लमजुङ । लमजुङ जिल्ला कारागार शाखामा कैद भुक्तान गर्दै गरेका चौकीदार पदका एक कैदी बुधबार फरार भएका छन् । मध्यान्ह ४ बजे कारागार भित्रका कैदी बन्दीहरूका लागि खाद्यान्न सामग्री खदिर गर्न बजार निस्केका उनी सम्पर्क बिहिन भएका हुन् ।
त्यसरी सामान किन्न जाँदा एक घण्टामा फर्किनृ उनी बुधबार साँझ ६.३० बजेसम्म पनि कारागारमा नफर्केपछि उनी भागेको एकिन भएको हो । लमजुङको राइनास नगरपालिका– १० को प्यारजुङ गाउँका २७ वर्षीय दिनेश परियार फरार भएका हुन् । उनी कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका थिए ।
उनी विरुद्धको कर्तव्य ज्यान मुद्दामा २०६९ को पुस २२ गते लमजुङ जिल्ला अदालतबाट २० वर्षको कैद आदेश भएको जिल्ला कारागार प्रशासनले जनाएको छ । साँढे दुई वर्षमा उनको ५० प्रतिशत कैद भुक्तान हुनेवाला रहेको कारागार प्रशासनको भनाई छ । कारागार शाखाका प्रमुख विष्णुप्रसाद पौडेलले कैदी हराएको जानकारी दिए ।






