मनाङमा १० जना सम्पर्कविहीन

लमजुङ । मनाङमा अविरल रुपमा आएको बाढीका कारणले १० जना व्यक्ति वेपत्ता भएका छन् । उनीहरू नारफू क्षेत्रमा बेसक्याम्पको तयारीका लागि त्यसतर्फ गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सदरमुकाम चामेमा पाँच घर र पुल बगायो, विद्युत सेवा ठप्प, नार्पाभूमि र मनाङ ङिस्याङ सञ्चार सम्पर्कविहीन

सदरमुकाम चामेमा शनिबार रातिको बाढीले एक चर्च सहित चार घर बगाएको छ भने दुई घरमा आंशिक क्षति पुगेको छ, चार पुल बगाएको छ भने विद्युत सेवा अवरुद्ध रहेको जिल्ला प्रशासन कार्यालयका मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार सडक तथा सञ्चार संरचनामा समेत क्षति पुगेको छ ।

सप्रजिअ पौडेलका अनुसार बाढीपछि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिका सञ्चार सम्पर्कविहीन बन्न पुगेका छन् । उनले भने, ‘वेपत्ता भएका मानिसको संख्या एकिन हुन सकेको छैन । १० जना भन्ने अनुमान हो, दुईवटा टोली गएको रहेछ । यौटा टोली फर्कदै छ भन्ने खबर छ । उनीहरूसँग सम्पर्कमा आएपछि सबै खुल्ने छ ।’

सम्पर्क विहीन भएका मानिस खोज्न गएको हेली मौसम खराब भएर फर्कियो, अर्को तयारी अवस्थामा छ तर मौसमका कारणले त्यसतर्फ जान सकेको छैन प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताए । उनका अनुसार त्यो क्षेत्रमा सम्पर्क भएका मानिस ८, १०, १३, २० भन्ने फरक फरक सूचना आएको छ । तर आधिकारिक पुष्टि हुने सकेको छैन । हामी एकिन सूचनाको पर्खाईमा छौं प्रजिअ खनालले बताए ।

चामे गाउँपालिका– ४ को ठाठो खोलाहरूमा शनिबार राति आएको बाढीले त्यो खेलाको किनारमा रहेका ४ घर बगाएको हो । बग्नेमा यौटा चर्च समेत रहेको जानकारीमा आएको छ प्रजिअ खनालले भने । उनका अनुसार दुई घरमा आंशिक क्षति पुगेको छ ।

उनले भने, ‘बाढीले चामे बजारबीच भएर बग्ने घट्टेखोलाको पुल, कोतोबाट चामे आउने तिर्चुङाल्डाको पुल, नयाँबजारतर्फको पुलसमेत चार वटा पुल बगाएको छ । उनले भने, ‘पुल बगेपछि कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयलाई आवत जावत गर्न समस्या भएको छ ।’

पछिल्लो स्थितिमा पानी पर्न बन्द भएको छ । स्थिति सुध्रने आशामा छौं जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद बोहराले भने । उनका अनुसार मनाङको नासों गाउँपालिकामा सडक तथा झोलुंगे पुल बगाएको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पा भूमि गाउँपालिकामा सञ्चार सम्पर्क हुन सकेको छैन उनले भने । विद्युत सेवासमेत बन्द भएको हुँदा मोवाइल समेत जिल्ला प्रशासन कार्यालयको सोलारबाट गर्नु परेको उनले जानकारी दिए ।

नासों गाउँपालिका– १ को मनाङको प्रवेश नाका रहेको ताल गाउँमा १० घर डुवानमा परेको खबर प्राप्त भएको प्रहरी निरीक्षक बोहराले जनाकारी दिए । उनका अनुसार सम्बन्धित सबै क्षेत्रमा उद्धारका लागि प्रहरीले नेपाली सेना, सशस्त्र, स्थानीयसँग मिलेर संयुक्त रुपमा प्रयास गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

३ जना मृत अवस्थामा भेटिए