इजरायलमा नेतान्याहु सत्ताबाट हट्ने सम्भावना बलियो, इसेनकोटलाई ६७ सांसदको समर्थन

तेल अभिव । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन् । राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपतकालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले सरकार गठनको बाटो अझै लामो भए पनि आफूहरू दृढ रहेको बताएका छन् । उनले देशलाई सुरक्षा र विवेकको बाटोमा फर्काउन राष्ट्रिय आपतकालीन सरकार गठन गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षमा ५३ सिट रहे पनि परम्परागत सहयोगी युनाइटेड तोराह जुडाइज्मले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि उनको समर्थन ४६ सिटमा सीमित भएको छ ।

जोइन्ट लिस्टले नेतान्याहु र उनको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्ने सार्वजनिक मागअनुसार इसेनकोटलाई समर्थन गरेको जनाएको छ । यद्यपि, उक्त दलले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेकाले सरकारमा औपचारिक रूपमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जोइन्ट लिस्टका अध्यक्ष युसेफ जाबरिनले नेतान्याहु र उनका काहानवादी साझेदारहरूको शासन निरन्तर हुन नदिन समर्थन गरिएको बताएका छन् ।

बहुमत समर्थन प्राप्त भए पनि राष्ट्रपति हर्जोगले सरकार गठनको औपचारिक जिम्मेवारी दिनुअघि राजनीतिक दलहरूसँग थप परामर्श गर्ने बताएका छन् । उनले आइतबार इसेनकोटलाई सरकार गठनको जनादेश दिने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

इजरायलमा नेतान्याहु सत्ताबाट हट्ने सम्भावना बलियो, इसेनकोटलाई ६७ सांसदको समर्थन