काठमाडौँ । राजधानी काठमाडौँमा बुधवार दिउँसो अचानक आएको हावाहुरी र बाक्लो असिनासहितको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। धावनमार्ग र ट्याक्सी वेमा असिना जमेपछि दिउँसो करिब २ बजेदेखि विमानस्थलको उडान सञ्चालन रोकिएको हो।
अचानक मौसम बदलिएर ठुलो मात्रामा असिना परेपछि विमानस्थलमा अवतरण गर्नुपर्ने कम्तीमा आठवटा विमान आकाशमै होल्डमा परेका छन्। तीमध्ये चारवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडानका विमान रहेको विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार बाक्लो असिनाले धावनमार्ग ढाकेपछि सुरक्षित उडान तथा अवतरणका लागि विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोक्नुपरेको हो।
धावनमार्गमा जमेको असिना हटाउन विमानस्थलको उद्धार तथा अग्निनियन्त्रण सेवा (आरएफएफ) का दमकल परिचालन गरिएको छ। विमानस्थलमा असिना हटाउने छुट्टै उपकरण नभएकाले दमकलको सहायतामा धावनमार्ग सफा गरी उडान सञ्चालनयोग्य बनाउने प्रयास भइरहेको प्रवक्ता कुमारले जानकारी दिए।
प्रतिकूल मौसमका कारण राजविराज उड्ने तयारीमा रहेको बुद्ध एयरको विमान र बैंकक प्रस्थान गर्न लागेको थाई एयरको विमानसमेत पार्किङ क्षेत्रमा फर्किएका छन्।
यसैबीच, असिनासहितको भारी वर्षाले विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा समेत समस्या निम्त्याएको छ। सुरक्षा जाँच हुने क्षेत्रको छतमा जडान गरिएका प्यानल लाइटबाट पानी चुहिएको विमानस्थलका अधिकारीहरूले जानकारी दिएका छन्।
अचानक आएको असिना र वर्षाले विमानस्थलको उडान व्यवस्थापन प्रभावित हुनुका साथै यात्रुहरूलाई समेत असुविधा भएको छ।
विमानस्थल प्रशासनले धावनमार्ग सफा गरी सुरक्षित उडान तथा अवतरणको वातावरण बनाउन काम गरिरहेको जनाएको छ। यद्यपि, नियमित उडान कहिलेदेखि सुचारु हुने भन्ने स्पष्ट भइसकेको छैन।
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
‘नेपाल प्रेस’को कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ
निर्माण व्यवसायीमाथि सरकार निर्मम
अमेरिकी मध्यावधि निर्वाचन : सर्वेक्षणमा डेमोक्रेटलाई अग्रता, ट्रम्पलाई धक्का लाग्ने सम्भावना
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु
आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने






