पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्दै गण्डकी प्रदेशस्थित आंगिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरेको आफ्नो तीन महिने कार्यप्रगति विवरण पेस गर्दै प्रक्रिया अघि बढाइएको जनाएको हो ।

राष्ट्रिय शिक्षा नीति, २०७६ को उच्च शिक्षा खण्डको प्रकरण १०.१४.६ मा त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी संख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति उल्लेख छ ।

सोही नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणअनुसार पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने गृहकार्य थालिएको हो ।

आयोगका अध्यक्ष प्रा.डा. खड्कबहादुर केसीका अनुसार यस रूपान्तरण प्रक्रियामा शैक्षिक तथा प्रशासनिक सेवा प्रवाहलाई विकेन्द्रीकरण गर्ने, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता अभिवृद्धि गर्ने तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा बुझाएको प्रगति विवरणमा भनेको छ, ‘अनुसन्धान र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थाको मूल्यांकन गरी कार्ययोजना तयार गर्ने र कार्यान्वयनमा लैजाने प्रक्रिया अगाडि बढिसकेको छ ।’

पीएन क्याम्पस उपाधि प्रदान गर्ने स्वायत्त संस्थामा रूपान्तरण भएसँगै गण्डकी प्रदेशको उच्च शिक्षाको गुणस्तर सुधार र प्रशासनिक विकेन्द्रीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो रह्यो ?