कालीगण्डकीः हिमतालभन्दा पहिरोको जोखिम

गुल्मी । पछिल्लो चार दिनको लगातार वर्षापछि कालीगण्डकीमा आएको बाढीले पर्वत, स्याङ्जा र गुल्मीमा ठूलो क्षति गरेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेको करिब ८० घर रहेको बस्तीमा बाढी पसेर ठूलो क्षति भएको छ ।

नेपाल प्रहरीको प्रारम्भिक विवरणअनुसार २५ घर बगेका छन् भने अन्य घर जोखिममा छन् । सशस्त्र प्रहरीको प्रारम्भिक विवरणमा भने बस्तीका ८० घर नै बगेको उल्लेख छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

स्याङ्जा र पर्वतको सेतीवेणी आसपासका ६० भन्दा बढी घर डुबानमा परेका छन् । पर्वतको बिहादी गाउँपालिका–६ तर्फ ३० र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फ २० घर डुबानमा परेको स्थानीय विवरण छ । गुल्मीको रिडी क्षेत्रमा पनि घर तथा संरचनामा बाढीको असर परेको छ । कालीगण्डकी क्षेत्रमै ३३ भन्दा बढी संरचनामा क्षति पुगेको छ । तीमध्ये २५ निजी घर, सात संघसंस्था तथा कभर्ड हललगायतका संरचना छन् ।

रुरुक्षेत्र गाउँपालिका–१ रिडीका वडाध्यक्ष नवराज विकका अनुसार नियमित बहावको तुलनामा नदीको पानीको उचाइ १४ देखि १७ मिटरसम्म बढेको थियो । ‘२०१८ सालपछि सबैभन्दा ठूलो बाढी मान्न सकिन्छ,’ उनले भने । उनका अनुसार मानवीय क्षति नभए पनि बाढीले जनजीवनमा ठूलो असर पारेको छ । कालीगण्डकीमा बडीगाड खोलासमेत मिसिने भएकाले नदीको सतह थप बढेको हो ।

कालीगण्डकी गण्डकी नदी प्रणालीको प्रमुख नदी हो । गण्डकी प्रणालीमा कालीगण्डकीसँगै त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, मादी, सेती गण्डकी र दरौँदी गरी सात प्रमुख नदी छन् । यी नदीहरू देवघाट क्षेत्रमा पुगेर नारायणी प्रणालीमा जोडिन्छन् ।

कालीगण्डकीको मुहान नेपाल–तिब्बत सीमाना नजिक मुस्ताङको न्हुबिन हिमालको हिमनदीमा करिब ६ हजार २६८ मिटर उचाइमा रहेको अध्ययनहरूले देखाएका छन् । मुहानबाट देवघाटसम्म यसको लम्बाइ करिब ३१६ किलोमिटर छ । अन्नपूर्ण प्रथम र धौलागिरि हिमशृङ्खलाबाट आउने हिउँ तथा पानी पनि कालीगण्डकीमा मिसिन्छ । अन्नपूर्ण प्रथम ८ हजार ९१ र धौलागिरि ८ हजार १६७ मिटर अग्ला छन् । कालीगण्डकीले यी दुई हिमशृङ्खलाबीचको गहिरो तथा साँघुरो गल्छी पार गर्छ ।

कालीगण्डकीमा मुक्तिनाथ खोला, म्याग्दी खोला, मोदी खोला, बडीगाड, आँधीखोला, निस्ती, सेतीलगायतका सहायक नदी मिसिन्छन् । त्यसैले कालीगण्डकीको मुहान क्षेत्रमा मात्रै वर्षा नभए पनि माथिल्लो र मध्य जलाधारका अन्य क्षेत्रमा परेको भारी वर्षाले नदीको बहाव एक्कासि बढ्न सक्छ ।

जल तथा मौसम विज्ञान विभागले कालीगण्डकीका जोमसोम, बेनी, तातोपानी, मोदीबेनी, कोटा गाउँ र स्याङ्जाको कुमालगाउँलगायत स्थानमा नदीको बहाव मापन गर्ने स्टेशन राखेको छ ।

