‘जालपादेवी केबलकार’ एक महिनाभित्रै सञ्चालनमा आउने

धनगढी । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माणाधीन जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको मुख्य लगानीमा बनिरहेको उक्त परियोजना सञ्चालनको अन्तिम तयारीमा जुटेको ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको यो आयोजना साकार रूप लिने संघारमा आइपुगेको अध्यक्ष ढकालले बताए । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ठूला पूर्वाधारको पर्खाइमा वर्षौँ बिताएको सुदूरपश्चिमका लागि यो केबलकार एक महत्वपूर्ण कोसेढुंगा साबित हुने उनको विश्वास छ ।

कर्णाली पुल र चिसापानीको सौन्दर्य नियाल्न अहिले पनि उल्लेख्य संख्यामा आन्तरिक तथा सीमापारिका भारतीय पर्यटक आउने गरेको उल्लेख गर्दै ढकालले केबलकार सञ्चालनसँगै यस क्षेत्रमा रौनकता थपिने र पर्यटकको बसाइ लम्ब्याउने आधार तयार हुने बताए ।

केबलकारसँगै बन्दैछ एकीकृत पर्यटकीय गन्तव्य
यस परियोजनालाई केवल केबलकारका रूपमा मात्र नभई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको छ । गुरुयोजनाअनुसार आयोजनाको तल्लो (बटम) र माथिल्लो (टप) स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन् ।

विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यस परियोजनाअन्तर्गत ३.१ किलोमिटर लामो केबलकारसँगै स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, स्काइवाक, चिल्ड्रेन पार्क, पदमार्ग र धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरलगायतका संरचनाहरू क्रमशः तयार हुँदै गएका छन् ।

स्थानीय अर्थतन्त्र र रोजगारीमा टेवा पुग्ने विश्वास
सहायक संरचनाहरू थपिँदै जाँदा पर्यटकलाई कम्तीमा एक दिन अड्याउन सकिने र यसले स्थानीय अर्थतन्त्रको समग्र चक्रलाई चलायमान बनाउने अध्यक्ष ढकालको भनाइ छ । पर्यटकको बसाइ लम्बिएसँगै स्थानीय यातायात, साना व्यवसाय र कृषि उपजले आफ्नै आँगनमा दिगो बजार पाउनेछन् ।

यसबाट स्थानीय युवाले गाउँठाउँमै रोजगारी पाउँदा वैदेशिक रोजगारीको बाध्यता कम हुने, स्थानीयको जीवनस्तर उकासिने र राज्यको राजस्वमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको परियोजनाका पछिल्ला तस्बिरहरू सार्वजनिक गर्दै ढकालले आयोजना यहाँसम्म आइपुग्नुमा स्थानीय बासिन्दा, तीनै तहका सरकार, सरोकारवाला निकाय, स्थानीय साझेदार सूर्य थापालगायत अहोरात्र खटिने इन्जिनियर र परियोजना टिमको ठूलो साथ रहेको भन्दै आभार व्यक्त गरेका छन् । यो परियोजना समग्र सुदूरपश्चिम र देशकै एक गौरवको आयोजना बन्ने उनले विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

'मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला'