ललितपुरको दक्षिणी भेगमा कुनै समय मोजाको बल बनाएर फुटबल खेल्ने युवाहरूले देखेको सपना अब रङ्गशालाको स्वरूप लिने चरणमा पुगेको छ। खेल्ने मैदानसमेत नभएको अवस्थामा आफ्नै पहलमा सुरु गरिएको अभियान १४ वर्षपछि करोडौँको पूर्वाधार निर्माणसम्म आइपुगेको हो।
बागमती गाउँपालिका–४, प्युटारस्थित खयरघारीमा निर्माण हुन लागेको फुटबल रङ्गशालाले स्थानीय युवाको पुरानो सपना मात्र पूरा गर्ने छैन, दक्षिण ललितपुर र छिमेकी मकवानपुरका ग्रामीण क्षेत्रका खेलाडीलाई एउटै खेलकुद केन्द्रमा जोड्ने सम्भावना पनि बोकेको छ।
२०६९ साल मङ्सिर २५ गते छोर्गे युवा क्लबको अगुवाइमा सुरु भएको यो अभियान अहिले सरकारी बजेट र निर्माण प्रक्रियासँग जोडिएको छ। रङ्गशाला निर्माणका लागि १ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ भने निर्माण कम्पनीसँग सम्झौतासमेत सम्पन्न भएको बताइएको छ।
खेल्ने ठाउँ खोज्दै सुरु भएको अभियान
खयरघारी रङ्गशालाको कथा कुनै सरकारी योजना वा ठूलो लगानीबाट सुरु भएको होइन। खेलप्रतिको रुचि हुँदाहुँदै पनि पर्याप्त मैदान र पूर्वाधार नपाएका स्थानीय युवाले आफ्नै बलबुतामा फुटबल खेल्ने ठाउँ निर्माण गर्ने सोचबाट यसको सुरुआत गरेका थिए।
त्यतिबेला आवश्यक खेल सामग्री र आर्थिक स्रोतको अभाव थियो। मोजाको बल बनाएर खाली ठाउँमा फुटबल खेल्ने युवाहरूलाई व्यवस्थित मैदानको आवश्यकता महसुस हुँदै गएको थियो। यही आवश्यकतालाई संस्थागत रूपमा अघि बढाउन छोर्गे युवा क्लब स्थापना गरी मैदान निर्माणको अभियान थालिएको थियो।
क्लबका संस्थापक अध्यक्ष श्यामबहादुर लोप्चन तामाङको नेतृत्वमा पूर्वफुटबल खेलाडी, स्थानीय युवा र प्युटारवासी अभियानमा जोडिएका थिए। श्यामबहादुर लोप्चन, रामकुमार लामा, प्रकाश थिङ, चन्द्रबहादुर भोम्जन, कृष्ण घलान, कल्याण लामा, वीरबहादुर स्याङ्तान र सन्तोष लोप्चनलगायतले मैदानको परिकल्पना, योजना र प्रारम्भिक विकासमा योगदान पुर्याएका थिए।
स्रोतसाधनको अभावमा पनि स्थानीयको श्रम, सहयोग र सामूहिक प्रयासले मैदान विस्तार हुँदै गयो। विस्तारै विद्यालयस्तरीय खेलकुद कार्यक्रम, वडास्तरीय तथा गाउँपालिकास्तरीय प्रतियोगिता र क्षेत्रीय फुटबल गतिविधि सञ्चालन हुन थाले। यसले खयरघारीलाई स्थानीय खेलकुद गतिविधिको महत्वपूर्ण थलोका रूपमा स्थापित गर्यो।
अब मैदान मात्रै होइन, खेलाडी उत्पादनको लक्ष्य
खयरघारीलाई रङ्गशालाका रूपमा विकास गर्ने योजनाको महत्व भौतिक संरचना निर्माणमा मात्र सीमित छैन। ग्रामीण क्षेत्रमा लुकेर रहेका फुटबल प्रतिभालाई पहिचान गर्ने र उनीहरूलाई नियमित प्रशिक्षण तथा प्रतियोगिताको अवसर उपलब्ध गराउने लक्ष्य यससँग जोडिएको छ।
सहरी क्षेत्रमा उपलब्ध खेलकुद पूर्वाधार र प्रशिक्षणको अवसर ग्रामीण भेगमा सहज छैन। प्रतिभा हुँदाहुँदै पनि खेल्ने ठाउँ, प्रशिक्षक र प्रतियोगिताको अवसर नपाउँदा धेरै युवा खेलकुदबाट टाढिनुपर्ने अवस्था छ। खयरघारी रङ्गशालाले यस्तो दूरी घटाउन सक्ने अपेक्षा गरिएको छ।
यहाँ व्यवस्थित प्रशिक्षण, उमेर समूहअनुसारका प्रतियोगिता, खेलाडी छनोट र मैत्रीपूर्ण खेल सञ्चालन गर्न सके बालबालिका तथा किशोरकिशोरीलाई फुटबलमा आकर्षित गर्न सकिनेछ। स्थानीय विद्यालय र क्लबबीच सहकार्य गरेर खेलाडी उत्पादनको नियमित प्रणाली विकास गर्नसमेत सकिनेछ।
यसका लागि रङ्गशाला निर्माणसँगै फुटबल एकेडेमी वा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने दीर्घकालीन योजना आवश्यक देखिन्छ।
ललितपुर र मकवानपुरलाई जोड्ने साझा केन्द्र
खयरघारीको अर्को विशेषता यसको भौगोलिक अवस्थिति हो। दक्षिण ललितपुर र मकवानपुरका ग्रामीण बस्तीलाई जोड्ने स्थानमा रहेको यो रङ्गशाला दुई जिल्लाका खेलाडीका लागि साझा खेलकुद केन्द्र बन्न सक्ने सम्भावना छ।
मकवानपुर र दक्षिण ललितपुरका स्थानीय क्लब तथा विद्यालयबीच नियमित प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सके यसले क्षेत्रीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्न मद्दत गर्नेछ।
