झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिएसँगै झिनियाको माग बढेपछि उनले एक जना श्रमिकसमेत राखेर उत्पादन गरिरहेकी छन् । छोराछोरी विदेशमा छन् ।

त्यसैले उनी र उनका श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया बनाएर बिक्री गर्छन् ।

दसैं र तिहारको समयमा झिनिया बेचेर तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कल्पना बताउँछिन् ।

‘तिहारमा झिनियाको माग धेरै आउँछ । त्यसैले एक जना कामदार नै राखेर उत्पादन गरिरहेका छौं,’ उनले भनिन्, ‘बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ हुँदै पोखरासम्म झिनिया बिक्री हुन्छ ।’

कल्पनाजस्तै मङ्गलाघाटका हेमबहादुर पुनको परिवार पनि यतिबेला झिनिया उत्पादनमा व्यस्त छ । उनको परिवारका १० जना सदस्य दैनिक झिनिया बनाउन खटिएका छन् । पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुन्छ ।

दसैं–तिहारमा माग बढी हुने भएकाले परिवारका सबै सदस्य मिलेर उत्पादन गर्ने गरेको उनी बताउँछन् । चाडपर्वको समयमा दुईदेखि तीन लाख रुपैयाँसम्मको झिनिया बिक्री हुने गरेको उनको भनाइ छ ।

‘बेनी बजारका साथै पोखराबाट पनि झिनियाको माग आउँछ । उत्पादन गर्न सके बिक्रीको समस्या छैन,’ उनले भने, ‘पछिल्लो दुई महिनादेखि परिवारका १० जना सदस्य झिनिया बनाउने काममा लागेका छौँ ।’

तिहार पर्व नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको व्यापार बढेको छ । चाडपर्वलाई लक्षित गरेर झिनिया उत्पादन गर्दै आएका यहाँका उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याइ छ । घरपरिवारका सदस्यसँगै श्रमिक परिचालन गरेर उनीहरू झिनिया बनाउन व्यस्त छन् ।

नेपाली मौलिक परिकारमध्ये झिनियालाई झिलिङ्गा रोटी पनि भनिन्छ । चामलको पिठोबाट बनाइने यो परिकार तिहारमा विशेष रूपमा प्रयोग हुन्छ । हेर्दा आकर्षक, खान स्वादिलो र सजिलै तयार पारेर खान सकिने भएकाले तिहार नजिकिएसँगै यसको माग बढ्ने गरेको छ ।

तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने र पाहुनाको सत्कार गर्ने क्रममा झिनिया रोटीको प्रयोग हुने गरेको बेनी नगरपालिका–७ की टकसरा राना बताउँछिन् । उनले विगत २५ वर्षदेखि झिनिया बनाउँदै आएकी छन् ।

‘झिनिया बनाउने परम्परागत संस्कृति भएकाले छाड्न सकिएन,’ उनले भनिन्, ‘दिनभर त्यसै बस्नुभन्दा झिनिया बनाउँदा घरखर्चका लागि रकम पनि जम्मा हुन्छ । अरू महिला दिदीबहिनीलाई पनि प्रेरणा मिल्छ ।’

टकसराका अनुसार बेनी बजारका साथै म्याग्दीका ग्रामीण भेग र पोखराबाट पनि झिनियाको माग आउँछ । विदेशबाट समेत माग आउने गरेको उनी बताउँछिन् । दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार रुपैयाँ बराबरको झिनियाको माग आएको थियो । तर, मागअनुसार उत्पादन गर्न नसक्दा १३ हजार रुपैयाँ बराबरको मात्रै पठाउन सकेको उनले सुनाइन् ।

झिनिया बनाउन चामलको पिठो पकाएर मेसिनमा पेलेपछि चाउचाउको जस्तै त्यान्द्रा निकालिन्छ । त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ । मङ्गलाघाटकी कल्पना श्रेष्ठले विद्युत्बाट चल्ने मेसिन प्रयोग गरेर झिनिया बनाउँदै आएकी छन् ।

झिनिया उत्पादन गर्न कम्तीमा तीन जना जनशक्ति आवश्यक पर्छ । तीन जनाले एक दिनमा ३५० वटाभन्दा बढी झिनिया बनाउन सक्ने उद्यमीहरू बताउँछन् । तयार भएको झिनियालाई घ्यू वा तेलमा तारेर खान सकिन्छ । अहिले बजारमा १२ वटा झिनियाको मूल्य १४० देखि १५० रुपैयाँसम्म पर्छ ।

मङ्गलाघाटमा मात्रै करिब २० जना झिनिया उद्यमी रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल बताउँछन् । तिहार नजिकिएसँगै उनीहरूमध्ये अधिकांश उत्पादनमा व्यस्त छन् ।

झिनिया स्वादिलो र सजिलै तयार पारेर खान सकिने परिकार भएकाले चाडपर्वमा यसको माग बढ्ने गरेको उपभोक्ता समिता पुन बताउँछिन् । घरमै बनाउन झन्झट हुने, बनाइसकेपछि बिग्रने डर हुने तर कोसेलीका रूपमा लैजान सजिलो भएकाले उपभोक्ताले झिनिया किन्ने गरेको उनको भनाइ छ ।

चाडपर्वमा आफन्तकहाँ जाँदा कोसेलीका रूपमा झिनिया लैजाने चलन छ । यसलाई खाजाका रूपमा पनि प्रयोग गर्न सकिन्छ । घ्यू वा तेलमा तारेर तत्काल खान मिल्ने भएकाले व्यस्त परिवारका लागि पनि यो सजिलो परिकार बनेको छ ।

झिनिया उत्पादनले स्थानीय महिलालाई घरायसी कामबाट बचेको समय सदुपयोग गर्दै आम्दानी गर्ने अवसर दिएको छ । यसबाट भएको कमाइले घरव्यवहार चलाउन सहयोग पुगेको उद्यमीहरू बताउँछन् ।

तर, उत्पादन बढाउन र व्यवसायलाई व्यवस्थित बनाउन केही समस्या पनि छन् । झिनिया उद्यमी हरिकुमार श्रेष्ठका अनुसार उत्पादनका लागि आवश्यक मेसिन, तालिम र सुरक्षित भण्डारणका उपकरणको व्यवस्था भए व्यवसायलाई थप सहज बनाउन सकिन्छ ।

यसरी तिहारको परम्परागत स्वाद जोगाउँदै मङ्गलाघाटका उद्यमीले झिनियालाई आम्दानीको माध्यम पनि बनाएका छन् । चाडपर्वमा बढ्ने मागले उनीहरूलाई केही महिनाको व्यस्तता र आम्दानी दुवै दिएको छ । (रासस)

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी