मुस्ताङ । गत १० भदौको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्यांकअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन संख्या घटेको पाइएको हो ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन संख्या ह्वात्तै घटेको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सिमान प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरणअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५ जना, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।
त्यसैगरी, चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ आएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा रसुवा बाढीपछि भदौमा आन्तरिक १४ हजार १५२ (४६.१६) प्रतिशत र सार्क पर्यटकतर्फ १६ हजार ४३७ (५२.०५) प्रतिशत पर्यटक आगमनमा ह्रास आएको हो ।
तर, आन्तरिक र सार्क राष्ट्रको पर्यटक संख्या घट्दो रहेपनि अन्य राष्ट्रको पर्यटक भने अघिल्लो महिनाको तुलनामा बढेको पाइएको छ । अघिल्लो साउनमा १९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ आएकामा भदौमा भने थप १५५ जना वृद्धि हुँदै ३४८ जना अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रहरी निरीक्षक बस्यालले बताए ।
मुस्ताङमा चालु वर्षको साउन र भदौमा गरी ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार साउन र भदौमा आन्तरिक ४७ हजार १५८, सार्क ४६ हजार ७१३ र अन्य राष्ट्रका ४४१ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।
प्रहरी निरीक्षक बस्यालले रसुवा बाढी घटनाका कारण सबै नेपाली जनता शोकमा परेका कारण मुस्ताङमा पर्यटक कम भित्रिएको हुनसक्ने उल्लेख गरे ।
गत आव २०८२÷८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको साउन र भदौको तुलनामा चालु वर्षको साउन र भदौमा पर्यटकका संख्या वृद्धि भएको भए पनि चालु वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन घटेको तथ्यांक छ ।
सम्बन्धित समाचार
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै
जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सरुवा (सूचीसहित)
चिलिमे हाइड्रोको टनेलमा भेटियो चारजनाको शव
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालियो
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट






