पोखरा । नेपाली काँग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफूलाई मार्ने षड्यन्त्र भएको दाबी गरेका छन् । उनले काल नआएका कारण आफू र पत्नी आरजू मृत्युको मुखबाट बाँचेर फर्किएको बताए ।
आफूनिकट नेपाली काँग्रेस गण्डकी प्रदेशको शनिबार पोखरामा नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् । उनले जेनजीकै कारण बाँचेर आएको पनि बताए । उनले भने, ‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरुले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरुले मलाई बचाएका हुन् ।’
उनले अगाडि भने, ‘जेनजीको नाममा ५० वर्ष माथिकाले लाठो ल्याएर पिटेका हुन्, ढुंगा हाने । त्यसमा धेरै ठूलो षड्यन्त्र थियो । सेना आउने बाटोसमेत छेकेर आफू र श्रीमती आरजुमाथि कुटपिट गरे ।’
उनले आन्दोलनका क्रममा आफूहरूमाथि भएको सांघातिक आक्रमण, उद्धारको नाटकीय घटनाक्रम र पार्टीभित्रको वर्तमान विवाद’bout गम्भीर खुलासा गरे । उनले भने, ‘हामीलाई मारिसकेका थिए, सेनाको उपचार पाएर बच्यौँ ।’
उनले आफूहरूमाथि भएको प्रहार व्यक्ति विशेषभन्दा पनि नेपाली काँग्रेसको नेतृत्व ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाए । आन्दोलनका क्रममा आफूहरूमाथि कुटपिट हुँदा गम्भीर चोट लागेको र शरीरमा अझै घाउका दागहरू बाँकी रहेको उनको गुनासो थियो ।
उनले विदेशका दुई ठाउँमा गई उपचार गरेर आफू पूर्णरुपमा स्वस्थ भएको भए तापनि श्रीमती आरजुको उपचार भइरहेको जानकारी दिए । उनले नबोली नहुने भएकाले बोलिरहेको पनि बताए ।
उनले कृष्णप्रसाद भट्टराईको आश्रम, विपीको बाबुको घर विराटनगरमा, गणेशमानसिंहको घर, देशभरी काँग्रेस पार्टी कार्यालयमा पनि हान्नुलाई काँग्रेसको खिलापको षड्यन्त्र हो भनी बुझ्नुपर्ने बताए । आफूमाथि आक्रमण गर्नुपर्छ भन्नेहरुलाई नै गगन थापाले टिकट वितरण गरेको उनले आरोप छ ।
देउवाले प्रश्न गरे, ‘देशभर हाम्रा पार्टी कार्यालयहरू ढालिए । यो व्यक्तिगत रिसइबी मात्र नभई नेपाली काँग्रेसको अस्तित्वविरुद्धको सुनियोजित तानाबाना हो भन्ने बुझ्नुपर्छ ।’
यसैगरी, उनले अगाडि भने, ‘शेरबहादुर देउवाको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई टिकट दियो । मलाई मार्नुपर्छ भन्नेलाई पनि टिकट दियो–४ नम्बरमा । स्पष्ट भैसक्यो, देशभर हाम्रो नेताजीहरुको घरमा आगो लगाउने र हामीलाई मार्न खोज्ने को को छ स्पष्ट भैसकेको छ ।’
उनले पार्टीको विशेष महाधिवेशन बोलाउने प्रक्रिया र यसको वैधानिकतामाथि प्रश्न पनि उठाए । विशेष महाधिवेशनका लागि विधानतः ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको आधिकारिक हस्ताक्षर आवश्यक पर्ने र त्यसको सनाखत हुनुपर्ने उनको तर्क छ । ‘विशेष अधिवेशन गर्न पाइन्छ, विगतमा सुवर्ण शमशेरले पनि गर्नुभएको हो तर ४० प्रतिशतले सहीछाप गरेर सभापतिलाई बुझाउनुपर्छ ।
त्यो हस्ताक्षर ठीक छ कि छैन, सनाखत कसले गरेको छ ? परीक्षण हुनुपर्दैन ?’ उनको तर्क छ । विशेष महाधिवेशन नाममा जबरजस्ती पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसको सशक्त प्रतिवाद गर्नु आफ्नो कर्तव्य भएको बताए ।
सम्बन्धित समाचार
यस्तो छ कर्णालीका मुख्यमन्त्रीको सयदिने रिपोर्ट कार्ड
चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
गृहमन्त्री गुरुङ युएई प्रस्थान
सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ: देउवा
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने
काठमाडौंमा जुट्दै वडादेखि केन्द्रसम्मका एमाले नेतृत्व
भारत भ्रमणअघि प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता
पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव






