन्दा बढी बजेट भएका ११, २५ देखि ५० लाखसम्मका १४, पाँचदेखि २५ लाखसम्मका ४२ र पाँच लाख रुपैयाँसम्मका १४१ योजना छन् । कार्यान्वयन क्षेत्रका आधारमा ६२ नगरस्तरीय र १४६ वडास्तरीय योजना सञ्चालन भएका छन् । कार्यान्वयन विधिका आधारमा ११६ योजना उपभोक्ता समितिमार्फत, ४२ निर्माण व्यवसायीमार्फत र ३० अन्य विधिबाट सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
६३ दरबन्दी रिक्त, २०८ योजना, नगर अस्पताल निर्माण ८९ प्रतिशत
नगरपालिकाले कुल ७७ करोड ८८ लाख १६ हजार रुपैयाँ विनियोजन गरेकोमा ५८ करोड ३९ लाख १० हजार रुपैयाँ खर्च गरेको छ । यसअनुसार कुल खर्च ७६ प्रतिशत रहेको छ ।
क्षेत्रगत रूपमा सामाजिक विकासमा सबैभन्दा बढी ४१ करोड ७ लाख ६१ हजार रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये ३५ करोड ४७ लाख ४९ हजार रुपैयाँ अर्थात् ८५.५ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासमा १७ करोड १ लाख ४४ हजार विनियोजन भएकामा ११ करोड ६९ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक विकासतर्फ ३ करोड ३ लाख ३३ हजार रुपैयाँ विनियोजन भएकामा १ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १३ करोड ८५ लाख २ हजार रुपैयाँ विनियोजन हुँदा ८ करोड १७ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । सुशासनतर्फ विनियोजित २ करोड ९० लाख ७४ हजारमध्ये १ करोड २३ लाख ४६ हजार रुपैयाँ खर्च भएको देउमाई नगरपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।
नगर अस्पताल निर्माण ८९ प्रतिशत
नगरपालिकाको बहुवर्षीय आयोजनामध्ये नगर अस्पताल निर्माण प्रमुख आयोजनाका रूपमा रहेको छ । १३ करोड ९५ लाख रुपैयाँ सम्झौता रकम रहेको अस्पताल निर्माणको काम ८९ प्रतिशत सम्पन्न भएको विवरणमा उल्लेख छ । आयोजनाको कार्यान्वयन अवधि २०८३–०७–३० सम्म रहेको छ । नगरपालिकाले सडक निर्माण तथा स्तरोन्नमातर्फ पनि काम अघि बढाएको छ । सोलिङ ९.५ किलोमिटर, ग्राभेल तथा स्तरोन्नति १४.३ किलोमिटर र पक्की नाली ३.६ किलोमिटर निर्माण गरिएको विवरणमा उल्लेख छ । सडक मर्मतसम्भार ३०० किलोमिटरभन्दा बढी गरिएको नगरपालिकाले जनाएको छ ।
३८ लाख ९६ हजार बेरुजु
नगरपालिकाको विवरणअनुसार आर्थिक वर्ष २०८२–०८३ मा २ लाख ७३ हजार रुपैयाँ बेरुजु फछ्र्यौट भएको छ । आ.व. २०८३–०८४ मा फछ्र्यौट गर्नुपर्ने बेरुजु रकम ३६ लाख २३ हजार रुपैयाँ रहेको छ । आ.व. २०८२–०८३ सम्मको कुल बेरुजु ३८ लाख ९६ हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । त्यसमध्ये ३५ लाख २५ हजार रुपैयाँ सम्परीक्षणका लागि पेश भएको विवरणमा उल्लेख छ ।
२९ उजुरी, १६ फछ्र्यौट
नगरपालिकाको न्यायिक समितिमा २९ वटा उजुरी तथा गुनासो दर्ता भएका छन्। १६ वटा उजुरी कारबाही वा फछ्र्यौट भएका छन् भने फछ्र्यौट भएकामध्ये तीन वटा पुनरावेदनमा गएका छन् । चारवटा उजुरी प्रक्रियामा रहेको विवरणमा उल्लेख छ ।
सेवा प्रवाहतर्फ कर संकलनसम्बन्धी सेवा अनलाइनबाट उपलब्ध छ । नागरिक वडापत्र र सूचना अधिकारीको व्यवस्था छ । गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षणका लागि कानुनी व्यवस्था रहेको नगरपालिकाले जनाएको छ । निगरानी निकाय तथा कार्यालयमा प्राप्त सातवटा उजुरी तथा गुनासोमध्ये सातैवटा फछ्र्यौट गरिएको नगरपालिकाले जनाएको छ ।
पेपरलेस बैठकदेखि डिजिटल प्रणालीसम्म
नगरपालिकाले पेपरलेस कार्यपालिका बैठक तथा प्रत्यक्ष प्रसारणको अभ्यास थालेको छ । सेवा प्रवाहमा प्रविधिको प्रयोगसँगै आन्तरिक कार्यसम्पादनमा सुत्र र पीएएमएस जस्ता डिजिटल प्रणाली प्रयोग भइरहेको विवरणमा उल्लेख छ ।
आन्तरिक नियन्त्रण प्रणाली लागू गरिएको तथा वित्तीय लेखापरीक्षण बेरुजु ०.२३ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ । स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनमा ७४.६ अंक प्राप्त गरेको विवरण पनि प्रस्तुत गरिएको छ ।
६४ विद्यालय, साक्षरता ८३.४ प्रतिशत
देउमाईका ६४ वटा विद्यालय मध्ये १४ वटा संस्थागत विद्यालय रहेका छन् । नगरपालिकाको साक्षरता दर ८३.४ प्रतिशत छ । प्राविधिक शिक्षातर्फ छ विषयको पढाइ हुने र एउटा सामुदायिक क्याम्पस रहेको विवरणमा उल्लेख छ । बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक समाज रहेको देउमाईमा साकेला, धान नाच र मारुनीजस्ता परम्परागत नृत्य प्रचलित छन् । दशैं, तिहार, तीज, माघे सङ्क्रान्ति, साकेला–उँधौली–उँभौली र ल्होसारलगायत चाडपर्व मनाइन्छ ।
विपद् व्यवस्थापनमा हेभी उपकरणदेखि जोखिमयुक्त बस्ती व्यवस्थापनसम्म
२०८२ असोज १८ गतेको भारी वर्षापछि नगरपालिकाले प्रभावित क्षेत्रको क्षति तथा आवश्यकता मूल्याङ्कन, अवरुद्ध सडक खुलाउन हेभी उपकरण परिचालन, प्रभावित परिवारलाई राहत तथा उद्धार सहयोग र क्षतिग्रस्त लाइफलाइन पूर्वाधारको अस्थायी पुनःस्थापना तथा मर्मत गरेको जनाएको छ ।
निजी आवासको विस्तृत क्षति मूल्याङ्कन, जोखिमयुक्त बस्तीको पहिचान तथा व्यवस्थापन र पुनर्निर्माणका लागि पनि पहल गरिएको विवरणमा उल्लेख छ । नगरपालिकामा एउटा आफ्नै दमकल र एक ल्याण्डफिल साइट रहेको छ ।
कृषि, पशुपालन र उद्यमशीलतामा जोड
नगरपालिकाले किसान समूह तथा सहकारीमार्फत उद्यमशीलता विकास, नगदेबालीको उत्पादन तथा प्रवद्र्धन, कृषि तथा पशुपालन व्यवसायका लागि अनुदान, लघु तथा घरेलु उद्योग प्रवद्र्धन र सीप विकासका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । स्वास्थ्य तथा सामाजिक समावेशीकरणतर्फ मातृ–शिशु स्वास्थ्य सुधार, खाद्य सुरक्षा तथा पोषण शिक्षा र नियमित स्वास्थ्य परीक्षणका कार्यक्रम सञ्चालनमा छन् ।
तर नगरपालिकाले अझै बालमैत्री तथा बालश्रममुक्त पालिका घोषणा गरेको छैन । जीइएस्आई परीक्षण तथा रणनीतिक योजना रहेको र सबै वर्गको सहभागिता सुनिश्चित गर्ने प्रयास गरिएको विवरणमा उल्लेख छ ।
आन्तरिक आय कमजोर, युवा पलायन चुनौती
देउमाई नगरपालिकाले सीमित आन्तरिक आय तथा विकास बजेटको कमी चुनौती छ भने युवा जनशक्तिको पलायन, स्थानीय रोजगारीको अभाव, वन्यजन्तु तथा पशु आक्रमणबाट जनधन र कृषि उपजमा हुने क्षति तथा पहिरो, बाढी र भू–क्षयको उच्च जोखिम पनि चुनौतीका रूपमा रहेको छ ।
नगरपालिकाले संघ तथा प्रदेश सरकारबाट आवश्यक बजेट, प्राविधिक सहयोग र स्रोतको अपेक्षा गरेको छ भने कृषि, पर्यटन, जडीबुटी तथा स्थानीय उत्पादनको व्यावसायीकरण र बजारीकरणमा सहयोग तथा निजी क्षेत्र, सहकारी, गैरसरकारी संस्था र विकास साझेदारसँग सहकार्य विस्तारलाई प्राथमिकतामा राखिएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीः उदयपुरका २१ जनामध्ये ५ जना सम्पर्कमा
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी
भोटेकोशी बाढीपीडितलाई राप्रपा खोटाङद्वारा प्रशासनमार्फत राहत रकम
भोटेकोशी बाढीका मृतकको सम्झनामा बराहक्षेत्रमा १०८ दीप प्रज्वलन, सेतो परेवा उडाएर श्रद्धाञ्जली
खोटाङमा ५० शैयाको अस्पताल कार्यान्वयनमा लैजान स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
बाढीमा ज्यान गुमाएका १०२ जनाको डीएनए परीक्षण र पहिचान प्रक्रिया सुरु
मोबाइलमा फोटो, शवगृहमा पर्खाइ !
मोटरसाइकल चोर्न आएका चोर आफ्नै बाइक छाडेर भागे, चप्पल पनि घटनास्थलमै






