प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा दानबहादुर कार्कीले दायर गरेको रिटमा डा. मनोजकुमार केसीको पद उल्लेख गरिएको शब्दावली संशोधन गरेको छ । कार्कीले टाइप गर्दा त्रुटि भएको भन्दै सच्याउन निवेदन दिएपछि अदालतले शुक्रबार संशोधनको आदेश दिएको हो ।

न्यायाधीश अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले रिटको पहिलो पानाको दोस्रो हरफमा रहेको ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक’ भन्ने शब्दावलीको सट्टा ‘बढुवा गरिएका प्रहरी महानिरीक्षक’ कायम गरेको हो ।

इजलासले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १९ बमोजिम निवेदन संशोधन गरेको हो । संशोधन आदेशलाई रिट निवेदनको अभिन्न अङ्ग मानी मिसिलमा राख्न पनि इजलासले भनेको छ ।

त्यसअघि मंसिर २ गतेको कारण देखाऊ आदेशअनुसार सर्वोच्च अदालतले मंसिर ३ गते प्रहरी प्रधान कार्यालय, नक्सालका नाममा सूचना म्याद जारी गरेको थियो । शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको सूचनामा केसीको पद उल्लेख गर्दा रिटमा रहेको संशोधनअघिकै शब्दावली प्रयोग भएको थियो ।

सूचनामा बाटोको म्यादबाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रमाण कागजातसहित लिखित जवाफ पेस गर्न भनिएको छ । अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि मंसिर ७ गते तोकिएको पेसीमा उपस्थित हुन पनि सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

विश्व शान्तिमा नयाँ आशा कि शक्ति राष्ट्रको रणनीतिक स्वार्थ ?