सडक निर्माणमा ठेकेदारको मनपरी, बाँस र प्लाइले छोपियो ह्युम पाइप

इलाम । माइजोगमाई गाउँपालिकाको गुप्ती–शुक्र’bout–नामसालिङ–बज्रदेवी हुँदै इलाम जोड्ने सडक निर्माणमा ठेकेदारले मनपरी काम गर्ने गरेको पाइएको छ । सडक निर्माणका क्रममा नालीमा स्टिमेअनुसार निर्माण सामग्री प्रयोग नगरी पानी कटाउने ह्युम पाइपमा बाँस र प्लाइ राखेर छोपिएको भेटिएको हो ।

गुणस्तरीय काम नगरेको स्थानीयले बाँस र प्लाइ लगाएको खोतलेर निकालिदिएका छन् । माईजोगमाई गाउँपालिका–३ र ४ मा कार्की निर्माण सेवा तथा सप्लायर्सले ठेक्का लिएर निर्माण गरिरहेको सडकमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको विरोधपछि पनि निर्माणमा सुधार नगरेपछि ठेकेदारको कर्तुत खोतलिदिएका छन् ।

बाहिर चटक्क, भित्र बाँस र प्लाइ
सडक निर्माणको सबैभन्दा लापरबाही ह्युम पाइप राखिएको ठाउँमा देखिएको छ । ह्युम पाइप राखिएको स्थान हिलोले छोपिएको अवस्थामा भेटिएको थियो । बाहिरबाट हेर्दा पाइप ठिक देखिए पनि वडाध्यक्ष डुरन देवानले परीक्षण गर्दा पाइपको तल बाँस र प्लाइ हालेर छोपिएको भेटिएको बताइएको छ । त्यसपछि स्थानीयवासीले उक्त संरचना भत्काएर बाँस र प्लाइ निकालेका थिए ।

सडकको पानी निकासका लागि राखिएको ह्युम पाइपमुनि बाँस र प्लाइ राखिएको भेटिनुले निर्माणको गुणस्तर मात्र होइन, सडकको दीर्घकालीन टिकाउपनामाथि समेत प्रश्न उठाएको छ । यस्तो काम प्राविधिक मापदण्डअनुसार भएको हो वा ठेकेदारको लापरबाही हो भन्ने विषयमा प्राविधिक परीक्षण आवश्यक देखिएको छ । ह्युम पाइपको विषयमा निर्माणमा संलग्न राम राईसँग प्रश्न गर्दा आफू उपस्थित नभएको समयमा कामदारले त्यसरी काम गरेको भन्दै दोष थोपरे ।

तर मजदुरहरू ठेकेदारकै निर्देशनअनुसार काम गरेको बताउँछन् । ठेकेदारले निर्माणमा भएका कमजोरी सच्याएर काम अघि बढाउने सहमति भएको बताइएको छ । आव २०८२–८३ मा सांसद विकास कोषबाट विनियोजित तीन करोड रुपैयाँबाट निर्माण भइरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि राम राईका अनुसार गुप्ती खण्डमा करिब एक किलोमिटर पक्की नाली निर्माण, ग्राभेल तथा तीन स्थानमा ह्युम पाइप राख्ने सम्झौता छ ।

नालीमा सिमेन्ट–बालुवा घटाएर ढुंगामात्रै
स्थानीयको गुनासोपछि माईजोगमाई गाउँपालिकाको टोलीले गरेको अनुगमनमा निर्माणाधीन नालीको काम गुणस्तरहीन भएको पाइएको जनाएको छ । पालिकाले गरेको अनुगमनका क्रममा नाली निर्माणमा स्टिमेअनुसार गिट्टी, बालुवा र सिमेन्टको मात्रा प्रयोग नगरिएको तथा ढुङ्गाको मात्रा बढी प्रयोग गरिएको पाइएको छ ।

माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समिति संयोजक प्रविना राईले स्थानीयवासीको व्यापक जनगुनासोपछि अनुगमन गरिएको बताइन् । उक्त योजना सांसद विकास कोषको बजेटअन्तर्गत रहेकाले स्थानीय तहलाई प्रत्यक्ष अनुगमन गर्ने अधिकार नभए पनि जनताको गुनासो सम्बोधन गर्न अनुगमन गरिएको उनको भनाइ छ ।

अनुगमनका क्रममा निर्माणमा चरम लापरबाही देखिएको उनले बताइन् । त्यस्तै, इन्जिनियर प्रकाश भण्डारीले निर्माण कार्य मापदण्ड विपरीत भएको पाइएको बताए । सडक पूर्वाधार विकास कार्यालय, इटहरीबाट प्राविधिक टोली बोलाएर पुनः अनुगमन गराएपछि मात्रै निर्माण अघि बढाइने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

अब विश्वमा शक्तिको बलमा मनोमानी चल्नुहुँदैन: चिनियाँ राष्ट्रपति सी