कालीगण्डकीको बहाव मौसम र स्थानअनुसार निकै फरक हुन्छ । वर्षायाममा ठूलो बाढी आउँदा बहाव हजारौँ घनमिटर प्रतिसेकेन्ड पुग्नसक्छ । पुराना जलविज्ञान तथ्यमा कालीगण्डकीमा अगस्ट महिनामा औसत मासिक उच्च बहाव करिब १ हजार ४ सय ६० घनमिटर प्रतिसेकेन्डसम्म र नारायणीमा सन् १९७४ को अगस्टमा ५ हजार ४ सय घनमिटर प्रतिसेकेन्डको अधिकतम तत्कालीन बहाव अभिलेख गरिएको छ ।

कालीगण्डकीको औसत बहाव करिब २६७ घनमिटर प्रतिसेकेन्ड देखिन्छ भने हालै प्रकाशित अर्को विवरणमा औसत पानीको मात्रा १ हजार ७६० घनमिटर प्रतिसेकेन्ड छ ।

हिमताल फुट्ने जोखिम कति ?
इसिमोड र युएनडिपीको हिमतालसम्बन्धी अध्ययनले कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा ३ हजार ६२४ वटा हिमताल पहिचान गरेको छ । तीमध्ये ४७ वटा सम्भावित जोखिमयुक्त हिमतालका रूपमा वर्गीकरण गरिएका छन् । ४७ मध्ये ३१ वटा सबैभन्दा उच्च जोखिमको पहिलो श्रेणीमा, १२ वटा दोस्रो र चारवटा तेस्रो श्रेणीमा राखिएका छन् । यी ४७ मध्ये २५ वटा चीनको तिब्बत, २१ वटा नेपाल र एउटा भारतमा छन् । गण्डकी बेसिनमा तीनवटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान भएका छन् ।

यी तीनवटै ताल कालीगण्डकीको प्रत्यक्ष जलाधारमा रहेको प्रमाण नभए पनि गण्डकी बेसिनकै उच्च जोखिमयुक्त ताल फुट्दा सम्बन्धित उप–जलाधारअनुसार मस्र्याङ्दी, कालीगण्डकी वा अन्य नदी प्रणालीमा प्रभाव पर्न सक्ने बिज्ञहरु बताउँछन् ।

जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने र पछि हट्ने क्रमले नयाँ हिमताल बन्ने तथा पुराना हिमताल विस्तार हुने क्रम बढेको इसिमोडले जनाएको छ ।

कालीगण्डकीको मुख्य जोखिम पहिरो
कालीगण्डकीमा हिमताल फुट्ने सम्भावनाभन्दा पनि पहिरोले नदी थुन्ने जोखिम बढी भउको विज्ञको चेतावनी छ । सरकारको बाढी, खडेरी तथा जलवायु परिवर्तनसम्बन्धी विश्लेषणले उच्च, भिरालो र कमजोर पहाडी भूभागमा पहिरोले नदी थुन्ने र त्यसबाट बनेको अस्थायी ताल फुट्दा एक्कासी बाढी आउने जोखिम औंल्याएको छ । सो अध्ययनमा २०७२ सालको बैसरी पहिरोमा पनि कालीगण्डकी नदी थुनिएको र २७ वटा संरचना पुरिएको उल्लेख छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार २०७२ सालको भूकम्पपछि म्याग्दीको बैसरीमा पहिरोले कालीगण्डकी थुन्दा २.७ किलोमिटर लामो अस्थायी ताल बनेको थियो । पानीले पहिरोको बाँध नाघेपछि तल्लो क्षेत्रमा बाढी गएको थियो ।

कालीगण्डकीमा असामान्य ठूलो बाढी आए नदीको दुवै किनारका तल्लो भूभाग, बगर र पुरानो बाढी मैदानमा बसेका बस्ती पहिलो जोखिममा पर्ने विज्ञको चेतावनी छ ।

माथिल्लो क्षेत्रमा उपल्लो मुस्ताङका नदी किनारका बस्ती, लोमान्थाङ, छोसेर, चराङ आसपास, कागबेनी, जोमसोम, मार्फा, टुकुचे, कोबाङ र लेते क्षेत्र जोखिममा पर्न सक्ने उनीहरु बताउँछन् । कागबेनीमा यसअघि पनि बाढीले ठूलो क्षति गरिसकेको छ ।

