मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुुन् ।
यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको संख्यामा सोचअनुसार आउन सकेका थिएनन् । तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन संख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या दुई तिहाइले वृृद्धि भएको हो । तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्र्यटक मुस्ताङ भित्रिएका छन् । जसअन्तर्गत स्वदेशी पर्यटकको संख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको संख्या आठ हजार ७५१ जना रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।
विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका उनको भनाइ छ । तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । मुस्ताङमा हिउँदयामको चिसो ह्वात्तै बढेको भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ ।
तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाई मुस्ताङ बन्दै गइरहेको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले उल्लेख गरे । यसरी आएका पर्यटक मुक्तिनाथको दर्शन गर्ने बहानामा मुस्ताङका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए ।
धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको संख्या वृद्धि हुने गरेको छ । यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेका तापनि गत वर्ष आगमन संख्यामा भने कुनै असर परेको देखिँदैन । पर्यटकीय अनुुकूलमा दिनहु हजारौँ पर्यटक मुस्ताङ भित्रिने गरेका हुन्छन् भने दसैँतिहार र छठ पर्वजस्ता चाडपर्वहरुमा स्कुल र कलेजका विद्यार्थी मुस्ताङ घुम्न आउँछन् ।
मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ । त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन् ।
हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गरी फर्किने गर्छन । पछिल्लो समय नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । (रासस)
सम्बन्धित समाचार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
दर्ता भएन दानबहादुर कार्कीको रिट