दुई जिल्लाका युवाबीच खेलकुदमार्फत परिचय, सहकार्य र भाइचाराको सम्बन्ध विस्तार गर्ने अवसर पनि यसले सिर्जना गर्न सक्छ। प्रतियोगिता सञ्चालन हुँदा स्थानीय यातायात, होटल, खानपान तथा साना व्यवसायमा आर्थिक गतिविधि बढ्ने सम्भावना रहन्छ।
त्यसैले खयरघारी रङ्गशालालाई एउटा गाउँको खेलमैदानका रूपमा मात्र नभई दक्षिण ललितपुर र मकवानपुरको खेलकुद सम्भावनालाई जोड्ने पूर्वाधारका रूपमा विकास गर्न सकिने देखिन्छ।
स्थानीय पहलमा सरकारी लगानीको साथ
वर्षौँदेखि स्थानीयस्तरमा अघि बढिरहेको अभियानलाई व्यवस्थित रङ्गशालामा रूपान्तरण गर्न स्थानीय र प्रदेश सरकारको चासो तथा सहयोग पनि जोडिएको छ।
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन नेतृत्वको गाउँपालिका टोली तथा सातवटै वडाका जनप्रतिनिधिबीचको समन्वयले निर्माण प्रक्रिया अघि बढाउन सहयोग पुर्याएको छ।
त्यसैगरी बागमती प्रदेशका सांसद् तथा पूर्वमन्त्री मिनकृष्ण महर्जनको पहलमा रङ्गशाला निर्माणका लागि १ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। निर्माणसम्बन्धी टेन्डर प्रक्रिया पूरा भई निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ।
स्थानीय युवाले सुरु गरेको अभियान बजेट विनियोजन र निर्माण सम्झौतासम्म पुग्नु यस क्षेत्रको खेलकुद पूर्वाधार विकासका लागि महत्वपूर्ण चरण हो। अब विनियोजित बजेटको प्रभावकारी उपयोग गर्दै निर्धारित मापदण्डअनुसार निर्माण सम्पन्न गर्नु मुख्य विषय बनेको छ।
रङ्गशाला बनेपछि कसले चलाउने ?
खयरघारीको चुनौती अब निर्माण सुरु हुनु मात्र होइन, निर्माण सम्पन्न भएपछि त्यसलाई कसरी नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने पनि हो।
रङ्गशाला बनेपछि मैदानको संरक्षण, खेलाडीका लागि आवश्यक सुविधा, दर्शक बस्ने व्यवस्था, सुरक्षा, सरसफाइ र व्यवस्थापनको स्पष्ट योजना आवश्यक हुनेछ। त्यस्तै नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालनका लागि दक्ष प्रशिक्षक, खेलकुद व्यवस्थापक र संस्थागत समन्वयको आवश्यकता पर्छ।
स्थानीय सरकार, खेलकुद विकास समिति, ललितपुर जिल्ला फुटबल सङ्घ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा), स्थानीय क्लब तथा फुटबल एकेडेमीबीच सहकार्य हुन सके रङ्गशालालाई प्रभावकारी खेलकुद केन्द्रका रूपमा सञ्चालन गर्न सहज हुनेछ।
निर्माण सम्पन्न भएपछि प्रतियोगिता आयोजना गर्ने स्थलमा मात्र सीमित नराखी नियमित अभ्यास, प्रतिभा पहिचान र खेलाडी विकासको केन्द्र बनाउन सके यसको दीर्घकालीन उपलब्धि देखिनेछ।
१४ वर्ष पुरानो सपना र नयाँ पुस्ताको आशा
२०६९ सालमा मोजाको बल बनाएर फुटबल खेल्ने युवाले सुरु गरेको प्रयास अहिले व्यवस्थित रङ्गशाला निर्माणको चरणमा पुगेको छ। यस यात्रामा क्लबको संस्थागत पहल, अग्रज खेलाडीको अनुभव, स्थानीयवासीको श्रम र सरकारी लगानी जोडिएका छन्।
खयरघारी रङ्गशाला कुनै एक व्यक्ति वा संस्थाको मात्र उपलब्धि होइन, सामूहिक इच्छाशक्तिबाट सम्भव भएको एउटा स्थानीय अभियानको परिणाम हो।
अब यसको सफलता निर्माणमा खर्च हुने बजेट वा तयार हुने संरचनाले मात्र मापन गर्ने छैन। खयरघारीबाट कति नयाँ खेलाडी उत्पादन हुन्छन्, कति ग्रामीण प्रतिभाले अवसर पाउँछन् र यसले दक्षिण ललितपुर तथा मकवानपुरको खेलकुद विकासमा कस्तो योगदान पुर्याउँछ भन्ने कुराले यसको वास्तविक महत्व निर्धारण गर्नेछ ।
सम्बन्धित समाचार
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव शर्मा बर्खास्त
एनपीएल : कीर्तिपुरमा चौका–छक्का, सुर्खेतको घण्टाघरमा हुटिङ र उत्सव
सन्दीप लामिछानेको ह्याट्रिकसहित एकै खेलमा ६ विकेट
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
एनपीएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर
एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य
एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?
सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य