म्याग्दी खोला र कालीगण्डकीको संगममा रहेको बेनी बजार साँघुरो भू–आकृतिका कारण विशेष संवेदनशील मानिन्छ । २०७२ सालमा बैसरीमा नदी थुनिँदा बेनीसहित तल्लो तटीय क्षेत्रका बस्तीलाई सतर्क गराइएको थियो ।

स्याङ्जा–गुल्मी सीमाको मिर्मी, रिडी, पाल्पाको राम्दी, रानीघाट तथा रानीमहल आसपासका तटीय क्षेत्र पनि जोखिममा पर्न सक्छन् । २०७२ सालमा कालीगण्डकी थुनिँदा बेनीदेखि सेतीवेणी हुँदै स्याङ्जा, पाल्पा र नवलपरासीसम्मका नदी किनारका बस्तीलाई सतर्क गराइएको थियो । कालीगण्डकी किनारको ५०० मिटरदेखि एक किलोमिटर दायरामा बस्ने जनसंख्या २ लाख ५० हजारदेखि ४ लाखसम्म रहेको प्रारम्भिक अनुमान छ ।

कालीगण्डकीमा १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा छ । यसको जलाशयको कुल क्षमता करिब ७.७ मिलियन घनमिटर अर्थात् ७.७ अर्ब लिटर रहेको परियोजनासम्बन्धी अध्ययनमा उल्लेख छ । आयोजना रन अफ रिभर प्रकृतिको भए पनि करिब ३.५ मिलियन घनमिटर पानी विद्युत् उत्पादनका लागि उपयोगी भण्डारणमा राख्न सकिने व्यवस्था छ ।

कालीगण्डकी ‘ए’ बाहेक कालीगण्डकी गर्ज १८० मेगावाट, मिडल कालीगण्डकी ६६.३ मेगावाट, लिप्ल्याङ कालीगण्डकी ५८ मेगावाट र माथिल्लो कालीगण्डकी ६५ मेगावाटका आयोजना निर्माणका चरणमा छन् ।

कालीगण्डकीमै पर्वत, गुल्मी र स्याङ्जा क्षेत्र समेट्ने २४४ मिटर अग्लो बाँधसहित ६४० मेगावाटको जलाशययुक्त आयोजना प्रस्तावित छ । मध्य कालीगण्डकीको तल्लो भागमा ८६ मेगावाटको आयोजना तथा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन भइरहेको छ । कालीगण्डकीका सहायक राहुघाट, मिस्त्री, निलगिरी र मोदी खोलालगायतमा पनि साना–मझौला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

ठूलो बाढी आए कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक तथा नदीमाथिका पक्की र झोलुङ्गे पुलमा क्षति पुग्न सक्ने सरकारी अधिकारीहरु बताउँछन् ।

कालीगण्डकी जलाधारको जोखिम न्यूनीकरणका लागि माथिल्लो मुस्ताङ तथा सीमापार क्षेत्रमा रहेका हिमताल र हिमनदीको नियमित अनुगमन आवश्यक रहेको विज्ञहरु बताउँछन् । इसिमोडको अध्ययनले पनि सम्भावित जोखिमयुक्त हिमतालको नियमित निगरानी, जोखिम पहिचान र उपयुक्त न्यूनीकरण तथा अनुकूलन उपाय आवश्यक रहेको उल्लेख छ ।

पछिल्ला चार दिनको वर्षाले देखाएको जोखिमले कालीगण्डकीमा विपद्को तयारी केवल नदीमा पानीको सतह बढ्दा सूचना दिने प्रणालीमा सीमित राख्न नहुने देखाएको छ । हिमनदी र हिमतालको अवस्था, पहिरोको सम्भावना, नदी थुनिन सक्ने स्थान, जलविद्युत् आयोजना र तटीय बस्तीलाई एउटै जोखिम प्रणालीमा राखेर पूर्वसूचना र उद्धार योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरामा जंगलमा प्रहरी जवान मृत फेला