क्यान्सरले आमा गुमाएका दुई नाबालकका बुवा बाढीमा बेपत्ता

राजविराज । क्यान्सर रोगका कारण आमा फुलियादेवी सदाको निधन भएको एक वर्ष नबित्दै बुवा बेचन सदा गत भदौ १० गते देखि सम्पर्कविहीन भएपछि राजविराज १६ सदा टोल बस्ने सदा दम्पतीका दुई नाबालक सन्तानको बिचली भएको छ ।

बेचन रसुवा स्थित त्रिसुली थ्री बी जल विद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत थिए । भदौ १० गते भोटेकोसी नदी क्षेत्रमा आएको विनाशकारी बाढी पछि उनी सम्पर्क विहीन छन् ।

आमा गुमाएको पीडा कम नहुँदै एक मात्र सहारा बुबा बेचन पनि सम्पर्क विहीन बनेपछि अहिले १३ वर्षीय सुभाष र ७ बर्षीया निभा बेसाहारा भएका छन् । कोही सहारा नभएपछि उनीहरू विद्यालय जान मात्र जान छाडेका छैनन्, हातमुख जोड्ने समस्यामा समेत परेका छन् ।

सडक किनारमै ऐलानी जग्गामा फुसको सानो झुप्रोमा बस्दै आएका दाजु बहिनी अहिले छरछिमेक तथा भेट्न आउने सहहृदयीहरुले दिने केही खाद्यान्नबाट जसो त्यसो भोक मेटाउने गरेका छन् ।

सदा दम्पतीका चार सन्तान रहेकोमा दुई जना दिदीको बिहे भइसकेको र उनीहरू हाल भारतको अन्धरामन्ठमा रहेको छिमेकी राजु सदाले बताए ।

बेचन सम्पर्क विहीन भएको आइतबार २५ दिन पुगेको छ । रसुवामै बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का सञ्जय साह १० दिनपछि जीवितै फेला परेपछि सुभाष–निभा दाजु बहिनीलाई पनि बुवा बेचन सकुशल फर्किएलान् भन्ने निकै आशा जागेको छ । उनीहरू भन्छन्–हामी रसुवा पुग्न सक्दैनौ, कृपया तपाईँहरू बुवालाई खोजी दिन पहल गरिदिनुस् ।

बेचन मात्र होइन । रसुवामा श्रमिकका रूपमा उनी सँगै काम गर्न गएका सोही बस्तीका ३५ वर्षीय सुरेन्द्र सदा र ३२ वर्षीय शिवकुमार सदा पनि भदौ १० देखि नै सम्पर्क विहीन छन् । सुरेन्द्रकी २७ बर्षीया श्रीमती दरोपती देवी श्रीमान् फर्किने पर्खाइमा छिन् । उनी सँगै ४ वर्षीय रौनक, ५ वर्षीय कुसुम र ८ बर्षीया चाँदनी पनि बुवा सुरेन्द्रको पर्खाइमा बाटो हेर्दै छन् । उनको परिवारको पनि आर्थिक अवस्था निकै कमजोर छ । उनी बसोबास गर्दे आएको जग्गा पनि अरु कै भएकोले उनलाई जग्गामा बसे बापत प्रति महिना रु एक हजारको दरले जग्गा भाडा तिर्नु अहिले समस्या भएको छ । जग्गाको भाडा तिर्नुपर्ने बाध्यता त छदै छ अर्कोतिर तीन नाबालक सन्तानको लालन पालन कसरी गर्ने भन्ने पीडाले उनी थप चिन्तामा परेकी छिन् ।

सोही बस्तीका ३० बर्षीया गुडिया सदाको अवस्था पनि उस्तै छ । उनी र उनका ६ वर्षीय छोरा जितेन, ९ बर्षीया छोरी रेणुका, १२ बर्षीया छोरी नितु र १५ वर्षीय छोरा प्रकाश शिवकुमारको बाटो कुरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण परिवार पाल्नकै लागि मजदुरी गर्न शिवकुमार रसुवा गएका थिए । तर, बाढीमा बेपत्ता भएपछि उनको परिवारको पनि बिचली भएको छ ।

शिवकुमार माथि पूर्ण रूपले आश्रित परिवारले उनको अनुपस्थितिले खानपिन गर्न पनि समस्या भएको भन्दै सहयोगको याचना गरेको छन् । श्रीमती गुडियाले भक्कानिँदै भनिन् “श्रीमान्को न सास न लास ।”

बाढीपछि बेपत्ता भएकाहरूका परिवारका दुख देखेर पुरै बस्ती चिन्तित बनेको स्थानीय बताउँछन् । अहिले बिहान बेलुका छाक टार्न गाह्रो भएपछि ती परिवारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको स्थानीयको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी