वायुसेवा निगममा अर्को अनियमितताः बिना प्रतिस्पर्धा मलेसियामा क्रु ट्रान्सपोर्ट छनोट

काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा बिना प्रतिस्पर्धा क्रु ट्रान्सपोर्टेसन सेवा प्रदायक छनोट गरेको तथ्य फेला परेको छ । प्रतिस्पर्धा बिनै सेवा प्रदायक छानेको निगमले सम्झौताको म्याद सकिएपछि पनि पुरानै कम्पनीबाट विना सम्झौता सेवा लिइरहेको पाइएको हो ।

नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा चालक दलका सदस्य (क्रु मेम्बर) राख्ने होटेल छनोटमा साढे चार करोडको अनियमितता गरेको विषयमा राजधानी दैनिकले यसअघि समाचार प्रकाशन गरेको थियो ।

क्रु मेम्बर राख्ने होटेलसँग गरिएको शंकास्पद सम्झौतासँगै निगमको अपरेसन विभागका निर्देशककै पहलमा क्रु ट्रान्सपोर्ट सेवामा समेत मनपरी गरेको पाइएको हो ।

– म्याद सकिएपछि पनि सम्झौता बिनै निरन्तर सेवा

– अख्तियार र निगमले छानबिनको दायरामा राखेका निर्देशकलाई ७ वर्षपछि अर्को सम्झौताको जिम्मा

नेपाल वायुसेवा निगमले बनाएको छानबिन समितिले नै होटेल छनोटसँगै जोडिएको क्रु ट्रान्सपोर्टेसन सेवा प्रदायक छनोट बिना प्रतिस्पर्धा गराइएको र र सम्झौताको म्याद सकिएपछि पनि पुरानै कम्पनीबाट विना सम्झौता सेवा लिइरहेको उल्लेख गरेको छ ।

क्रु टा्रन्सपोर्टेसन छनोटको विवादित सम्झौतामा हस्ताक्षर गर्ने निगमका तत्कालीन अपरेसन विभाग निर्देशक वरिष्ठ पाइलट सुवास रिजाल हुन् । निगमले त्यस बेलाकै विवादित निर्देशक रिजाललाई पुनः सोही विभागको जिम्मेवारी दिएर क्वालालम्पुरमा क्रु मेम्बर र क्रु ट्रान्पोर्टेसन छनौटका लागि टेन्डर प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको छ ।

अघिल्लो अनियमिततामा निगमकै छानबिन समिति, पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतले प्रश्न उठाएका थिए । तर कुनै कारबाही नहुँदै उनकै समन्वयमा फेरि उस्तै प्रकृतिको सम्झौता अघि बढाइएको छ ।

निगमको छानबिन उपसमितिको प्रतिवेदनअनुसार निगमले क्रु ट्रान्सपोर्टेसनका लागि ‘प्यासिफिक लिमो सर्भिस’सँग १ अगस्ट २०१५ देखि ३१ जुलाई २०१७ सम्मका लागि सम्झौता गरेको थियो ।

प्रतिवेदनले बिना प्रतिस्पर्धा सेवा प्रदायक छनौट भएको भन्दै सम्झौता गर्ने पदाधिकारीले खरिद प्रतिस्पर्धा सम्बन्धी कुनै पनि कागजात उपलब्ध गराउन नसकेको प्रतिवेदनमै उल्लेख गरेको छ ।

उक्त सम्झौताको अवधि ३१ जुलाई २०१७ मै समाप्त भइसकेको तर, म्याद सकिएपछि पनि क्रु ट्रान्सपोर्टको सेवा पुरानै दरमा सोही कम्पनीबाट निरन्तर लिइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रक्रियागत रूपमा नयाँ खरिद प्रक्रिया वा सम्झौता नवीकरण नगरी विना प्रतिस्पर्धा पुरानै प्रदायकलाई सेवा दिन लगाउनु सार्वजनिक खरिद प्रक्रियाको गम्भीर उल्लंघन हो ।

यो अनियमितता होटेल छनोट प्रक्रियासँग पनि प्रत्यक्ष जोडिएको छ । रिक्वेस्ट फर प्रपोजल (आरएपपी) सम्झौताको बुँदा २(डी) (४) मा होटेलको कोठा शुल्कमै चालक दलको यातायात व्यवस्था अर्थात् क्रु ट्रान्सपोर्ट समेत समावेश हुनुपर्ने प्रावधान राखिएको थियो । तर, छनोटमा परेको सेरी प्यासिफिक होटेलले यातायात शुल्क समावेश नगरे पनि उसैलाई छनोट गरिएको थियो । यो कार्यलाई समितिले समग्र खरिद र मूल्यांकन प्रक्रियामै मिलेमतो भएको आशंका गरेको छ ।

सात वर्षअघि भएको यो विवादित सम्झौतामा तत्कालीन अपरेसन विभाग निर्देशक वरिष्ठ पाइलट सुवास रिजाललगायतको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे ४ करोड अनियमितताको उजुरी परेको थियो ।

२८ असार २०७८ मा दर्ता भएको उजुरीका आधारमा अख्तियारले छानबिन गर्न पर्यटन मन्त्रालयलाई पत्राचार गरेपछि निगमकै उपसमितिले सम्झौतामा गम्भीर लापरबाही भएको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा आरएफपी जारी हुनुभन्दा झन्डै साढे दुई महिना अघि नै होटेलले सम्झौतामा हस्ताक्षर गरिसकेको र निगमका तर्फबाट तत्कालीन अपरेसन निर्देशक रिजालले करिब १६ महिनापछि (११ नोभेम्बर २०१८ मा) मात्र हस्ताक्षर गरेको औँल्याइएको छ ।

तर, अख्तियार र सरोकारवाला निकायले यति गम्भीर अनियमिततामाथि कारबाही गर्नुको सट्टा गुपचुप राख्दै फाइल तामेलीमा पठाएका छन् । त्यस्तो विवादित खरिद प्रक्रियाका नेतृत्वकर्तालाई नै निगम व्यवस्थापनले अहिले फेरि नयाँ होटेल छनोटको जिम्मा दिएको छ । कोभिड–१९ पछि नियमित उडान सुरु हुँदा औपचारिक सम्झौताविना नै ग्रान्ड इन्टरकन्टिनेन्टल होटेलमा चालक दल राख्दै आएको निगमले हाल नयाँ प्रक्रिया अघि बढाएको छ । अहिले पनि अपरेसन विभागको नेतृत्व उनै रिजालले गरिरहेका छन् र उनकै नेतृत्वमा गत ५ जुन २०२६ (२२ जेठ) मा क्वालालम्पुरमा होटेल छनोटका लागि सिलबन्दी कोटेसन आह्वान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

epaper

ताजा समाचार

बीसौँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक